अझै घटेन संक्रमणदर, १० हजार स्वाब परीक्षण गर्दा २३ सयमा कोरोना
कोभिड-१९ को संक्रमणदर घट्न सकेको छैन। आज पनि दुई हजार ३२८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १० हजार १३३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३२८ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये पाँच हजार ८३७ को पीसीआर परीक्षण गर्दा एक हजार ५२७ जनामा र चार हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८०१ जनामा संक्रमण देखिएको हो।
केही दिनदेखि निषेधाज्ञा खुकुलो बनाउन थालिएको भए पनि संक्रमण घट्न सकेको छैन। स्वास्थ्य मन्त्रलयका अनुसार, संक्रमण १९.१ प्रतिशत रहेको छ। जब कि ५ प्रतिशतभन्दा बढी संक्रमणदर हुँदा उच्च जोखिमकै रूपमा लिइन्छ।
आज कोरोनाबाट १९ जनाको मृत्यु भएको छ। शुक्रबार ३४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार १९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना निको भएका छन्। शुक्रबार तीन हजार ४५१ जना निको भएका थिए।