मनकामनाको आइपीओका लागि दुई दिनमै १० लाखले दिए आवेदन
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन्।
आज दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो। क्यापिटलका अनुसार, उक्त आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ। जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो।
संस्थाले सर्वसाधारणका लागि तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गर्न लागेको हो। बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपीओमा २५ असारसम्म आवेदन दिन सकिनेछ।
रू. तीन करोड ८९ लाख बराबरको आइपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए। उनका अनुसार, प्रतिकित्ता रू.१०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ।
यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
इच्छुक शेयर लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डले संस्थालाई गत ६ असारमा शेयर जारी गर्न स्वीकृति दिएको थियो।
शेयर निष्कासन गर्न इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ।
रेटिङको अवधि जारी मितिबाट एक वर्षसम्म हुनेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप मार्फत समेत आइपीओमा आवेदन दिन सक्नेछन्।