जर्मन फूटबलर टोनी क्रुसले लिए सन्न्यास
जर्मन फूटबलर टोनी क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका छन्।
जर्मनी यूरो कपबाट बाहिरिएपछि क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका हुन्। उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन्।
इंग्ल्यान्डसँग पराजित हुँदै जर्मनी प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ। आजबाट यूरो कपमा क्वार्टरफाइनलका खेलहरू हुन लागेका छन्।
सन् २०१४ को विश्वकप विजेता टोलीका सदस्य क्रुसले जर्मनीका लागि १०६ खेल खेलका छन्। रियल मेड्रिडका ३१ वर्षीय स्टार खेलाडी क्रुसले सन् २०१० मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
उनले यूरो कपको पराजयसँगै अन्तर्राष्ट्रिय फूटबलबाट बिदा लिएको जनाएका छन्। अब उनी सन् २०२२ मा कतारमा हुने विश्वकप नखेल्ने भएका छन्।
अब रियल मेड्रिडमै केन्द्रित हुनका लागि अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएको उनले जनाएका छन्। यससँगै श्रीमती र तीन सन्तानलाई समय दिने क्रुसको भनाइ छ।
अहिलेसम्म गरेको समर्थनका लागि उनले आफ्ना समर्थक र शुभेच्छुकलाई धन्यवाद दिएका छन्।
यससँगै उनले आफ्ना प्रशिक्षक जोआकिम लोलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। उनले नै आफूलाई राष्ट्रिय खेलाडी र विश्वकप विजेता टोलीको सदस्य बनाएको जनाएका छन्।
जर्मनी यूरो कपबाट बाहिरिएपछि प्रशिक्षक लोले पनि राजीनामा दिएका छन्। उनी १५ वर्ष जर्मन टोलीको प्रशिक्षक रहेका थिए।