ओली–नेपाल भेटवार्ताको 'बाध्यता'
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहम्का कारण नेकपा (एमाले) औपचारिक विभाजनको बाटोमा पुगेको बताइँदै गर्दा एकताको लागि देखिएको पछिल्लो सक्रियता र प्रमुख नेताहरूबीच भेटवार्ता हुनुमा दुवैतर्फको बाध्यता गाँसिएको छ।
१९ असार शनिबार सम्पन्न नेकपा (एमाले)को १३औं केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षलाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेपछि एमाले नेताहरू नै पार्टी औपचारिक विभाजनको बाटोमा पुगेको निष्कर्षमा पुगेका थिए। बालुवाटारमा भएको उक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका पनि थिए, “अदालतको फैसला आउँदासम्म प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउन जसको हस्ताक्षर कायम रहन्छ, ती एमाले कार्यकर्ता होइनन्।”
तर, केन्द्रीय कमिटीले दिएको समयसीमा सकिएपछि एकाएक नाटकीय परिवर्तन देखियो। डेढ महीनाअघिदेखि निष्क्रिय बनेको एकता कार्यदल २१ असारमा एकाएक सक्रिय भयो। लगत्तै बैठकमा बसेका कार्यदलका सदस्यहरूले एकताका लागि भएको वार्ता सकारात्मक ढंगले अघि बढेको बताएका छन्।
वार्ता सकारात्मक ढंगले अगाडि बढेको कार्यदल सदस्य एवम् एमाले नेता सुवास नेम्वाङ बताउँछन्। “थप गृहकार्य गर्ने र भोलि (बिहीबार) टुंंग्याउने गरी आजको छलफल सकियो, भोलि बसेर अहिलेसम्मका सहमतिलाई औपचारिकता प्रदान गर्नेछौं,” उनले भने।
अध्यक्ष ओलीले पार्टीभित्रको नेपाल समूहलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन्। तर, जति नै चर्का कुरा गरे पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको खण्डमा आइपर्ने संकट बुझेका ओली थप अगाडि बढ्न हच्किएका छन्।
कार्यदलको बैठकले रफ्तार समाएको मात्र होइन, दुई प्रमुख नेताबीच कति जोडबल गर्दा पनि हुन नसकिरहेको भेटवार्ता पनि बुधबार भएको छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नक्सालस्थित मेरियट होटलमा भेटवार्ता भएको छ।
यसअघि दुई पक्षबीच गहिरिएको विश्वासको संकट पुर्दै एकताको वातावरण बनाउन एमाले नेताहरूले दुवै नेताको संवादका लागि पहल गरेका थिए। २० असार आइतबार एमालेका ओली निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए। तर, उक्त आग्रह नेपालले अस्वीकार गरिदिएका थिए। त्यसअघि १७ असारमा पनि ओलीले भेट्नका लागि टेलिफोन मार्फत आग्रह गर्दा नेता नेपालले अनिच्छा प्रकट गरेका थिए।
त्यसरी रिसाएका नेता नेपाल र हस्ताक्षर फिर्ता नलिनेहरू एमालेमा रहन नसक्ने घोषणा गरेका अध्यक्ष ओली बुधबार साँझ भेटवार्ता गर्न तयार भए। संवादमा बस्न तयार हुनुमा दुवैका आ–आफ्ना बाध्यता छन्।
परिबन्दको एकता प्रयास
अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल व्यक्तिगत रूपमा एकले अर्कोको अस्तित्व नै स्वीकार गर्न नसक्ने र एक ठाउँमा बस्नै नसक्ने अवस्थामा पुगेका छन्। त्यसका बावजूद उनीहरूबीच संवाद र पार्टी एकताको अन्तिम प्रयास भने भइरहेको छ। यसो हुनुमा दुवै नेताको परिबन्दले काम गरेको छ।
पहिले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बाध्यताको कुरा गरौं। ओलीले पार्टीभित्रको नेपाल समूहलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन्। तर, जति नै चर्का कुरा गरे पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको खण्डमा आइपर्ने संकट बुझेका ओली थप अगाडि बढ्न हच्किएका छन्।
संसद् पुनःस्थापना हुँदा मात्र होइन, केही गरी विघटन सदर नै भएमा पनि आउँदो चुनावका लागि एमालेलाई एकताबद्ध राख्नसके अन्ततोगत्वा आफैं बलियो हुने पाटो पनि ओलीले बुझेका छन्। दुवै स्थितिमा एमाले सग्लो रहनु आफ्ना लागि फाइदाजनक देखेकाले ओली एकताको पक्षमा रहेको नेपाल पक्षका एक नेताले बताए। यही परिदृश्यमा दोस्रो तहका नेताहरूले पार्टी विभाजन रोक्ने गरी कोमामा पुगेको कार्यदल ब्युँताएर एकताको प्रयास गरेका छन्।
“एउटै पार्टीभित्र हुँदा साथ दिने फरक कुरा हो। तर, माधव नेपालले भन्ने बित्तिकै जीवनको सम्पूर्ण ऊर्जा खर्चेको पार्टी छोड्न ठूलो पंक्ति तयार देखिएन। नीति र सिद्धान्तमा पनि बेमेल नभएपछि विभाजनमा जाने जोखिम मोल्न धेरै नेता–कार्यकर्ताको अरुचि देखियो।”
उता, छुट्टै पार्टी गठन गरेर जाने योजना चुनौतीपूर्ण देखिएपछि नेता नेपाल पनि अलमलिएका छन्। आफ्नो नाम उल्लेख गर्न नचाहने एमालेका एक केन्द्रीय सदस्यका अनुसार, छुट्टै पार्टी गठन गर्ने तयारी गरेका नेपाललाई पार्टी विभाजनको अवस्थामा उनी पक्षीय नेता–कार्यकर्ताको ठूलो पंक्तिले साथ नदिने भएपछि अगाडि बढ्न नसकेका हुन्।
“एउटै पार्टीभित्र हुँदा साथ दिने फरक कुरा हो। तर, माधव नेपालले भन्ने बित्तिकै जीवनको सम्पूर्ण ऊर्जा खर्चेको पार्टी छोड्न ठूलो पंक्ति तयार देखिएन”, ती केन्द्रीय सदस्यले भने, “नीति र सिद्धान्तमा पनि बेमेल नभएपछि विभाजनमा जाने जोखिम मोल्न धेरै नेता–कार्यकर्ताको अरुचि देखियो।”
यो स्थितिमा एकलाई अर्को मन नपर्दा नपर्दै पनि परिबन्दले दुवै नेतालाई पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने अवस्थामा पुर्याएको देखिन्छ।
कसरी ब्युँतियो कार्यदल?
एमालेमा विवाद बढिरहेका वेला ३१ वैशाखमा बूढानीलकण्ठमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच झन्डै चार घण्टा लामो वार्ता भएपछि २ जेठमा एमालेमा एकताका लागि सहमति खोज्न दश सदस्यीय कार्यदल बनाइएको थियो। तर, राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको विषयमा कुरा नमिलेपछि कार्यदल निष्क्रिय भएको थियो। एकाएक कार्यदल सक्रिय हुनु पछाडिको कारण दोस्रो तहका नेताहरूले पार्टी एकताका लागि निरन्तर गरेको प्रयासको उपज हो।
पार्टीभित्र जति चर्का कुरा गरे पनि २०५४ सालमा फुटको नमीठो स्वाद चाखेका एमाले कार्यकर्ताले विभाजनको असर राम्ररी बुझेका छन्। त्यसले पनि नेताहरू भागबन्डा मिलाएर भए पनि पार्टी बचाउने पक्षमा छन्। हुन पनि २०५४ सालमा एमाले विभाजन भएर माले बन्यो। त्यतिवेला केन्द्रीय कमिटीको विभाजन झन्डै आधा–आधा थियो। तर, माले र एमाले एकीकरण भएपछि वामदेव गौतम, योगेश भट्टराई र घनश्याम भुसाल लगायत केही नेता बाहेक माले बनेका नेताहरूको ठूलो पंक्ति फेरि एमालेमा पुनःस्थापित हुनैसकेन। मालेबाट एमाले बने पनि उनीहरूलाई विभाजनकारीको ‘ट्याग’ लामो समयसम्म लागिरह्यो।
२०५४ सालमा फुटको नमीठो स्वाद चाखेका एमाले कार्यकर्ताले विभाजनको असर राम्ररी बुझेका छन्। त्यसले पनि नेताहरू भागबन्डा मिलाएर भए पनि पार्टी बचाउने पक्षमा छन्।
विभाजित भएर जाँदा पार्टी फेरि एकीकृत भए पनि शक्ति कति कमजोर हुन्छ भन्ने उदाहरण हुन्, वामदेव गौतम। २०५४ सालमा माले विभाजन गर्दा ठूलो सहयोग पाएका गौतम अहिले पार्टीभित्र एक्ला छन्। हिजो उनलाई साथ दिएकाहरू पनि आज उनको साथमा छैनन्।
पटकपटक प्रधानमन्त्रीमा दाबी गरे पनि नेता गौतमले अहिले त्यो पद प्राप्त गर्न नसक्नुको कारण उनले गरेको पार्टी विभाजन हो। उनी एमालेका समकालीन नेताहरूमा उमेरका हिसाबले वरिष्ठ हुन्। पार्टीभित्र माधव नेपाल, केपी ओली र झलनाथ खनालभन्दा उनको कम योगदान छैन। ओली र खनाल प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा पनि गौतम भने पटकपटकको प्रयासमा पनि ती पद हासिल गर्न सफल भएनन्।
प्रमुख कुरा पदीय भागबन्डा
सतहमा विमतिका जेजस्ता विषय देखिए पनि एमाले अहिलेको अवस्थामा आइपुग्नुको प्रमुख कारण केपी ओली र माधव नेपालबीचको पदीय लडाइँ हो। एमालेको कार्यदल स्तरमा यो विषयले प्रवेश नपाए पनि ओली र नेपाल बसेर भागबन्डाको विषय टुंगो नलगाएसम्म उनी एमालेमा फर्कन सक्ने सम्भावना कम छ। बुधबार साँझ दुई नेताबीच भएको ‘वान अन वान’ वार्तामा सहमति जुट्न नसके पनि संवाद सकारात्मक रहेको नेताहरूले बताएका छन्।
“एमालेको अहिलेको विवादमा मुख्य कुरा भागबन्डा नै हो। भागबन्डामा सहमति भए माधव नेपाल फर्कनुहोला,” नेपालसँग काम गरेका एक नेता भन्छन्।
नेता नेपालले विगतदेखि पार्टीभित्र एक व्यक्ति एक पदको कुरा प्रमुख रूपमा उठाइरहेका छन्। त्यो भनेको केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद चलाउनु। जुन कुरा ओलीले अस्वीकार गर्दै आएका छन्। ओली तत्काल अध्यक्ष र प्रधानमन्त्री छोड्न सहमत नभए पनि आगामी दिनमा शक्ति बाँडफाँड गरेर जानुपर्ने विषयमा लचिलो रहेको उनी पक्षका नेताहरू बताउँछन्।