आज ६२ जिल्लामा थपिए नयाँ संक्रमित
कोभिड-१९ संक्रमणको जोखिम अझै कम भएको छैन। आज पनि ६२ जिल्लामा नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज १५ जिल्लामा मात्रै नयाँ संक्रमित देखिएका छैनन्। अन्य जिल्लामा एकदेखि २८७ सम्म नयाँ संक्रमित थपिएका छन्।
कोरोनाभाइरसको नियन्त्रणका लागि ७५ जिल्लामा लगाइएको निषेधाज्ञा दुई सातायता खुकुलो पार्दै लगिएको छ। धेरैजसो जिल्लामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएको छ। तर, कोरोना संक्रमणको जोखिम भने अझै यथावत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा २८७ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, सुनसरीमा ११८ र कास्कीमा १०५ जनामा संक्रमण देखिएको छ। अन्य ५९ जिल्ला भने एक सयभन्दा कम संक्रमित थपिएका छन्।
सबैभन्दा कम १७ जिल्लामा एक-एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। एक जना संक्रमित थपिएका जिल्लामा उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, महोत्तरी, सिरहा, दोलखा, मनाङ, म्याग्दी, लमजुङ, गुल्मी, प्युठान, रुकुम पश्चिम, कालिकोट, जाजरकोट, मुगु र सल्यान रहेका छन्।
त्यस्तै, सबैभन्दा बढी बागमती प्रदेशमा ५९५ र सबैभन्दा कम प्रदेश २ मा १५ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी प्रदेश १ मा २२१, गण्डकीमा १८३, लुम्बिनीमा १३०, सुदूरपश्चिममा ४२ र कर्णालीमा ३० जनामा संक्रमण देखिएको छ।
आज देशभर एक हजार ८७५ जनामा कोरोना पुष्टि भएको छ भने एक हजार २८६ जना निको भएका छन्। कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन्।