खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज चीन जाँदै
कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ ल्याउन नेपाल एअरलाइन्सको जहाज आज चीन जान लागेको छ।
चीनको सिनोफार्म कम्पनीबाट नेपालले ४० लाख डोज खोप खरीद गर्ने सम्झौता गरेको छ। त्यसको पहिलो खेपमा खोप ल्याउन आज नेपाल एअरलाइन्सको जहाज चीनको बेइजिङ जान लागेको हो।
नेपाल एअरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट १० लाख डोज खोप ल्याउन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जान लागेको बताए। उनका अनुसार, नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाज चीन जानेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको आजको अन्तर्राष्ट्रिय उडान तालिकामा अपराह्न ३ः२५ बजे नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने उल्लेख छ। आजबाट ८ साउनसम्म तीन खेपमा खोप ल्याइने भएको छ।
आज गएको जहाज भोलि १० लाख डोज खोप ल्याएर फर्किनेछ। त्यस्तै, ३१ असारमा जाने नेपाल एयरलाइन्सको जहाज १ साउनमा र ७ साउनमा जाने नेपाल एयरलाइन्सकै जहाज ८ साउनमा खोप ल्याएर नेपाल फर्किने उडान तालिका तय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ‘जीटुजी’ मार्फत खोप खरीद गरेर ल्याउन लागेको बताए। अहिले नेपाल एयरलाइन्सको जहाज तीन पटक चीन गएर खोप ल्याउने तय भएको उनले बताए।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालमा लगाइँदै आएको छ। यसअघि चीन सरकारले अनुदानमा खोप दिएको थियो। अहिले ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज लगाइँदै छ।
अब चीनबाट खरीद गरेर ल्याइने भेरोसेल ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ। यो साता खोप आएपछि अर्को साताबाट लगाउने योजना रहेको छ।
अहिलेसम्म खोप लगाउनका लागि १४ लाख जनाले आवेदन भरेका छन्। स्वास्थ्य मन्त्रालयले ३१ वैशाखबाट आवेदन भर्न आह्वान गरेको थियो।
सरकारले १८ वर्षभन्दा माथिका दुई करोड २० लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको छ। तर, अहिलेसम्म २६ लाख ११ हजार ८०७ जनालाई पहिलो डोज र आठ लाख ५१ हजार तीन सय जनालाई दोस्रो डोज लगाइएको छ।