कोपा अमेरिका : फाइनल प्रवेशका लागि ब्राजिल र पेरु भिड्दै
कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भोलि बिहान ब्राजिल र पेरु भिड्न लागेका छन्।
दुई वर्षअघि फाइनलमा भिडेका ब्राजिल र पेरु यस पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। नेपाली समय अनुसार, मंगलबार बिहान ४ः४५ बजे ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा खेल हुनेछ।
क्वार्टरफाइनलमा चिलीलाई १-० ले हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको हो। त्यस्तै, पाराग्वेलाई टाइब्रेकरमा ४-३ ले हराउँदै पेरु सेमिफाइनलमा पुगेको हो।
यसअघि लिग चरणमा भने ब्राजिलले पेरुलाई ४-० ले पराजित गरेको थियो। एउटै समूहमा रहेका ब्राजिल र पेरु पहिलो र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेका थिए।
समूह चरणका चार खेलमा ब्राजिलले तीन जितेको थियो भने एकमा बराबरी गरेको थियो। त्यस्तै, पेरुले दुई जित, एक हार र एकमा बराबरी खेलेको थियो।