न्यायाधीश ईश्वरप्रसाद खतिवडा, जसले लेखे आदेश
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने आदेश दिएको छ। यो आदेश न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लेखेका हुन्।
सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। उनीहरूमध्ये न्यायाधीश खतिवडाले आदेश लेखेका हुन्।
संवैधानिक इजलासमा यस विषयमा जानकारी दिँदै प्रधानन्यायाधीश जबराले सर्वसम्मत रूपमा आदेश भएको बताए। उनले आदेश लेख्ने जिम्मेवारी न्यायाधीश खतिवडालाई दिएको बताए। यससँगै प्रधानन्यायाधीश जबराले आदेश सुनाउने जिम्मा पनि खतिवडालाई नै दिएका थिए।
संवैधानिक इजलासमा न्यायाधीश खतिवडाले आदेश सुनाएका थिए। आफूले आदेश लेखेको भए पनि यसमा सबैको विचार समेटिएको बताए। आदेश लेख्दा सबैको भूमिका रहेको उनको भनाइ थियो।
न्यायाधीश खतिवडाले लेखेको १६७ पृष्ठ लामो आदेशमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिइएको छ। त्यस्तै, प्रधानमन्त्रीका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी नपुग्ने ठहर गरेको छ।
मुख्य चार विषयलाई सम्बोधन गरिएको आदेशको तेस्रो विषय एक साताभित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन आदेश दिइएको छ। यससँगै चौथो विषय नेकपा (एमाले) २३ जना सांसदलाई कारबाही नगर्न आदेश दिइएको छ।