पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
घरेलु मैदानमा भएको खेलमा पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
आज बिहान भएको खेलमा ब्राजिलले पेरुलाई १-० ले पराजित गरेको हो। ब्राजिलका लागि खेलको ३५औं मिनेटमा लुकास प्याक्वेटाले गोल गरेका थिए।
पहिलो हाफमा अग्रता लिएसँगै ब्राजिलले खेलमा दबाब बनाएको थियो। पहिलो हाफमा थुप्रै पटक मौका पाए पनि ब्राजिलले गोल थप्न सकेन।
दोस्रो हाफमा भने पेरुले दबाब बनाएको थियो। केही राम्रा मौका पाए पनि पेरुले गोलमा परिणत गर्न सकेन।
दोस्रो हाफमा कुनै पनि टीमले गोल गर्न नसकेपछि ब्राजिलले १-० ले पेरु हराउँदै फाइनलमा प्रवेश गरेको हो।
अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बियाको विजेतासँग भिड्नेछ। अर्जेन्टिना र कोलम्बियाबीच दोस्रो सेमिफाइनल बुधबार बिहान ६ः४५ बजे हुनेछ।