के बालविवाह नरोकिनुमा अभिभावक नै जिम्मेवार छन् ?
उमेर नपुग्दै हुने विवाह घट्न नसक्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर सुझबुझ नपुग्दै किशोरकिशोरी घरायसी झमेलामा पर्ने गरेका छन्।
कक्षा ९ मा पढ्दै गर्दा पाँच वर्षअघि बिहे गरेकी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–९ की एक किशोरी दुई सन्तानकी आमा बनिसकेकी छिन्। भर्खर २१ वर्षमा टेक्दै गरेकी उनी भन्छिन्, “मसँगैका साथीहरू कलेज पढ्दै छन्। मेरो समय बालबच्चा स्याहार्दै, मेलापात गर्दै सकिन्छ।”
स्कूल पढ्दापढ्दै प्रेम विवाह गरेकी उनी अहिले आएर पछुतो लाग्ने गरेको बताउँछिन्। घरपरिवार चलाउनैका लागि श्रीमान् विदेश गएको बताउँदै उनी भन्छिन्, “एक-आपसमा छुट्टिन नसकिने भयो भनेर बिहे गरेका थियौं। अहिले त उहाँ (श्रीमान्) विदेशमा हुनुहुन्छ, म मेलापात धाइरहेकी छु।”
यो त केही वर्षअघिको घटना भयो, केही महीनाअघि मात्रै मकवानपुरको कैलाश गाउँपालिकामा अर्को बिहे भएको छ। कक्षा १० मा पढ्ने १८ वर्षीया किशोरी र कक्षा ११ मा पढ्ने २१ वर्षीय किशोरको बिहेको मिति तय भयो। उमेर नपुगेको भन्दै बिहे रोक्न दबाब आयो, तर परिवारजन राजी भएनन्।
किशोरीका एक जना गाउँले भन्छन्, “सात महीनाको गर्भ थियो, त्यसैले नगरी नहुने भयो।” कानून विपरीत हो भन्ने थाहा पाउँदापाउँदै पनि बिहे गरिएको उनी बताउँछन्।
त्यस्तै, एउटा अर्को बालविवाहमा बलात्कारको अभियोग लगाइएको छ। २५ वर्षीय युवकले १७ वर्षीया किशोरीसँग विवाह गरे, शारीरिक सम्बन्ध रह्यो। किशोरीको उमेर नपुगेकाले अधिकारकर्मीको पहलमा उनीहरू अलग भए।
तर, किशोरीका आफन्तले युवकमाथि बलात्कारको अभियोग लगाए। एक साता संरक्षण गृहमा रहेकी किशोरी अहिले घर फर्किएकी छिन्। युवकलाई बलात्कारको अभियोग लगाएकाले किशोरी मानसिक रूपमा विक्षिप्त बनेकी छिन्।
यी केही प्रतिनिधि घटना हुन्। कानूनी रूपमा अपराध ठहर गरिएको भए पनि व्यवहारमा अझै बालविवाह भइरहेका छन्। केही बालबालिकाको सुझबुझ नपुग्दा त, केही बाध्यताले उमेर नपुग्दै विवाह बन्धनमा बाँधिइरहेका छन्।
२०६८ को जनगणना अनुसार, देशभर १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या एक लाख ३८ हजार १५ थियो। जसमा बालिकाको संख्या मात्रै एक लाख १५ हजार १५० अर्थात् ८३ प्रतिशत थियो। त्यस्तै, १९ वर्षमुनि विवाह हुने ६५ लाख १७ हजार २८१ मध्ये किशोरीको संख्या ६६ प्रतिशत थियो।
अहिले पनि यो अवस्थामा खासै परिवर्तन आएको छैन। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार, अहिले पनि नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको छ। दक्षिण एसियामा धेरै बालविवाह हुने मुलुकमा नेपाल तेस्रो स्थानमा छ।
“बालविवाह अझै पनि ठूलो समस्याका रूपमा रहेको छ। बागमती प्रदेशमा २९ प्रतिशत बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक छ।”
देशका अन्य प्रदेशको तुलनामा विकसित बागमती प्रदेशमै पनि बालविवाह रोक्न सकिएको छैन। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति बद्री वाग्ले भन्छन्, “बालविवाह अझै पनि ठूलो समस्याका रूपमा रहेको छ। बागमती प्रदेशमा २९ प्रतिशत बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक छ।”
घटना अधिक, उजुरी कम
बालविवाह गैरकानूनी भए पनि उजुरी आउने गरेका छैनन्। कहीँकतै बाल क्लबमा आबद्ध बालबालिकाले उजुरी दिने गरेका छन्, अरूले भने उजुरी पनि गर्दैनन्। “बाल क्लबका बालबालिकाले उजुरी गरे भने मात्रै हो, अभिभावक अझै समाजमा रिसइबी हुने डरले उजुरी गर्दैनन्,” सिबिन बाल हेल्पलाइन, मकवानपुरका संयोजक घविन्द्र ज्ञवाली भन्छन्, “एउटै समाजमा बसेर छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ। त्यसैले पनि सहजै उजुरी गर्दैनन्।”
उजुरी आएपछि बालविवाह रोकिने गरेका पनि छन्। सिविन बाल हेल्पलाइन (१०९८) अनुसार बागमती प्रदेशको धादिङ, नुवाकोट र रसुवाबाहेक १० जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ८८ वटा बालविवाह रोकिएका छन्। सबैभन्दा बढी मकवानपुरमा ६० वटा बालविवाह रोकिएको बागमती प्रदेश बाल अधिकार समिति सदस्य समेत रहेका ज्ञवालीले बताए। यस्तै, चितवनमा सात र काठमाडौंमा ६ वटा बालविवाह रोकिएका छन्।
बालमैत्री स्थानीय शासन लागू भएको घोषणा गरिएका मकवानपुरका दुई वटा गाउँपालिकामा बाल सञ्जाल सक्रिय छन्। त्यसबाहेक अन्यत्रबाट थोरै मात्र बालविवाहका घटना बाहिर आउने गरेको उनी बताउँछन्।
बालविवाहको उजुरी प्रहरीमा त झनै नगण्य रूपमा आउने गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ। चालू आर्थिक वर्षमा बाल हेल्पलाइनमा ६० वटा उजुरी पर्दा पनि प्रहरीमा एउटै पनि आएको छैन।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा धादिङमा चार, काभ्रेमा एक, सिन्धुलीमा दुई र चितवनमा एक घटना दर्ता भएका छन्। गत आर्थिक वर्षमा पनि नुवाकोटमा पाँच, काभ्रे र धादिङमा दुई–दुई वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ।
कानूनी रूपमा बालविवाह स्वतः बदर हुने अधिवक्ता जगन्नाथ सुवेदी बताउँछन्। बालविवाह सम्बन्धी ऐन, २०७५ ले बालविवाह गरेमा तीन वर्षसम्म कैद र ७५ हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७३ ले बालविवाह निरुत्साहन गर्दै २० वर्षभन्दा कम उमेरमा भएको विवाह स्वतः बदर हुने भनेको छ।
बालविवाह भएको थाहा पाउँदा पनि यस्तै बाध्यताले रोक्न नसकिने गरेको अगुवाहरू बताउँछन्। प्रेममा रहेका जोडीले कम उमेरमै शारीरिक सम्बन्ध राख्ने र त्यसले ल्याउने दुष्परिणामले किशोरीहरू समस्यामा पर्ने गरेका छन्।
बालविवाहका कारण बालबालिका थुप्रै उल्झनमा पनि पर्ने गरेका छन्। पढाइ पूरा नहुने, शारीरिक र मानसिक रूपमा सक्षम नभएको कारण समस्या झेल्नुपर्ने हुन्छ। यसबारे राम्ररी परामर्श लिन नसक्दा बालबालिकासँगै अभिभावक पनि अप्ठ्यारोमा पर्ने गरेका छन्। त्यसैले पनि उजुरी नआउने गरेको यस क्षेत्रमा कार्यरत व्यक्तिहरू बताउँछन्।
समस्यामा किशोरी
कक्षा ११ मा अध्ययनरत १९ वर्षीया किशोरी र कक्षा १० मा अध्ययनरत २० वर्षीय किशोर एकाएक सम्पर्कविहीन भए। परिवारले प्रहरीमा उजुरी गर्यो। १०औं दिन सम्पर्कमा त आए, तर बिहे गरेर।
यो घटना बाल हेल्पलाइनमा पुग्यो। बाल हेल्पलाइनले दुवैलाई सम्झाइबुझाइ गर्यो। दुवै जना तत्कालका लागि आ–आफ्नो परिवारसँग बस्न राजी भए।
तर, सबै घटनामा यसरी सम्झाइबुझाइ गर्दा पनि सम्भव हुँदैन। मकवानपुरकै मनहरी गाउँपालिकामा १९ वर्षीय किशोर र १७ वर्षीया किशोरीले भागेर बिहे गरे। त्यसलाई उनीहरूका अभिभावकले स्वीकार गरेनन्।
त्यसपछि स्थानीय अगुवाको समन्वयमा दुवैलाई सम्झाइबुझाइ गरियो। अहिले आ-आफ्नो परिवारसँग बस्ने, पढाइ निरन्तरता दिने र उमेर पुगेपछि बिहे गराइदिने सहमति बन्यो। तर, किशोरीले मानिनन्। किनकि, उनको पेटमा १७ हप्ताको गर्भ थियो।
बालविवाह भएको थाहा पाउँदा पनि यस्तै बाध्यताले रोक्न नसकिने गरेको अगुवाहरू बताउँछन्। प्रेममा रहेका जोडीले कम उमेरमै शारीरिक सम्बन्ध राख्ने र त्यसले ल्याउने दुष्परिणामले किशोरीहरू समस्यामा पर्ने गरेका छन्। जसले गर्दा २० वर्ष नपुग्दा बिहे गर्नुपर्ने अवस्था आउने गरेको छ।
कसरी रोक्न सकिन्छ बालविवाह?
कानूनले २० वर्षभन्दा कम उमेरमा भएको विवाहलाई मान्यता दिँदैन, स्वतः रद्द हुन्छ। तर, अझै पनि २९ प्रतिशत बालबालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको सरकारी तथ्यांक छ। सरकारले सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित राष्ट्रिय रणनीति २०७२ जारी गरेको छ। बागमती प्रदेश सरकारले त २०७८ को अन्त्यसम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ।
“आफ्नो केटा साथीलाई आफूमाथि बलात्कारको अभियोग लगाइएको कारण मानसिक रूपमा विक्षिप्त किशोरीहरू पनि भेटिएका छन्, उनीहरूलाई गहिरो परामर्शको खाँचो छ,” मनोविमर्शकर्ता सम्झना अधिकारी भन्छिन्, “सामाजिक सचेतनासँगै मनोविमर्शको पाटोलाई दरिलो बनाउनुपर्छ।”
यो लक्ष्य हासिल गर्न कठिन छ। तैपनि चेतना जगाउनुपर्ने बताउँछन् बागमती प्रदेश बाल अधिकार समितिका सदस्य ज्ञवाली। “बालबालिका, अभिभावक, विद्यालय, जनप्रतिनिधि तथा सरकारले आ-आफ्नो स्थानबाट सचेतना जगाउन लाग्नुपर्छ, यो पाटो कमजोर छ,” उनी भन्छन्।
सन्तानको भविष्यको आधार नै तयार नगरी विवाह गर्ने सामाजिक प्रथाका कारण पनि बालविवाह रोक्न गाह्रो भएको बाल अधिकारकर्मी बताउँछन्। विद्यालयसँगै समुदायमा पनि बालविवाहविरुद्ध बहस चलाउनुपर्ने बालविवाहमुक्त प्रदेश निर्माण सहजकर्ता पविना लामा बताउँछिन्। “सबैभन्दा ठूलो त चेतना अभिवृद्धिमा लाग्नुपर्छ। बालबालिकामा बालविवाहले पर्ने असरबारे जानकारी गराउने, बाल क्लब, बाल सञ्जाल तथा साथीबीच बालविवाह अन्त्य सम्बन्धी छलफल चलाउने जस्ता काम गर्नुपर्छ,” उनी भन्छिन्।
यससँगै बालविवाह रोकिएका किशोरकिशोरीलाई पनि यस्ता काममा लगाउनुपर्ने मनोविमर्शकर्ता सम्झना अधिकारी बताउँछिन्। “आफ्नो केटा साथीलाई आफूमाथि बलात्कारको अभियोग लगाइएको कारण मानसिक रूपमा विक्षिप्त किशोरीहरू पनि भेटिएका छन्, उनीहरूलाई गहिरो परामर्शको खाँचो छ,” बाल हेल्पलाइन मकवानपुरमा कार्यरत मनोविमर्शकर्ता अधिकारी भन्छिन्, “सामाजिक सचेतनासँगै मनोविमर्शको पाटोलाई दरिलो बनाउनुपर्छ।”
यससँगै बालविवाह रोक्न धर्मगुरुलाई पनि सामाजिक अभियन्ताका रूपमा परिचालन गर्नुपर्ने अधिकारकर्मी बताउँछन्। अध्ययन कम भएका धर्मगुरु कम उमेरमा हुने विवाहमा सहभागी हुने गरेको चैतन्य कृष्ण बताउँछन्। कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनी भन्छन्, “हिन्दूधर्मले कानूनभन्दा पनि ढिलो अर्थात् २५ वर्षपछि मात्रै बिहे गर्ने अनुमति दिएको छ।”
त्यस्तै, वैदिक धर्मले पनि गृहस्थ जीवनमा प्रवेशका लागि २५ वर्ष पुग्नुपर्ने बताएको बौद्ध अध्येता वसन्त महर्जन बताउँछन्। मुस्लिम धर्ममा विवाहका लागि योग्य उमेर २५ वर्ष भनेको बताउँदै नजरुम हसन बालविवाह रोक्न धर्मगुरुलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिन्छन्।