‘होमो लङ्गी’ : कस्तो छ नयाँ मानव प्रजातिको खप्परको कथा?
उत्तर-पूर्वी चीनको हर्बिनमा सन् १९३३ मा फेला परेको प्राचीन खप्पर नयाँ प्रजातिको मानवको हुनसक्ने वैज्ञानिकहरूले हालै सार्वजनिक गरेपछि मानव विकासको कथामा यसलाई महत्त्वपूर्ण अध्याय मानिएको छ।
चीन र जापानबीच व्यापार, सांस्कृतिक सम्बन्ध, मित्रता र संघर्षको सयौं वर्षको लामो इतिहास छ। पहिलो विश्वयुद्धपछि सन् १९३१ ताका जापानले चीनमाथि आक्रमण गरी केही भूभाग कब्जा गर्यो। सन् १९३३ मा चीनको उत्तर–पूर्वमा रहेको हर्बिनस्थित सङह्वा नदीमा पुल बनाउने क्रममा खन्दा चिनियाँ श्रमिकले एउटा मानव खप्परको जीवाश्म भेटे।
त्यसको ५/६ वर्षअघि चीनमा फेरि यस्तै अर्को जीवाश्म भेटियो। ‘पेकिङ म्यान’ भनेर संसारभर चर्चा पाएको त्यो जीवाश्म मानवको पूर्वज होमो इरेक्टसको थियो। सङह्वा नदीमा जीवाश्म भेट्ने श्रमिकले सम्भवतः ‘पेकिङ म्यान’ को चर्चा सुनेका थिए। त्यसैले त्यो जीवाश्म जापानीले लैजान्छन् भनेर लुकाए।
तर, त्यो यसरी लुकाइयो, ८५ वर्षसम्म पनि त्यो प्राचीन खप्पर जीवाश्म वैज्ञानिकहरूसम्म पुग्न सकेन। लुकाउने को थियो र तिनको कहिले मृत्यु भयो भन्ने अझै थाहा हुन सकेको छैन। सन् २०१८ मा त्यो खप्पर कसैले एक संग्रहालयमा हस्तान्तरण गर्यो। र, त्यसको अध्ययन शुरू भयो। अन्ततः खप्पर फेला परेको ८८ वर्षपछि त्यो नयाँ मानव प्रजातिको हो भन्ने पत्ता लागेको छ।
२५ जुन २०२१ मा दी इन्नोभेसन जर्नलमा प्रकाशित चियाङ जी र अरूहरू लिखित ‘लेट मिडल प्लाइस्टसिन हर्बिन क्रेनियम रिप्रेजेन्ट्स अ न्यू होमो स्पेसिस्’ शीर्षकको लेख अनुसार, चीनका प्यालिओएन्थ्रोपोलोजी (जीवाश्म विज्ञान) सम्बद्ध वैज्ञानिकहरूले यसको नाम ‘होमो लङ्गी’ राखेका छन्। सोही दिन यो अध्ययनसँग सम्बन्धित अन्य दुई वटा अनुसन्धान लेख बेग्लाबेग्लै जर्नलमा प्रकाशित भए।
हर्बिन क्षेत्र अहिले चीनको हेलोङच्याङ प्रान्त अन्तर्गत छ। स्थानीय भाषामा लामो नदीलाई ‘लङ च्याङ’ भनिँदो रहेछ। जसको अर्थ ड्रागन रिभर अर्थात् अजिंगर जस्तो लामो भन्ने लाग्दो रहेछ। अनुसन्धाताहरूले ‘लङ च्याङ’ को लङ शब्द प्रयोग गरेर उल्लिखित जीवाश्मको वैज्ञानिक नामकरण होमो लङ्गी गरेका हुन्। यस्तै, ड्रागन नदीमा फेला परेकाले यसलाई ‘ड्रागन म्यान’ उपनाम दिइएको छ।
उक्त प्राचीन खप्पर करीब एक लाख ४६ हजार वर्ष पुरानो भएको ठहर छ। यो तथ्यले यो मानव प्रजाति चीन अर्थात् पूर्वी एसियामा त्यसवेला जीवित रहेको बताउँछ।
होमो लङ्गीको बनावट
आधुनिक मानव अर्थात् होमो सेपियन्सको खप्परको आकार १,३०० देखि १,४०० क्युबिक सेन्टिमिटर र तौल १,३०० देखि १,४०० ग्रामसम्म हुन्छ। होमो लङ्गीको खप्पर भने २३ सेन्टिमिटर लामो र १५ सेन्टिमिटरभन्दा केही बढी चौडा छ। यो भनेको सेपियन्सको खप्परको आकारभन्दा केही ठूलो (१,४२० क्युबिक सेन्टिमिटर) हो। यस्तै, होमो लङ्गीको आँखीभौं माथिको हाड केही उठेको छ। आँखा रहने हाड गोलाकार र केही ठूलो देखिन्छ।
लङ्गीको खप्पर सग्लो छ। यति सग्लो पूर्व मानव खप्पर अन्य मानव प्रजातिको पाइएको छैन। अनुसन्धाताले उक्त खप्पर करीब ५० वर्षको पुरुषको भएको दाबी गरेका छन्। चुआङ चाओले खप्परको आधारमा विभिन्न विधि प्रयोग गरी त्यसको शरीरकै सग्लो तस्वीर बनाएका छन्। खप्पर ठूलो भएकाले हात–खुट्टा पनि बलिष्ठ नै देखाइएको छ। अनुहार निकै चौडा छ। नाक ठूलो र मोटो छ।
अन्वेषकहरूले खप्परको हाडको आधारमा यसको उचाइ कति थियो होला भन्न कठिन हुने बताएका छन्। यसको उचाइ औसत होमो सेपियन्सको भन्दा केही अग्लो हुनुपर्छ। यसको शरीरको छाला र रौं हल्का कालो वा हल्का उज्यालो थियो भन्ने अनुमान गरिएको छ।
लङ्गी जंगल रहेको समथर भूभागमा थोरै संख्यामा बस्थे भन्ने अनुमान गरिएको छ। यिनीहरूले स्तनधारी जनावर, पक्षी, जंगली फल तथा वनस्पतिका मुन्टा तथा पात खाएर गुजारा गर्थे। चाइनिज एकेडेमी अफ साइन्सका प्रिम्याटोलोजी तथा प्यालिओएन्थ्रोपोलोजीका प्राध्यापक सीजुन नीका अनुसार, लङ्गीले माछा पनि शिकार गरेर खान्थे।
यसले विभिन्न किसिमको वातावरणमा बाँच्नसक्ने क्षमता आर्जन गरेको थियो। अनुसन्धाता नीले होमो लङ्गी र होमो सेपियन्सबीच भेट भएको हुनसक्ने पनि अनुमान गरेका छन्। होमो लङ्गी कहिले लोप भयो भन्ने चाहिँ थाहा हुन सकेको छैन।
सेपियन्स र लङ्गी
अफ्रिकामा करीब १९ लाख वर्षअघि मानव पूर्वज ‘होमो इरेक्टस’को उद्विकास भयो। त्यो प्रजाति अफ्रिकाबाट यूरोप, एसियाका विभिन्न क्षेत्रमा फैलियो। यसैबाट करीब सात लाख वर्षयता विशेषतः यूरोप र एसियामा आधा दर्जनभन्दा बढी मानव प्रजाति उद्विकास भए। तीमध्ये धेरैको बृहत् अध्ययन हुन पर्याप्त जीवाश्म फेलापरेको छैन।
होमो लङ्गी पत्ता लाग्नुअघिसम्म होमो इरेक्टसबाट नियान्डरथल (होमो नियान्डरथलेन्सेस) र होमो सेपियन्स (होमो हाइडलबर्गेन्सेस) लगभग सँगै उद्विकास भएको मान्यता थियो। नियान्डरथल र सेपियन्सका सबैभन्दा पुरानो जीवाश्म क्रमशः ४ लाख ३० हजार र ३ लाख १५ हजार वर्ष पुरानो फेला परेका छन्। यसले पनि नियान्डरथलपछि सेपियन्स उद्विकास भएको संकेत गर्छ। यसैले नियान्डरथललाई सेपियन्सको सबैभन्दा नजिकको पुर्खा मानिन्थ्यो।
यूरोपमा ४० हजार वर्षअघिसम्म नियान्डरथल अस्तित्वमा थिए। यसको पुरुष र महिलाको औसत उचाइ क्रमशः ५ फिट ५ इन्च र ५ फिट १ इन्च तथा तौल ६५ केजी र ५४ केजी हुन्थ्यो भन्ने अनुमान गरिएको छ। नियान्डरथल समूहमा बस्थ्यो। ऊ डोरी बनाउन सिपालु थियो र शिकार गर्ने क्रममा ढुंगा/काठका हतियार चलाउँथ्यो। शव गाड्थ्यो।
नियान्डरथलको स्वरूप सेपियन्ससँग धेरै मिल्छ। उसको सेपियन्ससँग यौन संसर्ग हुन्थ्यो। यसैकारण, यूरोप तथा एसियाका मानिसमा नियान्डरथलको जीन पाइन्छ।
चीनमा होमो लङ्गी पत्ता लागेपछि सेपियन्सको सम्बन्ध नियान्डरथल भन्दा लङ्गीसँग नजिक भएको विचार अगाडि सारिएको छ। अर्थात्, जुन पूर्वजबाट नियान्डरथल उद्विकास भयो, त्यसैबाट लङ्गीको उद्विकास भयो। त्यसपछि सम्भवतः सेपियन्स उद्विकास भएको हो। प्यालिओएन्थ्रोपोलोजिस्टले सेपियन्सको सबैभन्दा नजिकको सम्बन्ध लङ्गीसँग हुनुपर्छ भनेका छन्। तर, लङ्गीको थप जीवाश्म फेला नपरेकाले यो सेपियन्सको के कति नजिक भनेर स्पष्ट किटान हुने अवस्था छैन।
कतिपय जीवाश्म वैज्ञानिकहरूले भने लङ्गी नयाँ मानव प्रजाति होइन कि भन्ने आशंका पनि गरेका छन्। तिनले यसलाई सन् २००८ मा चीनको उत्तर–पश्चिम साइबेरियास्थित डेनिसोवा भनिने गुफामा भेटिएको मानव प्रजातिकै हुनसक्ने बताएका छन्। डेनिसोवा गुफामा भेटिएकाले त्यो मानव प्रजातिको नाम सन् २०१० मा होमो डेनिसोवन्स राखिएको थियो। यसको जीवाश्म साइबेरियाबाहेक सन् २०१९ मा तिब्बतमा करीब एक लाख ६० हजार वर्ष पुरानो भेटिएको ‘अ लेट मिडल प्लाइस्टसिन डेनिसोवन म्यान्डिबल फ्रम द टिबेटन प्लाटो’ (सन् २०१९) शीर्षकको अनुसन्धानमूलक लेखमा उल्लेख छ।
प्यालिओएन्थ्रोपोलोजिस्टले डेनिसोवन्स साइबेरियादेखि तिब्बतको उच्च भूभागमा बसेका कारण यो प्रजातिमा चिसो ठाउँमा रहनसक्ने जीन विकास भएको हुनुपर्छ भनेका छन्। उसो त डेनिसोवन्सको डीएनए (आनुवंशिक गुण) सेपियन्सको भन्दा नियान्डरथलसँग अलि बढी मिल्छ। यसको यौन संसर्ग पनि नियान्डरथलसँग बढी हुन्थ्यो। नियान्डरथलमा डेनिसोवन्सको करीब १७ प्रतिशत जीन पाइएको एक जानकारी प्रकाशन भएको छ।
डेनिसोवन्सको जीन सेपियन्समा पनि भेटिएको छ। पछिल्ला अनुसन्धानबाट डेनिसोवन्सको जीन तिब्बती र नेपालका शेर्पा समुदायमा पाइने पत्तो लागेको छ। तिनै जीनका कारण तिब्बती र शेर्पाहरू उच्च भूगोलमा सजिलै बस्न सक्छन्। हिमाल चढ्नसक्ने शेर्पा समुदायको गुण पनि यसैसँग जोडिएको बताइन्छ। पपुवा न्युगिनियन, इन्डोनेसियन, मलेसियन र अस्ट्रेलियन एबओरिजिनलहरूका डीएनएमा होमो डेनिसोवन्सको ५ प्रतिशतसम्म जीन पाइएका छन्।
डेनिसोवन्स करीब १४ हजार ५०० वर्षअघिसम्म साइबेरिया, चीन र दक्षिण–पूर्व एसियामा अस्तित्वमा थिए।
लङ्गी र मंगोलियन समुदाय
नेपालमा रहेका जातजातिमध्ये खस समुदाय पश्चिम–उत्तरबाट आएका हुन्। आर्य तथा तराई मूलका समुदाय दक्षिणबाट नेपाल प्रवेश गरे। पूर्व र उत्तरबाट पहाडी मूलका जनजाति आए। यी जनजाति तिब्बत र दक्षिण–पूर्व चीनबाट आएका हुन्। भोटे, शेर्पा, गुरुङ, तामाङ, मगर आदिलाई उत्तरबाट आएका मानिन्छ। केही भोटे समुदायको नेपाल प्रवेश त चीनमा माओत्से तुङको अगुवाइमा भएको क्रान्तिपछि भएको हो।
मगरमा विशेषतः खाम मगर उत्तर वा तिब्बतबाट आएका हुनुपर्छ। खाम समुदायले तिब्बती संस्कार मान्छ। तिब्बतमा खाम भन्ने एक प्रान्त नै छ। उल्लिखित समुदाय केही हजार वर्षअघि हिमाली भेकका खोंचबाट दक्षिणतर्फ प्रवेश गरेको हो।
लिम्बूहरू तिब्बतबाट दक्षिण प्रवेश गरेको जानकारी लिम्बूका वंशावलीहरूमा पनि भेटिन्छ। वंशावलीहरूमा उनीहरू ३०/४० पुस्ताअघि उत्तरबाट आएको उल्लेख छ। तर, हिमाली क्षेत्र भएका कारण तिब्बतबाट दक्षिणतर्फ लाग्नु सजिलो भने थिएन। हिमालय पार गरेर आउन हिजोआज त मुश्किल छ भने उसवेला झन् सकस हुन्थ्यो होला।
हिमालय शृंखलासँगै हुम्ला जिल्लाको उत्तरतर्फ रहेको कैलाश पर्वतको आसपासबाट सांगपो नदी उद्विकास भएको छ। त्यो नदी हिमालय शृंखलासँगै करीब समानान्तर रूपमा पूर्वतर्फ बगेको छ। त्यो नदीका कारण जीवजन्तु उत्तरबाट दक्षिण पस्न सक्दैनथे। त्यो नदी उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशको उत्तरतिरबाट दक्षिण मोडिन्छ र भारत प्रवेशपछि ब्रह्मपुत्र नामले चिनिन्छ। जीवाश्म विज्ञान सम्बन्धी पुस्तक तथा लेखहरूमा त्यो नदी उत्तरतर्फका जीवजन्तु किनारै किनार अरुणाचल प्रदेशमा पुगेपछि भने नदी पार गरी आसाम, भुटान हुँदै नेपाल आइपुगेका जानकारी पढ्न पाइन्छ।
सेपियन्स पनि सांगपो नदी किनारैकिनार अरुणाचलमा प्रवेश गरेपछि आसाम, भुटान हुँदै हालको नेपालको भूगोलमा प्रवेश गरेको हुनुपर्छ। यसरी तिब्बत तथा चीनका सेपियन्स उत्तर र पूर्वबाट यहाँ आइपुगेका हुन्। तर, कहिले आइपुगे भन्ने वैज्ञानिक प्रमाण चाहिँ फेलापरेको छैन। एकैचोटि प्रवेश गरेका होइनन् भन्नेमा चाहिँ दुईमत छैन।
तिब्बत तथा चीनका बासिन्दामा होमो लङ्गीको जीन अवश्य हुनुपर्छ। मंगोलियन मूलका समुदाय उतैबाट आएका हुनाले तिनको शरीरमा लङ्गीको जीन हुनसक्छ। जीवाश्म वैज्ञानिकले सेपियन्स र लङ्गीको जम्काभेट हुन्थ्यो होला भनेर भनिसकेकै छन्।
मंगोलियन समुदाय हृष्टपुष्ट नै छन्। कतिपयको नाकको स्वरूप पनि होमो लङ्गीसँग मिल्दोजुल्दो देखिन्छ। यद्यपि आँखाको डाँडी त्यति उँचो पाइन्न। जे भए पनि चीनमा डेनिसोवन्स र लङ्गी पत्तो लाग्यो। हामीकहाँ मंगोलियन मूलका समुदायमा के कति डेनिसोवन्स र लङ्गीको जीन छ भनेर अब अध्ययनकै विषय बनेको छ।