‘कोभिशिल्डको दोस्रो डोज १० महीनापछि लगाउँदा पनि राम्रै नतीजा दिने’
अस्ट्राजेनेका (कोभिशिल्ड) खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तापछि दोस्रो मात्रा लगाउनुभन्दा ४४ देखि ४५ हप्तापछि दोस्रो मात्रा लगाउँदा चार गुणा बढी प्रतिरोधात्मक क्षमता (एन्टिबडी) सिर्जना हुने अक्सफोर्ड खोप समूहले जनाएको छ।
हामीकहाँ ६५ वर्षमाथिका १४ लाखभन्दा बढी ज्येष्ठ नागरिक १६-१७ हप्तादेखि कोभिशिल्डको दोस्रो मात्रा कुरेर बसेका छन्। उनीहरूले गत फागुनको तेस्रो साता पहिलो मात्रा खोप लगाएका थिए। त्यसपछि कोभिशिल्ड खोपको अभाव भएकाले दोस्रो मात्राको टुंगो हुनसकेको छैन। केही समयअघि सांसद, संसद् सचिवालयका कर्मचारी लगायतले दोस्रो डोज लगाएका थिए।
समयमै दोस्रो मात्रा खोप नलगाउँदा पहिलो खोपको प्रभावकारिता कम हुने वा हराउला भनी धेरैले चिन्ता व्यक्त गरिरहेका छन्। तर, अस्ट्राजेनेका खोपकै निर्माता अक्सफोर्ड भ्याक्सिन ग्रुपले दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोनाभाइरस प्रतिरोधी प्रणाली खत्तम भइनहाल्ने बताएको छ।
“खोप अभावको स्थिति भएमा पहिलो मात्रा ChAdOx1 nCoV-19 (अस्ट्राजेनेका) लगाएको लामो समयपछि दोस्रो मात्रा लगाउनु प्रभावकारी रणनीति हुनसक्छ। त्यसपछि तेस्रो मात्रा लगाउँदा प्रतिरक्षा प्रणाली अझै मजबूत हुन्छ,” प्रकाशन हुनै बाँकी अक्सफोर्डको पछिल्लो रिपोर्टमा भनिएको छ।
उक्त अध्ययनको समकक्षी समीक्षा भइनसकेको भारतीय पत्रिका द हिन्दू मा प्रकाशित ‘टेन मन्थ ग्याप बिट्विन एस्ट्राजेनेका डोजेज सिज हाइअस्ट एन्डिबडी बुस्टः अक्सफोर्ड स्टडी’ समाचारमा उल्लेख छ।
अस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्रा. एन्ड्रयु पोलार्डले केही दिनअघि बीबीसी नेपालीसँगको कुराकानीमा ५० वर्षभन्दा माथिको उमेरका जोकोहीले पहिलो मात्रा पाउनु सबैभन्दा महत्त्वपूर्ण भएको बताएका थिए।
“पहिलो मात्राले उनीहरूलाई कोरोनाभाइरसको महामारीबाट एकदमै महत्त्वपूर्ण सुरक्षा दिन्छ,” बीबीसीले उनलाई उद्धृत गर्दै लेखेको छ, “जब हामीसँग बढी आपूर्ति हुन्छ, दोस्रो मात्रा लगाउँदा त्यसले अझ उच्चस्तरमा (सुरक्षा) पुर्याउँछ। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा, बढीभन्दा बढीलाई पहिलो मात्रा खोप पुर्याउनु हो।”
अक्सफोर्डले गरेको अध्ययन अनुसार, पहिलो खोप लगाएको ८–१२ हप्तापछि दोस्रो डोज लगाउनेहरूमा औसत मात्रामा एन्टिबडी देखिएको थियो भने १५–२५ हप्तापछि लगाउनेमा तिनको भन्दा दुई गुणा बढी देखिएको थियो। भनाइको अर्थ, पहिलो र दोस्रो मात्राबीचको अवधि लम्ब्याउँदा त्यसले एन्टिबडी अझै बुस्ट (वृद्धि) गर्छ।
अस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्रा. एन्ड्रयु पोलार्डले केही दिनअघि बीबीसी नेपालीसँगको कुराकानीमा ५० वर्षभन्दा माथिको उमेरका जोकोहीले पहिलो मात्रा पाउनु सबैभन्दा महत्त्वपूर्ण भएको बताएका थिए।
“दोस्रो डोज लगाएको २८ दिनपछि जाँच गर्दा ८–१२, १५–२५ र ४४–४६ हप्ताको औसत आईजीजी (इम्युनोग्लोबुलिन) लेभल क्रमशः ९२३, १८६० र ३७३८ युनिट देखियो,” द हिन्दू ले अक्सफोर्डको अध्ययनमा आधारित भएर लेखेको छ, “क्लिनिकल परीक्षणको १/२ र २/३ तहका खोप स्वयंसेवकहरूलाई यो अध्ययनमा समावेश गरिएको थियो।”
अस्ट्राजेनेकाकै विधि प्रयोग गरेर भारतमा बनाइएको कोभिशिल्ड खोप त्यहाँ व्यापक मात्रामा वितरण गरिएको छ। हालसम्म वितरण गरिएका कुल ३२ करोड डोजमध्ये ८८ प्रतिशत कोभिशिल्ड खोप छ। शुरूमा ४–६ हप्ताभित्र दोस्रो मात्रा दिइएको थियो भने खोप अभाव भएपछि ८–१२ हप्ताभित्र दिन थालिएको छ।
द हिन्दू को समाचार अनुसार, भारतीय स्वास्थ्यविज्ञले दुई डोजको अन्तराल १२–१६ हप्ता हुनु उचित रहेको बताउने गरेका छन्। विश्व स्वास्थ्य संगठनले चाहिँ कोभिशिल्ड खोप ८ देखि १२ हप्ताको अन्तरमा लगाए प्रभावकारी हुने बताएको छ। त्यसो हुँदा फागुन २३ देखि खोप अभियानमा सहभागी भएका ज्येष्ठ नागरिकले जेठ तेस्रो हप्तासम्म दोस्रो मात्रा खोप लगाइसक्नुपर्थ्यो।
यद्यपि, अक्सफोर्डको पछिल्लो अध्ययनले के देखाएको छ भने, छोटोे अन्तरालमा लगाइएको खोपभन्दा लामो अन्तरालमा लगाइएको खोपले अझै राम्रो प्रतिक्रिया दिन्छ। वा, दुई मात्राबीचको अन्तर लामो हुनु थप प्रभावकारी हुन्छ।
यस अध्ययनबारे जारी गरिएको वक्तव्यमा प्रा. पोलार्डले भनेका छन्, “खोप आपूर्ति कम भएर आफ्ना नागरिकका लागि दोस्रो मात्रा प्रदान गर्न ढिलाइ भएपछि चिन्तित बनेका देशहरूका लागि यो समाचारले आश्वासन दिनसक्छ। पहिलो मात्रा लगाएको १० महीनापछि दोस्रो मात्रा लगाउँदा समेत त्यसले उत्कृष्ट नतीजा दिने देखिएको छ।”