कसले लगाउन पाउँछन् अमेरिकी र चिनियाँ खोप?
सरकारले अमेरिका र चीनबाट आएको खोप वितरणको लक्षित समूहको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको निर्णय अनुसार, मंगलबारदेखि खोप लगाइने लक्षित समूह तोकिएको हो।
जस अनुसार, चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप यसअघि नै पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई प्राथमिकताका साथ लगाइनेछ।
त्यसैगरी, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति तथा खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले चिनियाँ खोप लगाउन पाउनेछन्।
मन्त्रालयका अनुसार, अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप ५० देखि ५५ वर्ष उमेर समूहका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर लगाइनेछ।
त्यसैगरी, पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी (यसअघि खोप लगाउन छुटेका)ले पनि अमेरिकी खोप लगाउन पाउनेछन्।
मन्त्रालयले यो प्राथमिकता क्रम बाहेक अन्यथा भएमा कानूनी कारबाही गरिने पनि उल्लेख गरेको छ। खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेश गर्नुपर्नेछ।
त्यसैगरी, सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन्।
विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोपमा पहुँच पाउनेछन्। विदेश जान लागेका नेपालीले भने पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउनेछन्।