काठमाडौंसहित सात जिल्लामा हजारभन्दा बढी सक्रिय संक्रमित
निको हुने कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या कम हुँदै गएको छ। अब काठमाडौंसहित सात जिल्लामा मात्रै एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
आइतबार काठमाडौंमा २६३ जनामा कोरोना देखिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ३१९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजारभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौंसँगै ललितपुर, नुवाकोट, कास्की, झापा, मोरङ र सुनसरी रहेका छन्। ललितपुरमा एक हजार ३३०, नुवाकोटमा एक हजार ८४, कास्कीमा एक हजार ६२८, झापामा एक हजार ४००, मोरङमा एक हजार ३५९ र सुनसरीमा एक हजार ९ जना सक्रिय संक्रमित रहेका छन्।
आज काठमाडौं र कास्कीमा मात्रै एक सयभन्दा बढी संक्रमित थपिएका छन्। काठमाडौंमा २६३ र कास्कीमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ८३१ जनामा संक्रमण देखिएको छ भने एक हजार ५३३ जना निको भएका छन्। आज कोरोनाबाट २० जनाको मृत्यु भएको छ।