क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन पौडेलको निर्देशन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन निर्देशन दिएका छन्।
शनिबार तिलगंगास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर क्रियाशील सदस्यता छानबिन समितिको कामकाजबारे जानकारी लिँदै पौडेलले निर्देशन दिएका हुन्। वरिष्ठ नेता पौडेलले छानबिन समितिको कामको प्रशंसा गरेको समितिका प्रवक्ता प्रदीप पौडेलले बताए।
कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा तय गरिएको छ। त्यस्तै, १४ साउनबाट वडा अधिवेशन हुने तय गरिएको छ। त्यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेछ।
अहिले समितिले क्रियाशील सदस्यताको छानबिन गरिरहेको छ। समितिको कामको प्रशंसा गर्दै वरिष्ठ नेता पौडेलले समयमै १४औं महाधिवेशन गराउने महत्त्वपूर्ण जिम्मेवारी क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेको बताए।