आज काठमाडौंमा बढे कोरोना संक्रमित
आज देशभर कोरोनाभाइरस संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने बढेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज काठमाडौं उपत्यकामा ४१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उपत्यकामा ३८० जनामा कोरोना देखिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबार काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जनामा कोरोना देखिएको थियो।
काठमाडौंबाहेक तीन जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएका छन्। सुनसरीमा १६०, चितवनमा ११२ र कास्कीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज देशभर दुई हजार १६९ जनामा संक्रमण देखिएको छ भने एक हजार ४३२ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट २२ जनाको ज्यान गएको छ।