काठमाडौंसँगै आठ जिल्लामा थपिए ५० भन्दा बढी संक्रमित
अझै केही जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या घट्न सकेको छैन। आज काठमाडौंसँगै आठ जिल्लामा ५० भन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा २६१ जनामा संक्रमण देखिएको छ। त्यस्तै, झापामा १६२, मोरङमा १२९ र कास्कीमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विशेष गरेर बागमती प्रदेशकै जिल्लामा दैनिक थपिने संक्रमितको संख्या उच्च रहेको छ। मकवानपुरमा ८०, ललितपुरमा ७४, चितवनमा ६५ तथा प्रदेश १ को सुनसरीमा ८९ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, भक्तपुरमा ४५, नुवाकोटमा ४६, धादिङमा ४० र काभ्रेमा ३७ जनामा कोरोना देखिएको छ। बागमती बाहिर सुर्खेतमा ३६ र पाल्पामा ३० जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो समय प्रदेश १ र बागमती प्रदेशमा संक्रमित थपिने क्रम घट्न सकेको छैन। सुदूरपश्चिम र कर्णालीमा भने संक्रमितको संख्या घट्दै गएको छ।
आज देशभर दुई हजार २३९ जनामा संक्रमण देखिएको छ भने एक हजार ३१६ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट २० जनाको मृत्यु भएको छ।