एकै होइन वैकुण्ठवास, आरआईपी र सुखवती भुवन
मान्छेको मृत्युपछि बौद्ध समाजमा प्रयोग हुने ‘सुखावती भुवन,’ हिन्दू समाजमा प्रयोग हुने ‘वैकुण्ठवास’, स्वर्गवास वा श्रद्धाञ्जली’ र इसाई समाजमा प्रयोग हुने ‘रेस्ट इन पीस (आरआईपी)’को अर्थ भने भिन्नै हुन्छ।
चिनजान वा अन्जान व्यक्तिको मृत्युमा ‘सुखावती भुवनमा वास होस्’ भनेर कामना गर्ने प्रचलन विशेषतः महायानी बौद्ध सम्प्रदायमा पाइन्छ। जापानमा प्रचलित ‘पियरल्यान्ड बुद्धिज्म’ बौद्ध उपसम्प्रदाय यही ‘सुखावती भुवन’ सँग सम्बन्धित छ।
आजभोलि कसैको मृत्युमा कोही ‘श्रद्धाञ्जली’ मात्र त कोही ‘स्वर्गवास होस्’ वा ‘वैकुण्ठवास होस्’ भन्ने गर्छन्। कोही ‘रेस्ट इन पीस’को संक्षिप्त रूप ‘आरआईपी’ लेख्छन्। यी सबैको पर्यायवाचीका रूपमा ‘सुखावती भुवनमा वास होस्’ भन्ने वाक्य वा बुझाइ तात्त्विक अर्थमा मिल्दैन। यो गलत बुझाइ हो।
कोही बौद्ध धर्मावलम्बी हुँदैमा ‘सुखावती भुवन’ बारे थाहा हुन्छ भन्ने छैन। अनेकौं सम्प्रदायमध्ये यो अवधारणा महायानी बौद्धमतको मात्रै हो। पञ्चध्यानीमध्ये एक अमिताभ बुद्धसँग ‘सुखावती भुवन’ सम्बन्धित छ। यस सन्दर्भको चर्चाले बौद्ध धर्म–दर्शनको एउटा पक्षबारे बुझ्न मद्दत गर्छ।
के हो सुखावती भुवन?
बौद्ध धर्म–दर्शनको क्षेत्रमा श्रावकयानी बौद्धहरू मानवबुद्धलाई मात्र मान्छन्। यस अनुसार गौतम बुद्ध (ई.पू. ५६३–४८३), त्यसअघिका अतीत बुद्धहरू र भविष्यका बुद्धहरू पर्छन्। श्रावकयान अन्तर्गत थुप्रै सम्प्रदाय भए पनि अहिले यसको अस्तित्व थेरवादी बौद्धहरूले धानिरहेको पाइन्छ।
यसबाहेक अन्य बुद्धहरूको अवधारणा ल्याउने काम महायानी सम्प्रदायबाट भएको हो। पञ्चबुद्ध वा ध्यानीबुद्ध भनेर वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि त्यही अवधारणा हुन्। पञ्चबुद्धमै पनि प्रत्येकले बेग्लाबेग्लै पक्षको प्रतिनिधित्व गर्छन्। यस अनुसार व्यक्ति वा समुदायको स्वेच्छाले बुद्धविशेषलाई प्राधान्य दिएर व्यवहार गर्ने गरेको पनि पाइन्छ।
पञ्चबुद्धका पाँचै बुद्धसँग सम्बन्धित भनेर बेग्लाबेग्लै बुद्ध क्षेत्रको अवधारणा पनि पाइन्छ। अमिताभ बुद्धको बुद्धक्षेत्र ‘सुखावती भुवन’ भए जस्तै अमोघसिद्धि बुद्धको अमोघवती, अक्षोभ्य बुद्धको अकनिष्ठ, रत्नसम्भव बुद्धको रत्नावती र वैरोचन बुद्धको अभिरति नामका भिन्नाभिन्नै बुद्धक्षेत्र हुन्।
जापानमा अमिताभ बुद्धलाई ‘अमिदा बुत्सु’ भनिन्छ र ‘पियरल्यान्ड बुद्धिज्म’ (सम्प्रदाय)ले यही ‘सुखावती भुवन’मा अगाध आस्था राख्छ। यस सम्प्रदायका आफ्नै निर्दिष्ट महायानी ग्रन्थहरू छन्। लामा-लामा सूत्र पाठ गर्न नभ्याउने वा नसक्ने अवस्थामा छोटो मात्रै वा त्यो पनि नभ्याउने अवस्थामा ‘अमिदा’ नाम मात्रै जप्दा पनि मृत्युपछि सुखावती भुवनमा वास हुन्छ भन्ने विश्वास यो सम्प्रदायमा पाइन्छ।
मर्ने वेलामा मान्छेको चित्तले के सोचिरहेको हुन्छ, त्यही अनुसार मृत्युपछिको गति निर्धारण हुनसक्छ भन्ने अवधारणा अनुरूप ‘अमिदा’ मात्रै जप्दा पनि पुग्छ भन्ने मान्यता बनेको छ। जापानी बाहेक नेपाली लगायत अन्य समाजमा पनि यो अवधारणामा विश्वास गरिन्छ।
सुखावती भुवन स्वर्ग हो भन्ने भ्रम पनि पाइन्छ। बौद्ध धर्ममा विभिन्न लोकहरूको अवधारणा पाइन्छ, तर सुखावती कुनै लोक नभएर बुद्धक्षेत्र हो। बुद्धक्षेत्रले विशिष्ट अर्थ राख्छ।
बौद्ध धर्म–दर्शनमा स्वर्ग र नर्कको पनि मान्यता पाइन्छ। स्वर्ग वा नर्कको प्राप्ति प्राणीको पुण्य सञ्चयको आधारमा निश्चित हुन्छ। असल कर्मको सम्पादनबाट पुण्य सञ्चय हुने र यसको बलले देवलोक प्राप्त गर्नेहरू स्वयं देवता हुन्छन् भनिन्छ। यसरी नै अपुण्यका कारण प्रेत, असुर आदि लोक प्राप्ति हुन्छ।
बौद्ध धर्म–दर्शनमा स्वर्ग र नर्कको पनि मान्यता पाइन्छ। स्वर्ग वा नर्कको प्राप्ति प्राणीको पुण्य सञ्चयका आधारमा निश्चित हुन्छ। असल कर्मको सम्पादनबाट पुण्य सञ्चय हुने र यसको बलले देवलोक प्राप्त गर्नेहरू स्वयं देवता हुन्छन् भनिन्छ। यसरी नै अपुण्यका कारण प्रेत, असुर आदि लोक प्राप्ति हुन्छ।
जेजस्तो लोक प्राप्त भए पनि ती स्थायी हुँदैनन्। प्रेत तथा असुर लगायतका दुगर्तिमा थप पुण्य सञ्चय गर्ने अवसर त हुँदै हुँदैन, देवलोक भनिएको ठाउँमा पनि पुण्य सञ्चयको सम्भावना हुँदैन। बरु पहिल्यै सञ्चित पुण्य समयक्रममा क्षय हुँदै जान्छ र देवताहरू त्यहाँबाट स्वतः च्युत हुन पुग्छन् भन्ने गरिन्छ।
महायानी बौद्धमतले देवता बन्नु पनि पुनः भवसागरमा नै फसिरहेको मान्छ। थेरवादी मतमा केही पुण्यको बलले देवलोक पाउने हो र त्यसमा पनि विशिष्टता हासिल गर्नसक्यो भने बल्ल विपश्यना ध्यान गर्ने अवसर पाइन्छ भनिन्छ। यसरी विभिन्न लोकहरू प्राप्ति र पतनको शृंखलालाई नै सार रूपमा बुद्धले दुःख भनेका हुन्।
बौद्ध दर्शनको ध्येय दुःखबाट मुक्ति हो। यस अर्थमा स्वर्ग प्राप्ति दुःखबाट मुक्ति होइन, बरु निरन्तरता मात्रै भएकाले बौद्ध समाजमा स्वर्ग प्राप्तिको कामना गरिँदैन। त्यसैले सुखावती भुवन भनेको स्वर्ग होइन भन्ने स्पष्ट हुन्छ।
सुखावती भुवनमा सुख पाइन्छ। यो सर्वसाधारणका लागि पनि उपलब्ध हुनसक्ने बुद्धक्षेत्र हो। अन्य बुद्धक्षेत्र अत्यन्तै कठिन अवस्थामा उच्चस्तरका योगीले मात्रै प्राप्त गर्नसक्छन्। अत्यन्तै करुणा राखेर अमिताभ बुद्धले आफ्नो बुद्धक्षेत्र सर्वसाधारणको पहुँचमा राखेको मानिन्छ। सुखावती भुवनमा सुख पाइन्छ भन्नुको तात्पर्य यहाँ अमिताभ बुद्धबाट धर्म श्रवण गरेर धर्मलाभी हुने अवसर पाइनु हो।
विभिन्न लोकहरू प्राप्ति र पतनको शृंखलालाई नै सार रूपमा बुद्धले दुःख भनेका हुन्।बौद्ध दर्शनको ध्येय दुःखबाट मुक्ति हो। यस अर्थमा स्वर्ग प्राप्ति दुःखबाट मुक्ति होइन, बरु निरन्तरता मात्रै भएकाले बौद्ध समाजमा स्वर्ग प्राप्तिको कामना गरिँदैन। त्यसैले सुखावती भुवन भनेको स्वर्ग होइन भन्ने स्पष्ट हुन्छ।
सुखावती भुवनमा वास पाउँदा निर्वाण लाभ सम्भावना प्रबल हुन्छ। र, कथंकदाचित् त्यही समय लाभ नभए पनि चाँडै हुने विश्वास गरिन्छ। बौद्ध धर्ममा सुख भनेको जन्म र मृत्युको चक्रबाट मुक्त हुने निर्वाणको अवस्था हो। यही भएर हितैषीहरूले ‘सुखावती भुवन वास होस्’ भनेर कामना गर्ने हुन्।
कसलाई प्राप्त हुन्छ सुखावती भुवन?
महायानी बौद्ध धर्म–दर्शन अनुसार, सुखावती भुवन जोकसैलाई प्राप्त हुँदैन। अमिताभ बुद्धप्रति जसले अपार श्रद्धा राखेर हिँड्छ, मर्ने वेलामा पनि जसले अमिताभ बुद्धको नाम मात्रै भए पनि जपेर बस्छ, उसलाई यो भुवन प्राप्त हुन्छ भन्ने विश्वास छ।
जसलाई बुद्ध र बौद्ध धर्म–दर्शनमा कुनै श्रद्धा, आस्था वा विश्वास नै छैन, ती तात्त्विक रूपमा बौद्ध होइनन्। उनीहरूलाई सुखावती भुवनसँग सरोकार हुने नै भएन। बुद्ध र बौद्ध धर्म–दर्शनमा श्रद्धा, आस्था र विश्वास राखेर पनि अमिताभ बुद्धमा लगाव छैन वा त्यस अवधारणासँग सहमत छैन भने पनि उसलाई सुखावती भुवनसँग सरोकार हुँदैन।
थेरवादी बौद्धहरू अमिताभ बुद्ध त के, पञ्चबुद्धको अवधारणासँग पनि सरोकार राख्दैनन्। आजभोलि सामाजिक सद्भाव र सहिष्णुताका लागि कुनै टिप्पणी नगर्नु र बौद्ध क्षेत्रमा पुगेको वेला शिष्टाचारका रूपमा टाउको निहुर्याएर सद्भाव व्यक्त गर्नु बेग्लै हो। सबै बुद्धको गुण एउटै हुने मान्यता भएकाले पनि यसमा समस्या भने छैन।
मृतकको नाममा ‘रेस्ट इन पीस’ वा संक्षेपमा ‘आरआईपी’ लेख्नु इसाई मत हो। यो मत अनुसार, मरेका मान्छेलाई स्वर्गमा लैजानका लागि पछि कुनै वेला परमेश्वर पृथ्वीमा आउँछन्, तसर्थ शवलाई बिगार्नु हुँदैन भनेर उनीहरू शवदाह नगरी सुरक्षित राख्न जमीनमा गाड्ने गर्छन्। स्वर्ग जानुअघिसम्म आराम गर्नु भन्ने आशयमा ‘रेस्ट इन पीस’ भनेका हुन्।
मृतकको नाममा ‘रेस्ट इन पीस’ वा संक्षेपमा ‘आरआईपी’ लेख्नु इसाई मत हो। यो मत अनुसार, मरेका मान्छेलाई स्वर्गमा लैजानका लागि पछि कुनै वेला परमेश्वर पृथ्वीमा आउँछन्, तसर्थ उनीहरू शवदाह नगरी सुरक्षित राख्न जमीनमा गाड्ने गर्छन्। स्वर्ग जानुअघिसम्म आराम गर्नु भन्ने आशयमा ‘रेस्ट इन पीस’ भनेका हुन्।
तर, हिन्दू धर्मावलम्बीलाई यो अवधारणा मान्य हुँदैन। किनकि, मृत्यु भएको व्यक्ति केही दिनपछि पितृ बन्ने र यसका लागि आवश्यक कर्मकाण्ड यथाशक्य चाँडो सम्पन्न गर्नुपर्नेमा हिन्दू धर्मावलम्बीको विश्वास हुन्छ। हिन्दू धर्मावलम्बीले स्वर्ग वा वैकुण्ठवासको कामना गर्नु स्वाभाविक हो। मृतकप्रति व्यक्त गरिने यी श्रद्धासुमनले धर्म–दर्शन वा विश्वास व्यक्त गरिरहने भएका कारण यस सम्बन्धमा सम्बन्धित पक्ष नै संवेदनशील र सचेत हुनु नितान्त जरुरी छ।
बौद्धहरूको प्राथमिकता स्वर्ग नभए पनि मृत्युपछि दुर्गतिमा पर्नुभन्दा स्वर्गमा जानु उत्तम मान्छन्। बौद्धहरूले कामना गर्ने जन्म र मृत्युको चक्रबाट मुक्त भएको अवस्था निर्वाण हो। निर्वाणतर्फ डोर्याउने सबै सुगति नै भएकाले कसैको मृत्युको वेला निर्वाण, सुगति र सुखावती भुवनको कामना गरिन्छ।
मनुष्यलोकमा नै जन्म लिन पाउनु पनि सुगति नै हो। निर्वाण प्राप्तिको सन्दर्भमा अन्य सुगतिभन्दा सुखावती भुवन उत्तम मान्नेहरूले ‘सुखावती भुवन’को कामना गर्दै आएका हुन्।
अन्त्यमा, सुखावती भुवन निश्चित धर्म र दर्शनसँग सम्बन्धित विषय हो। बुझ्दै नबुझी त्यस्तो कामना गर्नु, अझ आफूलाई भौतिकवादीका रूपमा चिनाउने व्यक्तिले सुखावती भुवनको कुरा गर्नु अर्थहीन हुन्छ। आफ्नो धर्म–दर्शन वा परम्पराले अरू नै अवलम्बन गर्दै आएको भए त्यस्तो कृत्यले आफ्नै धरातल वा आस्थाको सोझै अनादर हुन्छ।
श्रद्धाञ्जलीको अर्थ बेग्लै लाग्छ भने स्वर्गवास वा वैकुण्ठवासको अर्थ बेग्लै। ‘रेस्ट इन पीस’ र सुखावती भुवनको कामना पनि बेग्लै हुन्छ। बौद्ध सन्दर्भमा सुगतिको कामना होस् वा सुखावती भुवनको, दुवैले अन्ततः बुझाउने त निर्वाणको कामना नै हो।