‘जनतासँग जाँदैछौं’
२५ वैशाखदेखि देशव्यापी जागरण अभियान शुरू गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, “जनतालाई देशको अवस्था बुझाउन जागरण अभियान सञ्चालन गरिएको हो।”
नेपाली कांग्रेसको जागरण अभियान अहिले किन ?
जागरणको उद्देश्य नै जागृत गराउने हो । कांग्रेसले आफ्नो सन्देश सम्पूर्ण पार्टीपंक्ति र आम जनतामा पुर्याउनका लागि यो अभियान सञ्चालन गरेको हो ।
१५ वटा उद्देश्यका साथ हामीले देशका सबै जिल्ला र मुलुकबाहिर ३३ वटा देशमा अभियान पुर्याउँदै छौं । चरणबद्ध हुने यो अभियान आगामी पुससम्म जारी रहनेछ ।
जागरण अभियानमा के हुन्छ ?
कांग्रेसले देशका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरे पनि त्यसको सञ्चार तल्लो तहसम्म हुन सकेन ।
त्यसबाहेक देशमा जारी भ्रष्टाचार, शान्तिसुरक्षाको गिर्दो अवस्था, महिला र सीमान्तकृतका समस्या, सरकारले गरिरहेको जथाभावी साथै वर्तमान राजनीतिक परिस्थितिका बारेमा जनतालाई जानकारी गराउनु कांग्रेसको कर्तव्य र जिम्मेवारी हो । हामी यस्तै विषय लिएर जनतामाझ जाँदैछौं ।
अभियानका कति चरण छन् ?
२५ जेठसम्मको पहिलो चरणमा ७७ जिल्लामा खटिएका प्रतिनिधिले जनतामाझ पार्टीको सन्देश राख्नेछन् । दोस्रो चरण २४ भदौदेखि ११ असोजसम्म चल्नेछ । यो अवधिमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कार्यक्रमहरू हुनेछन् ।
७ पुसमा शुरु भएर १६ पुसमा टुंगिने तेस्रो चरणमा भने ७५३ वटा स्थानीय तहमा कार्यक्रम आयोजना गरिनेछ । यो अभियानका कार्यक्रमहरूमा पट्यारलाग्दो आसन ग्रहण र धेरै वक्ताले लम्बेतान बोलिरहने जस्ता काम हुने छैनन् ।
तर, अभियानले गति नलिंदै केही जिल्लामा दुई पक्षबीच कुटाकुट भएको छ नि !
एक दुई ठाउँमा भएका घटनालाई समग्र अभियानसँग जोड्न मिल्दैन ।
सिन्धुपाल्चोक लगायत केही ठाउँमा त्यस्तो प्रवृत्ति देखा पर्यो । स्थानीय नेतृत्वको कमजोरीले गर्दा केही ठाउँमा नहुनुपर्ने घटना भए, यो रोकिन्छ ।
जागरण अभियानसँगै पार्टीभित्रको द्वन्द्व पनि तल्लो तहसम्म जाने भयो, हैन ?
द्वन्द्वमा जीवन्तता हुन्छ, द्वन्द्व विना समाजको विकास प्रक्रिया नै ठप्प हुन्छ । मुख्य कुरो द्वन्द्वको व्यवस्थापन हो, जुन हुन नसक्दा बेलाबेला समस्या देखिन्छ ।
तर, पार्टीभित्र जस्तोसुकै द्वन्द्व भइरहँदा पनि नेपाली कांग्रेसले देशलाई नेतृत्व दिने कामबाट कहिल्यै पछाडि हटेको छैन/हट्ने छैन ।