अपाङ्गता भएकालाई घर-घरमै खोप पुर्याउन माग
राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले अपाङ्गता भएका व्यक्तिहरूका लागि घरघरमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेकी छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले हिँडडुल गर्न नसक्ने सबै उमेरका अपाङ्गता भएका व्यक्तिहरूलाई तुरुन्त खोपको व्यवस्था गर्न माग गरेकी हुन्। बैठकमा उनले भनिन्, “जुनसुकै उमेरसमूहका अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमै खोपको व्यवस्था गरियोस्।”
सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नु सकारात्मक रहेको, तर उनीहरूलाई सहज तरिकाले खोप वितरण हुन नसकेको उनको भनाइ छ। ज्येष्ठ नागरिकहरूका लागि पनि घरघरमै खोपको व्यवस्था गर्नुपर्ने उनले माग गरिन्।
कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज २६ लाखले लगाएका छन्। त्यसमध्ये सात लाख ५८ हजारले मात्रै दोस्रो डोज पाएका छन्।