कुन देशले कति दिए कोरोनाविरुद्धको खोप?
अमेरिका, चीन र भारतले कोरोनाभाइरसविरुद्धको खोप सहयोग गरेका छन् भने बेलायतले अगस्टसम्म सहयोग गर्ने घोषणा गरेको छ।
अमेरिकाले नेपाललाई अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको १५ लाख डोज खोप सोमबार बिहान आइपुगेको छ। एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको यो खोप अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे। अमेरिकाले कोभ्यास सुविधा मार्फत यो खोप पठाएको हो।
योसँगै अमेरिका नेपाललाई खोप सहयोग गर्ने सबैभन्दा ठूलो दाता बनेको छ। एक डोज मात्रै लगाए पुग्ने भएकाले अमेरिकाको खोप सहयोगले १५ लाख ३४ हजारभन्दा धेरै नेपालीको ज्यान बचाउनेछ।
अमेरिकाबाट खोप अनुदान ल्याउनका लागि काठमाडौंस्थित अमेरिकी राजदूत बेरीले ठूलो पहल गरेका थिए। नेपाल सरकारका अधिकारी तथा अमेरिकास्थित नेपाली मूलका अमेरिकी नागरिकहरूले पनि खोप अनुदानका लागि पहल गर्दै आएका थिए।
अमेरिकापछि उत्तरी छिमेकी चीन नेपाललाई खोप सहयोग गर्ने दोस्रो ठूलो दाता हो। चीनले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको हो। चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप दुई डोज लगाउनुपर्ने भएकाले यसले नौ लाख नेपालीलाई महामारीबाट बचाएको छ।
भारतले पनि नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप सहयोग गरेको छ। भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको १० लाख डोज खोप भारतले पठाइदिएपछि नेपालमा गत १४ माघबाट खोप अभियान शुरू भएको थियो।
अहिलेसम्म यी तीन देशबाहेक नेपाललाई कोभ्यास सुविधा मार्फत थप तीन लाख ३४ हजार डोज खोप अनुदानमा आएको छ। बेलायतले पनि नेपाललाई कोभ्याक्स सुविधा मार्फत अगस्टसम्म खोप पठाउने तय भएको छ।
दक्षिण एसिया र कमनवेल्थका लागि बेलायतका स्टेट मिनिस्टर तारिक अहमदले ३० जुनमा बेलायती संसद् ‘हाउस अफ कमन्स’का सांसद जोन हेजलाई लेखेको पत्रमा दोस्रो खेपको खोप अगस्टभित्र नेपाल पुग्ने र त्यसका लागि बेलायतले सहयोग गरेको उल्लेख गरिएको थियो। यद्यपि, बेलायतले नेपाललाई सोझै खोप अनुदान दिन भने रुचि देखाएको छैन।
अनुदानबाहेक नेपाल सरकारले अहिलेसम्म ६० लाख डोज खोप खरीद गरेको छ। स्वास्थ्य मन्त्रालयले गत ५ फागुनमा भारतीय कम्पनी सेरम इन्स्टिच्यूटसँग २० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको थियो । तर, यसमध्ये आधा अर्थात् १० लाख डोज खोप अझै नेपाल आउन सकेको छैन।
भारतमा कोरोनाभाइरस महामारी अनियन्त्रित भएसँगै भारतले खोप निर्यातमा रोक लगाएको थियो। सेरमले सन् २०२१ को डिसेम्बरसम्म खोप निर्यात गर्न नसकिने बताइसकेको छ।
चिनियाँ कम्पनी सिनोफार्मसँग पनि केही साताअघि नेपालले ४० लाख डोज खोप खरीदको सम्झौता गरेको थियो। ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात् मूल्य नखुलाउने शर्तमा गरिएको यो खोप खरीद अन्तर्गत नेपालले चीनबाट खोप ल्याउन थालिसकेको छ। दुई साताभित्रै चीनसँग खरीद गरिएको खोप नेपाल आउने सरकारी अधिकारीहरूले बताउँदै आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २७ असारसम्ममा देशका १० लाख १७ हजार नागरिकले खोपका दुवै मात्रा लगाउन पाएका छन्। यो कुल जनसंख्याको करीब ३.४ प्रतिशत हो।
त्यसैगरी, करीब १३ लाख ९१ हजारले खोपको पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका छन्। कोभिशिल्डको पहिलो डोज लगाएर बसेकालाई दोस्रो डोज खोप दिन खोप मौज्दात छैन। सरकारले अगस्टसम्म कोभ्यास सुविधा मार्फत बेलायतले दिने भनेको खोप आउन सकेमा पहिलो डोज लगाएर बसेकालाई दोस्रो डोज दिन सकिने आकलन गरेको छ।
कोभ्यासले नेपाललाई यसअघि नै एक लाख ४८ हजार डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ। तर, अनुदानको यो खोप पूर्ण रूपमा पाउन भने अझै कैयौं महीना कुर्नुपर्नेछ।
अहिलेसम्म आइसकेको र कोभ्यास मार्फत अगस्टसम्ममा आउने सम्भावित खोप जोड्दा केही साताभित्रमा करीब ६५ लाख नेपालीले पूर्ण मात्रामा खोप पाउने देखिएको छ। यो कुल जनसंख्याको करीब २१ प्रतिशत हो।