माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन, भदौभित्र पूर्ण क्षमतामा उत्पादन
देशको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको उद्घाटन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन्। ४५६ मेगावाट क्षमताको यो आयोजनाको पहिलो युनिटबाट सोमबारदेखि ७६ मेगावाट बिजुली उत्पादन शुरू भएको छ। आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन्।
भदौ महीनाभित्र सबै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विद्युत् विकासका लागि यो आयोजना महत्त्वपूर्ण फड्को भएको बताए। उनले अब नेपाल विद्युत् विकासको नयाँ युगमा प्रवेश गरेको बताए।
माथिल्लो तामाकोशी स्वदेशी लगानीमा निर्माण भएको हो। आयोजनामा करीब रू.८५ अर्ब खर्च भएको छ। उद्घाटन समारोहमा बोल्दै अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले यो परियोजनाले देशको आर्थिक वृद्धिमा मात्रै करीब १ प्रतिशत योगदान दिने बताए।
आयोजनाबाट उत्पादित बिजुली गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ। ढल्केबर सबस्टेशनबाट यो राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ।