काठमाडौंमा पनि बढे कोरोना संक्रमित
आज काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ५६२ जनामा कोरोनाको संक्रमण देखिएको छ। आइतबार ४६१ र शनिबार ३७६ जनामा संक्रमण देखिएको थियो।
आज काठमाडौं ३७८, ललितपुरमा १२४ र भक्तपुरमा ६० जनामा संक्रमण देखिएको हो। आइतबार काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जनामा कोरोना देखिएको थियो। त्यस्तै, शनिबार काठमाडौंमा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जनामा कोरोना देखिएको थियो।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार ७२३ पुगेको छ। काठमाडौंमा पाँच हजार ९१, ललितपुरमा एक हजार ५८७ र भक्तपुरमा एक हजार ४५ जना सक्रिय संक्रमित रहेका छन्।
आज देशभर दुई हजार ६२२ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ। त्यस्तै, दुई हजार २११ जना निको भएका छन्। अझै देशभर २५ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।