सरकारको विरोधमा राष्ट्रिय सभामा कालो टोपी प्रदर्शन
सरकारको विरोधमा नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभामा कालो टोपी प्रदर्शन गरेका छन्।
सोमबार कांग्रेस सांसद रमेशजंग रायमाझीले कालो टोपी प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभा विघटनको विरोधमा कालो टोपी प्रदर्शन गरेको उनको भनाइ थियो।
सांसद रायमाझीले भने, “आज (कालो) क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरुद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।”
प्रतिनिधि सभा विघटन र सरकारको विरोधका रूपमा ‘कालो क्याप’ लगाएर प्रदर्शन गरेको उनको भनाइ थियो। राष्ट्रिय सभामा बोल्दै उनले टाउकोबाट ‘कालो क्याप’ निकालेर देखाएका थिए।
“प्रधानमन्त्रीको कदमका विरुद्धमा यो सदन मार्फत मुलुकले थाहा पाओस्, कालो झण्डाका रूपमा मैले यो प्रस्तुत गरेको छ,” उनले कालो क्याप देखाउँदै भने।
प्रतिनिधि सभा विघटन गर्ने वेला नै लाखौं जनता कालो झण्डा बोकेर सडकमा निस्कने अवस्था आएको भए पनि कोरोनाभाइरसको महामारीका कारण रोकिएको उनको भनाइ थियो। पाँच दलको सुझबुझका कारण कोरोना संक्रमण नफैलियोस् भनेर सडक प्रदर्शन नभएको सांसद रायमाझीको जिकिर थियो।