राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छिन्।
राष्ट्रपति भण्डारीले आज राति १२ बजेबाट राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन्। उनले सूचना प्रकाशित गरी २९ असार मध्याह्न ३ बजे बोलाइएको बैठक पनि स्वतः अन्त्य भएको जानकारी दिएका छन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा अन्त्य गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।