सर्वोच्चको फैसलालाई व्यक्तिगत जित-हारका रूपमा नलिन देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जित-हारका रूपमा नलिन आग्रह गरेका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। उनले भनेका छन्, “सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु।”
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। यसले संविधानलाई ट्र्याकमा ल्याएको उनको भनाइ छ।
देउवाले भनेका छन्, “यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ।”
सर्वोच्चको फैसलाले सबैलाई थप जिम्मेवार बनाएको जनाउँदै व्यक्तिगत जित-हारका रूपमा नलिन आग्रह गरेका छन्। “देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ,” देउवाले भनेका छन्, “कसैले पनि यसलाई व्यक्तिगत जित–हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि गर्न चाहन्छु।”