चीनबाट आइपुग्यो कोरोनाविरुद्धको आठ लाख खोप
चीनबाट खरीद गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ।
आज बिहान नेपाल वायुसेवा निगमको वाइडबडीले चीनको बेइजिङबाट आठ लाख डोज खोप ल्याएको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए। “आज बिहान वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको छ,” गौतमले भने।
नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको छ। त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज ल्याएको हो।
त्यस्तै, फेरि दोस्रो खेपका लागि ३१ असारमा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। यससँगै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज ७ साउनमा चीन जाने भएको छ।
यसअघि चीनले अनुदानमा भेरोसेल खोप दिएको थियो। त्यो अहिले लगाइँदै छ।
आज ल्याएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अर्को साताबाट खोप लगाउने तयारी रहेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिए।