काठमाडौंसँगै ६ जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
आज काठमाडौंसहित ६ जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज काठमाडौंमा ३६५ जनामा कोरोना संक्रमण देखिएको छ। ललितपुरमा १०१ जनामा कोरोना पुष्टि भएको छ। सोमबार काठमाडौंमा ३७८ र ललितपुरमा १२४ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, झापामा १७६, मोरङमा ११२, सुनसरीमा १३५ र कास्कीमा १०३ जनामा संक्रमण देखिएको छ। सोमबार झापामा १८८, मोरङमा १२१, सुनसरीमा ५७ र कास्कीमा ११५ जनामा कोरोना देखिएको थियो।
आज देशभर दुई हजार ६३४ जनामा कोरोना देखिएको छ भने एक हजार ५६५ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला आठ रहेका छन्। झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, आज कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार २६३ पुगेको छ।