महामारीका कारण पेशा परिवर्तन गर्दै 'टुरिस्ट गाइड', सरकारले नहेरेकाे गुनासो
कोभिड-१९ महामारीका कारण लामो समयदेखि बेरोजगार टुरिस्ट गाइडमध्ये धेरै पेशा परिवर्तन गर्न बाध्य भइरहेका छन्।
शंखर भट्टराईलाई लाग्थ्यो योग्यता, हातमा सीप र क्षमता भए कहिल्यै हन्डर खानुपर्दैन, बेरोजगार बस्नुपर्दैन र परनिर्भर हुनुपर्दैन। भट्टराईको यो सोच डेढ वर्षदेखि गलत साबित भएको छ। अंग्रेजी विषयमा स्नातकोत्तर गरेका र कामको ११ वर्षे अनुभव भएका उनी अहिले बेरोजगार छन्।
भट्टराईको काम विदेशी पर्यटकलाई अघि–पछि लगाएर देश देशावर गर्नु हो। नेपाल नबुझेका विदेशीलाई मुलुक बुझाउनु, देश घुमाउनु, यहाँको समाज, संस्कृतिको जानकारी गराउनु भट्टराईको काम हो। अर्थात् उनी ‘टुरिस्ट गाइड’ (पर्यटक पथप्रदर्शक) हुन्। डेढ वर्षअघिसम्म कामको सिलसिलामा देशका कुनाकन्दरा पुग्दा भट्टराईलाई घरपरिवारलाई दिने समयसम्म मिल्दैनथ्यो। कामको दुःख थिएन, परिवार राम्रैसँग चलाएका थिए।
तर, अहिले उनको दैनिकी बदलिएको छ। महामारीका रूपमा संसारभर फैलिएको कोरानाभाइरसले भट्टराईलाई काठमाडाैं बाैद्धस्थित कोठामा थुनेको छ। आम्दानी ठप्प छ। ऋणको भारीले थिच्न थालेको छ।
पर्यटन क्षेत्रका लागि सरकारले दिएको सहुलियत केही व्यवसायीमा पुग्यो, तर कामदारले पाएनन्।
११ वर्षको अवधिमा आफ्नो पेशाको विकल्प भट्टराईले कहिल्यै सोच्नुपरेन। कारण पेशाले खानलाउन, परिवार पाल्न र छोराछोरी पढाउन पुगेकै थियो। निषेधाज्ञा खुकुलो भएसँगै अरू क्षेत्र बिस्तारै चलमलाउन थालेका छन्, तर उनको काम कहिले शुरू हुने कुनै टुङ्गो छैन। पर्यटन क्षेत्रलाई खुला गर्ने विषयमा सरकार पनि मौन छ। उनी भन्छन्, “अरू जस्तै यो क्षेत्र पनि सुरक्षित रूपमा चलाउन सकिन्छ, निश्चित मापदण्ड बनाएर सरकारले चाँडै निर्णय लिए हुन्थ्यो।”
४५ सय युवा बेरोजगार
भट्टराई जस्तै बिलखबन्दमा परेका छन्, चार हजार ५०० भन्दा बढी पथप्रदर्शक। त्यसमध्ये कतिको अवस्था भट्टराईको भन्दा पनि नाजुक छ। घरव्यवहार चलाउन र दैनिक खानलाउनकै समस्या भएपछि केहीमा मानसिक समस्या समेत देखिएको छ। विकल्प खोज्दा पनि नपाएपछि पथप्रदर्शक राम निरौला (नाम परिर्वतन) मानसिक समस्याबाट गुज्रिएका छन्। उनी भट्टराईका सहकर्मी पनि हुन्। लामो समय सँगै काम गरेको सहकर्मीको त्यो अवस्थाले भट्टराईलाई नराम्ररी पिरोलेको छ। “जीवनमा उतारचढाव हुन्छ नै,” उनी भन्छन्, “बेरोजगार भएको वेला परिवार समाजले पनि साथ दिनुपर्छ।” लामो समय कामविहीन भएपछि अर्का पथप्रदर्शक प्रेम प्रसाईं (नाम परिवर्तन) गरगहना बेचेर घरको गुजारा चलाउन थालेका छन्।
लामो समय बेरोजगार हुनुपर्दा धेरै पथप्रदर्शक बिचल्लीमा परेको टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपाल बताउँछन्। “हाम्रो जानकारीमा भएसम्म हालसम्म करीब एकचौथाइले पेशा नै परिवर्तन गरेका छन्,” उनी भन्छन्, “तीमध्ये अधिकांश वैदेशिक रोजगारीमा गएको हाम्रो अनुमान छ।” पेशा नै छोड्न बाध्य भएकाले पर्यटन क्षेत्र पूर्ण सञ्चालनमा आएपछि पथप्रदर्शकको अभाव हुने उनको बुझाइ छ।
छोएन सरकारी कार्यक्रमले
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रका लागि सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा ‘राहत प्याकेज’ ल्याएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटमा पर्यटन क्षेत्रका व्यवसायीदेखि मजदूरसम्मलाई समेटेको थियो। बजेटमा मजदूरका निम्ति ‘वैकल्पिक रोजगार कार्यक्रम’ को व्यवस्था पनि थियो।
रोजगारी गुमाएका पथप्रदर्शकलाई ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा समेटेर नयाँ ट्रेकिङ रुट बनाउन, पुराना रुटको सरसफाइ लगायत क्षेत्रमा रोजगारी दिने भनिएको थियो। तर, त्यो कार्यक्रम पनि पथप्रदर्शकले आएको/गएको पत्तो पाएनन्।
त्यसका साथै युवालाई स्वरोजगार बनाउन सरकारसँग दर्जनभन्दा बढी कार्यक्रम छन्। सहुलियतपूर्ण कर्जा शीर्षकका मात्र थप १० कार्यक्रम छन्। तर, ती कुनैले पनि उनीहरूलाई छुन सकेन। पर्यटन क्षेत्रका लागि सरकारले दिएको सहुलियत केही व्यवसायीमा पुग्यो, तर कामदारले पाएनन्। पथप्रदर्शक भट्टराई भन्छन्, “राहत प्याकेज ठूलालाई हेरर बनाइएको रहेछ, हामीले कसरी पाउनु?”
ऋणको भारी
११ वर्ष कमाएर गरेको बचतले भट्टराईलाई गत वर्षको बन्दाबन्दीमा घर चलाउन जेनतेनले पुग्यो। बन्दाबन्दीपछि अन्य क्षेत्र र शिक्षाक्षेत्र समेत खुल्दा पनि पर्यटनक्षेत्र तंग्रिन पाएन। विदेशीहरू घुमघामका लागि आएनन्। परिणामत: भट्टराई पेशा परिवर्तन गर्न बाध्य भए। उनी गोकर्णेश्वरको एक विद्यालयमा अंग्रेजी अध्यापन गराउन थाले।
तर, कोरोनाको दोस्रो महामारीले उनको नयाँ पेशामा पनि ‘ब्रेक’ लाइदियो। यहीबीचमा उनले केही वर्षअघि देश घुमाएका विदेशीले पनि सहयोग गरे। नेदरल्यान्ड्सका एचएन चेस्टरलान्सले भट्टराईका छोराछोरीको एक वर्षको विद्यालयको शुल्क भुक्तानी गर्ने जिम्मा लिएका छन्। तर पनि, उनलाई दैनिक खर्च चलाउनै ऋण लिनुपर्ने भयो। भट्टराई भन्छन्, “अहिलेको दैनिकी सहकारीको कर्जाले चलिरहेको छ।”
पर्यटन क्षेत्र तत्काल खुला गर्न नसके पनि सरकारले आफूहरूलाई मिल्दोजुल्दो वैकल्पिक पेशा दिए हुन्थ्यो भन्ने यी युवाको माग छ।
भट्टराई, निरौला र प्रसाईं जस्ता हजारौं युवालाई अहिले कामको खाँचो छ। उनीहरूलाई केही कमाइ गर्नु छ र त्यसले परिवारको रोजीरोटी जुराउनु छ। पर्यटन क्षेत्र तत्काल खुला गर्न नसके पनि सरकारले आफूहरूलाई मिल्दोजुल्दो वैकल्पिक पेशा दिए हुन्थ्यो भन्ने यी युवाको माग छ। भट्टराई भन्छन्, “देश घुमेको हुनाले हामीलाई यहाँका समाज, भूगोल, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व थाहा छ, यही अनुसारको काम पाए हुन्थ्यो।”
टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपाल अन्य क्षेत्रलाई हेरे पनि सरकारले पर्यटन क्षेत्रलाई नहेरेको गुनासो गर्छन्। “हजारौं युवा र व्यवसायीको आम्दानी डेढ वर्षदेखि ठप्प छ,” उनी भन्छन्, “पथप्रदर्शकदेखि ठूला व्यवसायीलाई करोडौं ऋणले थिचेको छ।” यसबाट पार पाउन सरकारले वैकिल्पक उपाय नदिँदा पथप्रदर्शकका साथै व्यवसायीसमेत पलायन हुन थालेका उनको भनाइ छ।