अमेरिकाले दिएको १५ लाख ३४ हजार डोज खोप काठमाडौं आइपुग्यो
अमेरिकाले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ।
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको यो खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो। कतार एयरवेज मार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।
अमेरिकाले कोभ्यास सुविधा मार्फत नेपाललाई खोप उपहार दिएको हो। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत बेरीले यो खोप अमेरिकाका तर्फबाट नेपाललाई उपहार भएको बताए। राजदूत बेरीले यस अनुदानले नेपाली जनताप्रति अमेरिकाको दशकौँ पुरानो प्रतिबद्धता पुनः पुष्टि गरेको र यो कोभिड १९ सङ्कटताका नेपालमा जारी अमेरिकी सहयोगको निरन्तरता भएको बताए । अमेरिकाले महामारी नियन्त्रण तथा उपचारमा नेपाललाई यसअघि झन्डै ७ करोड डलर बराबरका स्वास्थ्य सामाग्री पनि सहयोग गरिसकेको जनाएको छ ।
सोमबारै प्रधानमन्त्री निवास बालुवाटारमा पनि खोप हस्तान्तरण सम्बन्धी कार्यक्रम हुने तयारी छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत बेरी सहभागी हुनेछन्।