संक्रमण दर जोखिमकै विन्दुमा छ, बढिसक्यो भीडभाड!
दैनिक थपिने कोरोना संक्रमितको संख्या तुलनात्मक घटे पनि संक्रमण दर अझै २० प्रतिशत हाराहारीमा छ। जानकारहरूले तेस्रो लहरको जोखिम औंल्याइरहँदा निषेधाज्ञा खुकुलो भएसँगै सामान्य अवस्थामा जस्तै भीडभाड हुन थालेको छ।
१६ वैशाखदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ। यसको सिको गर्दै उपत्यका बाहिरका अधिकांश जिल्लामा पनि सोही अनुसार निर्णय हुँदै आएको छ।
निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थलमा भीडभाड बढेको छ। सडकमा नाराजुलुस र प्रदर्शन पनि हुन थालेका छन्। राजनीतिक दलका त झन् ठूला भेला र सभा भइरहेका छन्। १८–१९ असारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्यो। विपक्षी दलहरूले पनि सरकारविरुद्धको कार्यक्रमको नाममा भीड गरिरहेका छन्। जब कि, अझै पनि कोरोनाभाइरसको संक्रमण जोखिम घटेको छैन।
संक्रमण जोखिमकै कारण काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार मात्रै २२ असारबाट निषेधाज्ञा एक साता थप्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम गर्न नपाइने निर्णय गरेका छन्।
सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली २२ असारदेखि हटाइँदै छ। अब साना सार्वजनिक सवारी पनि चलाउन पाइने भएको छ। १७ असारदेखि आन्तरिक उडान खुलिसकेको छ। यस्तै, बारका आधारमा खोल्ने व्यवस्था गरिएका सबै पसल–व्यवसायहरू यसअघि नै दैनिक साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइसकिएको छ। यसले जनजीवन सामान्य हुन थालेको आभास दिन्छ। तर, कोरोना संक्रमितको तथ्यांकले भने उच्च जोखिमको अवस्था कम नभएको जनाउ दिन्छ।
अहिले कोरोनाको सरदर संक्रमण दर २० प्रतिशतको हाराहारीमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, २० असारमा परीक्षण गरेकामध्ये १९.७१ प्रतिशतमा संक्रमण देखिएको छ। १९ असारमा २२.९७, १८ असारको २१.६९, १७ असारको २५.१२ र १६ असारको संक्रमण दर २५ प्रतिशत छ। जब कि विभिन्न अध्ययन र संक्रामक रोग विज्ञहरूले ५ प्रतिशतभन्दा माथिको संक्रमण दर हुनुलाई उच्च जोखिमका रूपमा व्याख्या गर्दै आएका छन्।
भारतमा भने कोरोना संक्रमितको दर जोखिमभन्दा मुनि आएकाले सबै क्षेत्र खुला गरिएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, पछिल्लो सात दिनको सरदर संक्रमण २.३४ प्रतिशतमा झरेको छ। संक्रमण घटेसँगै जिमखाना, सामूहिक खेल लगायतका गतिविधि पनि खुला गरिएका छन्।
हाम्रो अवस्था भारतको जस्तो भइसकेको छैन। संक्रमण पहिलेको तुलनामा ओरालो बाटोमा भने छ। निषेधाज्ञा शुरू गरिएको पहिलो दिन अर्थात् १६ वैशाखमा नेपालमा संक्रमण दर ३६.३४ प्रतिशत थियो। त्यसको १० दिनपछि हालसम्मकै धेरै ४५.६५ प्रतिशत पुगेको थियो। त्यसपछि क्रमशः घट्दो क्रममा भए पनि अपेक्षित रूपमा भने घटेको छैन।
परीक्षण घटाउनु र भीडभाड हुने गतिविधि रोक्ने उपाय नअपनाउनु सरकारको आत्मघाती कदम हुनसक्ने जानकारहरू बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी संक्रमणको दर नघट्नुको दोषी सरकार नै भएको बताउँछन्। “स्वास्थ्य मन्त्रालयले संक्रमितको र मृतकको तथ्यांक सार्वजनिक गर्ने बाहेक कामै गरेन,” उनी भन्छन्, “ठूलो परिमाणमा परीक्षण गरेको, जनचेतनालाई व्यापक बनाएको र खोपको व्यवस्था गरेको भए अहिले अवस्था सामान्य भइसक्थ्यो।” सरकारले समयमै निषेधाज्ञा लगाउने र नियन्त्रणका अन्य तरिका नअपनाएकाले समस्या भएको उनको बुझाइ छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला चाहिँ कोरोना नियन्त्रणमा निषेधाज्ञाको ठूलो भूमिका रहेको बताउँछन्। “निषेधाज्ञा नलगाएको भए हामी सोच्नै नसकिने अवस्थामा पुगिसक्थ्यौं होला,” उनी भन्छन्, “निषेधाज्ञाको एक महीनामै अवस्था सहज हुन थालेको थियो।” अहिलेको संक्रमण अवस्थालाई हेरेरै सबै क्षेत्र खुला गर्न नसकिएको उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल संक्रमणको अवस्थालाई ध्यान दिएर सरकारले निर्णय लिँदै गएको बताउँछन्। “संक्रमण उच्च भएको वेला निषेधाज्ञा गरिएको थियो,” उनी भन्छन्, “अवस्था सहज हुँदै गएकाले निषेधाज्ञा खुकुलो बनाइएको हो।” संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको पक्ष विचार गरेरै निषेधाज्ञा पूर्ण रूपमा नखोलिएको उनको भनाइ छ।
‘कन्ट्याक्ट ट्रेसिङ गर’
सरकारले पछिल्लो समय कोरोना परीक्षण घटाउँदै लगेको छ। स्वास्थ्य मन्त्रालयको आइतबार (२० असार) को तथ्यांक अनुसार ८ हजार १३२ जनाको मात्रै परीक्षण गरिएको छ। १९ असारमा १० हजार १३३ को परीक्षण भएको थियो।
परीक्षण घटाउनु र भीडभाड हुने गतिविधि रोक्ने उपाय नअपनाउनु सरकारको आत्मघाती कदम हुनसक्ने जानकारहरू बताउँछन्। संक्रमण नियन्त्रणका लागि भीड नियन्त्रण र व्यापक परीक्षण मात्रै विकल्प भएको डा. मरासिनीको भनाइ छ। “कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिनको व्यवस्था उचित तरिकाले गर्दा संक्रमणको दर स्वतः कम हुन्छ,” उनी भन्छन्, “व्यापक मात्रामा परीक्षण गर्नेतिर नगई निषेधाज्ञा लगाउनु र खोल्नु मात्रै नियन्त्रणको उपाय हुनै सक्दैन।” संक्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान गरेर ‘आइसोलेट’ गर्नु नियन्त्रणको सबैभन्दा उत्तम उपाय भएकाले परीक्षण नै बढाउनुपर्ने उनको सुझाव छ।
गत वर्ष संक्रमणको पहिलो लहरमा बन्दाबन्दी (लकडाउन) गरिँदा सरकारले कन्ट्याक्ट ट्रेसिङ गरे पनि दोस्रो लहरमा त्यसतर्फ ध्यानै नदिएको जानकारहरू बताउँछन्।