भारतीय कम्पनीलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र, समझदारीपत्रमा हस्ताक्षर
संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एसजेभीएन लिमिटेडले पाएको छ।
लगानी बोर्ड र एसजेभीएनबीच परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने सम्बन्धी सम्झौतामा २७ असारमा समझदारी भएको हो।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन्।
‘पिकिङ्ग रन अफ दी रिभर’मा आधारित परियोजनाको अनुमानित लागत २०१७ को दर अनुसार, १ अर्ब ३० करोड डलर (रू.१ खर्ब ३४ अर्ब) छ।
१५ चैत २०७५ मा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरिएको यो परियोजनाको सर्वेक्षण अनुमतिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत एसजेभीएन छानिएको थियो।
एसजेभीएन भारत सरकारको स्वामित्व अन्तर्गतको कम्पनी हो। १६ माघ २०७७ मा बसेको लगानी बोर्डको ४६औं बैठकले परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न उक्त भारतीय कम्पनीलाई छनोटको निर्णय गरेको थियो।
समझदारीपत्रमा उल्लिखित कार्यादेश बमोजिम विकासकर्ता कम्पनीले समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययन सम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिका लागि विस्तृत परियोजना प्रतिवेदन पेश गर्नुपर्नेछ।
हस्ताक्षर कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने भन्दै सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए।