मेयर विद्यासुन्दरज्यू, नामले होइन कामले सुन्दर बन्नुस्
नाम सुन्दर भए पनि त्यस विपरीत काम गर्दै सौन्दर्यचेत नभएको उदाहरण बने, विद्यासुन्दर शाक्य। चार वर्षअघिको काठमाडौं र आजका बीच तुलना मात्र गर्ने हो भने यो प्रश्नको उत्तर आउँछ।
राम्रा र नराम्रा दुवै कामबाट रेकर्ड राख्न सकिन्छ। अहिले दुई महादेश यूरोप र दक्षिण अमेरिका फुटबलको महाकुम्भ (यूरो कप र कोपा अमेरिका)मा जुटेका छन्। त्यहाँ गोल गर्नेहरूसँगै गोल खाने र आत्मघाती गोल गर्नेहरूको पनि छुट्टै रेकर्डहरू बन्दै छन्। यता हाम्रो देशमा पनि रेकर्ड बनाउनेहरूको कुनै कमी छैन। तर, ती रेकर्ड सकारात्मक थोरै, नकारात्मक बग्रेल्ती भेटिन्छन्।
नेपालमा सफलताको 'पुरस्कार' दिने हो भने दाबीकर्ताको खडेरी पर्नेछ। तर, अक्षमहरूको कतै कमी हुनेछैन। कोभिड-१९ महाव्याधिदेखि बाढी नियन्त्रण, सरकारदेखि संसद् सञ्चालन, खोपदेखि मलको आपूर्ति सबैतिर असफलता र अक्षमताको चाङ देखिन्छन्।
यस लेखमा एउटा व्यक्ति र विषयमाथि चर्चाको जमर्को गरिएको छ। जसको नाम नै विपर्यास झैं सुनिन्छ। राम्रा वा सकारात्मक अर्थ दिने पदावली सापेक्षतामा मात्र सारपूर्ण हुने रहेछन्। उदाहरणका लागि, आङ्लभाषाको 'पोजेटिभ' को सोझो अर्थ 'सकारात्मक' हो। तर, त्यही शब्द कोभिड-१९ वा एचआईभीसँग जोडिन्छ, घोर नकारात्मक अर्थ सम्प्रेषित हुन्छ। नेपाली तत्सम शब्द 'सुन्दर' को पनि 'पोजेटिभ' झैं कन्तबिजोग हुन पुग्छ, कहिलेकाहीँ।
देशको राजधानी शहर रहेको काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा विद्यासुन्दर शाक्यले नगरवासी समक्ष आफू निर्वाचित भएमा 'सय दिनमा सय काम' गर्ने वाचा गरेका थिए। तर, पदमा बहाल भएको सय होइन पन्ध्र सय दिन कटिसक्दा शाक्यले सयको सूचीभित्रको दर्जन जति काम पनि सम्पन्न गरेका छैनन्।
राजधानी शहरको मेयर सुहाउँदो आफ्नो योग्यता र क्षमता नहुनुको क्षतिपूर्ति शाक्यले सक्षम व्यावसायिक टीम बनाएर गर्नसक्ने थिए। त्योभन्दा पनि आफूले कबुल गरेका सय काममध्येका सबै नभए पनि अधिकांश सय दिनभित्र सम्पन्न गरेका भए उनलाई शंकाको लाभ पुग्नसक्ने थियो। हिजोको पद वा पृष्ठभूमिभन्दा पनि वर्तमान हैसियत र कार्यसम्पादनले उनको 'प्रोफाइल' बढाउन सक्थ्यो।
आकस्मिक तथा अल्पकालीन काममा सिन्कोसम्म नभाँचेका मेयर शाक्यबाट दीर्घकालीन विकास-निर्माणको कामको अपेक्षा गर्न सकिने कुरा पनि रहेन। सामान्य वडाध्यक्षको पृष्ठभूमिका शाक्य देशकै राजधानीको मेयर बन्नसक्ने हैसियतका थिएनन्। त्यस निम्ति उनी स्वयं नभएर उनलाई उम्मेदवार चयन गर्ने पार्टी नेकपा (एमाले) दोषी थियो। देशकै सबैभन्दा ठूलो महानगर सँगसँगै प्रशासनिक एवं वित्तीय राजधानी काठमाडौंको मेयर बन्न उनको क्षमता र हैसियत पुग्दैनथ्यो। तर, उनीभन्दा पनि कमजोर प्रतिपक्षी उम्मेदवार र वैकल्पिक राजनीतिक विचारधाराका अन्य उम्मेदवारहरूका लागि राजधानीवासी तयार भइनसकेको अवस्थामा शाक्यले सहजै जित हासिल गरे।
राजधानी शहरको मेयर सुहाउँदो आफ्नो योग्यता र क्षमता नहुनुको क्षतिपूर्ति उनले सक्षम व्यावसायिक टीम बनाएर गर्नसक्ने थिए। त्योभन्दा पनि आफूले कबुल गरेका सय काममध्येका सबै नभए पनि अधिकांश सय दिनभित्र सम्पन्न गरेका भए उनलाई शंकाको लाभ पुग्नसक्ने थियो। हिजोको पद वा पृष्ठभूमिभन्दा पनि वर्तमान हैसियत र कार्यसम्पादनले उनको 'प्रोफाइल' बढाउन सक्थ्यो। किनकि, स्वदेशी हुन् वा आगन्तुक सबैको सबैभन्दा पहिले आँखा पर्ने भनेकै राजधानी शहर हो। राजधानीको मेयरमा सफल हुनेहरू देशकै प्रमुख कार्यकारी बनेका उदाहरण विश्वमा धेरै छन्।
२०७४ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचन मार्फत मेयर निर्वाचित शाक्यको कार्यकाल यसै वर्ष पूरा हुँदै छ। सय दिनभित्र सय काम गर्ने प्रतिज्ञाका साथ मेयरमा निर्वाचित उनको बहिर्गमनका दिनसम्म सफलता शून्य, तर असफलताको सूची भने पक्कै पनि सयभन्दा बढी नै हुनेछ।
नाम सुन्दर भए पनि त्यस विपरीत काम गर्दै सौन्दर्यचेत नभएको उदाहरण बने, विद्यासुन्दर शाक्य। चार वर्षअघिको काठमाडौं र आजका बीच तुलना मात्र गर्ने हो भने यो प्रश्नको उत्तर आउँछ। शाक्यको कार्यकालमा अवैधानिक तवरमा मिचिएका कति जमीन फिर्ता ल्याउन सकियो र तिनको हरियालीकरण भयो? कति संख्यामा वृक्षरोपण गरियो र रोपिएका वृक्षहरूको हेरचाह गरियो?
काठमाडौंको खुला क्षेत्रको संरक्षण, उद्यान र हरियाली मार्फत सुन्दरता फर्काउने प्रण गरेका शाक्यको कार्यकालमा खुला क्षेत्रमाथि नै सबैभन्दा बढी अतिक्रमण भयो भने ऐतिहासिक धरोहर र सम्पदा व्यापारिक स्वार्थमा प्रयोग गर्ने चेष्टा गरियो। ऐतिहासिक रानीपोखरीदेखि कमलपोखरीको पुन:निर्माणमा शाक्य परम्परागत सीप र शैली लत्याउँदै कंक्रिट प्रयोगको पक्षमा उभिए। यदि जागरुक एवं सम्पदाप्रेमी नागरिकले उनको योजनामा बेलैमा हस्तक्षेप नगरेको भए रानीपोखरी सत्ता निकट खास व्यापारिक घरानाका निम्ति 'खानेपोखरी' मा बदलिसक्थ्यो। रानीपोखरी मोडल पुन: कमलपोखरीमा दोहोर्याएका कारण अहिले मेयर र स्थानीयवासीबीच पुन:निर्माणमा द्वन्दवको अवस्था सिर्जना भएको छ।
आफ्ना गुरु केपी शर्मा ओलीको चुच्चे रेल र हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चलाउने उडन्ते सपना झैं काठमाडौंको मोनोरेलको त कुरै छाडौं, शाक्यको कार्यकालमा शहरको सौन्दर्यकरणका लागि सम्झनलायक कुनै काम देखिएन। उपत्यकाभित्रकै ललितपुर र भक्तपुर नगरको मुहार धेरै हदसम्म बदलिएको वेला काठमाडौं भने बितेका चार वर्षयता झनै लथालिङ्ग र विरूप बन्यो।
पुरानो बसपार्क ब्यांक घोटालाको कालोसूचीमा परेको निर्माण व्यवसायीलाई टावर बनाउन छाड्दै लोकतन्त्र र स्वतन्त्रताको इतिहास बोकेको खुलामञ्चलाई बसपार्कमा परिणत गरियो। खुला क्षेत्र एवं सार्वजनिक सम्पत्ति व्यापारिक प्रयोजन निम्ति लिजमा दिने सरकारको काममाथि महानगरपालिकाले कहिल्यै प्रतिरोध गरेन। बरु सार्वजनिक सम्पत्ति दोहनमा महानगरपालिका मूकदर्शक बनिदियो।
नाम सुन्दर भए पनि त्यस विपरीत काम गर्दै सौन्दर्यचेत नभएको उदाहरण बने, विद्यासुन्दर शाक्य। चार वर्षअघिको काठमाडौं र आजका बीच तुलना मात्र गर्ने हो भने यो प्रश्नको उत्तर आउँछ। शाक्यको कार्यकालमा अवैधानिक तवरमा मिचिएका कति जमीन फिर्ता ल्याउन सकियो र तिनको हरियालीकरण भयो? कति संख्यामा वृक्षरोपण गरियो र रोपिएका वृक्षहरूको हेरचाह गरियो? जनताका आँखा पर्ने कति सार्वजनिक स्थल, पाटी, चौतारा, पर्खाल, आकाशे पुल आदिको मर्मतसम्भार र रङरोगन भयो?
महानगरले सार्वजनिक स्थलको सम्भार र सौन्दर्यकरणमा प्राथमिकता नदिएकाले ऊबाट अपेक्षा गर्ने कुरा पनि रहेन। तर, कुनै सहृदयी र जिम्मेवार नागरिकले अनुमति लिएर शहरको सौन्दर्यमा पुर्याएको योगदान मेयर शाक्यलाई किन बिझायो, बुझिनसक्नु छ।
कलाकार दुर्जाङ शेर्पाले कोभिड-१९ का 'फ्रन्टलाइनर्स' प्रति सम्मानस्वरूप गत जेठमा रत्नपार्कको आकाशे पुलमुनि एउटा सुन्दर क्यानभास तयार गरेका थिए, जसको शिरमा 'वी विल राइज अगेन' अर्थात् 'हामी फेरि उठ्नेछौं' भन्ने उत्साह भर्ने नारा पनि लेखिएको थियो। सम्बन्धित वडा कार्यालय र महानगरीय ट्राफिक कार्यालयको सहमतिमा तयार त्यो पेन्टिङले मेयर शाक्यलाई यतिसम्म बिझायो, उनले कुनै क्रूर मास्टरले साना नानीको चित्र मेटाइदिए झैं पेन्टिङमाथि सेतो पोतिदिए।
महानगरको अनुमति बेगर पेन्टिङ बनाएको तर्क गरेका शाक्य शहरको सबैभन्दा व्यस्त ठाउँमा चार कलाकारले ६ दिन लगाएर पेन्टिङ तयार गर्दा चाहिँ किन मौन बसे, त्यो बुझ्न सकिएको छैन। सुन्नमा आएको कुरा के भने, दुर्जाङलाई अनुमति दिने वडा नम्बर २८ का वडाध्यक्ष नेपाली कांग्रेसका रहेकाले कांग्रेसको अनुमति शाक्यका निम्ति सह्य भएन।
शाक्यको यस्तो असहिष्णु रबैयाले पञ्चायतकालका ती दिनको स्मरण गराउँछ, जब पञ्चहरू बीपी कोइरालाको जन्मजयन्ती तथा पुण्यतिथिमा कांग्रेसजनद्वारा रोपिएका रूखका बेर्ना उखेलेर मिल्काउँथे, वृक्षरोपण गर्नेमाथि डन्डा बर्साउँदै धरपकड गर्थे, मानौं तिनले रोपेका वृक्षमा कुनै दिन बीपी नै फल्ने हुन्!
शहरको सौन्दर्यकरणका लागि त महानगरपालिका स्वयंले बृहत् रूपमा नागरिक सहकार्य गर्नुपर्ने हो। त्यस निम्ति एउटा छुट्टै मापदण्ड बनाएर नियमन गर्न सकिन्छ। विज्ञापनका भद्दा पोस्टर वेलैमा हटाउन नसक्ने मेयर शाक्य कलाकार दुर्जाङले रीतपूर्वक बनाएको एउटा सुन्दर र सौम्य क्यानभास नामेट गर्न किन दिलोज्यानले लागे, त्यो जति निन्दाजनक छ, त्यति नै असुन्दर पनि।