क्लबहाउस : के हो? के होइन?
यो एउटा भर्चुअल दुनियाँ हो जहाँ मानिसहरूको संवाद हुने ठाउँलाई ‘रुम’ भनिन्छ र यी रुमहरू प्रायः विभिन्न विषयमा विशेष रुचि भएका मानिसले खोलेको ‘क्लब’ ले सञ्चालन गर्छन्। ती क्लबहरू आ–आफ्ना रुचिका विषयमा बोल्नका लागि खोलिएका हुन्छन्। हरेक रुममा स्पिकर (वक्ता)हरू हुन्छन्। रुममा छिर्नासाथ वक्ताहरू देखिहालिन्छ।
सन् १९९० को दशकमा प्रख्यात बनेको एओएल च्याटरुमबारे तपाईंहरूमध्ये कतिपयलाई राम्रै सम्झना होला। अपरिचितहरूसँग बोलेर, जिस्किएर समय काट्ने मेलो थियो त्यो। दुई दशकपछि उस्तै प्रकृतिको क्लबहाउस अहिले खुब चर्चामा छ।
फरक यति हो कि क्लबहाउस आवाजमा आधारित (यसमा लेख्न पाइँदैन) छ र यो मोबाइलमा मात्रै उपलब्ध छ, डेस्कटप र ट्याबलेटमा छैन। अन्य सामाजिक सञ्जालको पदचाप पछ्याउँदै क्लबहाउसले हाम्रा मोबाइल एपको संग्रहमा ‘सामाजिक अडियो एप’ का रूपमा स्थान बनाएको छ। र, विश्वमै लोकप्रियताको भर्याङ उक्लिरहेको छ।
ड्रप–इन अडियो च्याटका रूपमा आफूलाई चिनाइरहेको क्लबहाउस आवाज आदानप्रदान गरिने एप हो। यसले प्रयोगकर्तालाई निश्चित विषयवस्तुमा छलफल गर्न शुरू गरिएका रुम (कोठा) भित्र प्रवेश गर्न वा निस्किन तथा कुरा राख्न वा सुन्न अवसर दिन्छ। फोनमा बोले झैं गरी यसमा तुरुन्तका तुरुन्तै भोइस–च्याट गरिन्छ।
एपले आफूलाई ‘आवाजमा आधारित एउटा नयाँ सोसल प्रोडक्ट जसले सबैतिरका मानिसहरूलाई बोल्न, आफ्ना कथा सुनाउन, सोचहरू विकास गर्न, साथी सम्बन्ध गहिरो बनाउन र विश्वभरका रोचक मानिसहरूसँग भेट गराउन मद्दत गर्छ’ भनी व्याख्या गरेको छ।
यो एउटा भर्चुअल दुनियाँ हो जहाँ मानिसहरूको संवाद हुने ठाउँलाई ‘रुम’ भनिन्छ र यी रुमहरू प्रायः विभिन्न विषयमा विशेष रुचि भएका मानिसले खोलेको ‘क्लब’ ले सञ्चालन गर्छन्। ती क्लबहरू आ–आफ्ना रुचिका विषयमा बोल्नका लागि खोलिएका हुन्छन्। हरेक रुममा स्पिकर (वक्ता)हरू हुन्छन्। रुममा छिर्नासाथ वक्ताहरू देखिहालिन्छ।
रुमको माथिल्लो खण्ड ‘स्टेज’ मा कम्तीमा एक जना मोडरेटर ( सहजकर्ता) हुन्छन्। उसको काम भनेको सबैलाई स्वागत–सत्कार गर्नु, वक्तालाई म्युट (आवाज बन्द) गर्नु, उसलाई रुमबाट हटाइदिनु, लिस्नर वा अडियन्स (श्रोता)लाई माथि स्पिकरमा तान्नु आदि हो।
क्लबहाउस इन्भाइट–ओन्ली एप हो अर्थात् यसमा कसैले निम्ता दिएपछि मात्रै खाता खोल्न सकिन्छ। खाता खोलिसकेपछि एपले तोकिदिएको सीमित संख्यामा आफूले पनि अरूलाई निम्ता दिन मिल्छ। यही तरिकाले एपले एप्पल र एन्ड्रोइड दुवैमा गरी छोटो समयमै लाखौं प्रयोगकर्ता जुटाइसकेको छ।
केही समयपछि यो एप इन्भाइट–ओन्लीबाट पब्लिकमा जानेछ। फेसबूक पनि आफ्नो शुरूआती दिनमा इन्भाइट–ओन्ली एप थियो, आइभी लिग कलजेका केटाकेटी र तिनका साथीले मात्रै प्रयोग गर्ने बनाइएको थियो।
क्लबहाउसमा भएको ‘लिभ क्वायट्ली’ (चुपचाप बाहिरिन्छु) धेरैको प्रिय विकल्प मानिन्छ किनभने ह्वाट्सएप वा भाइबर ग्रुपमा झैं यसमा आफूले ग्रुप छोड्दा अन्य साथीभाइलाई सूचना जाँदैन। होमपेजलाई हलवे भनिन्छ जहाँ तपाईंका साथीहरू सहभागी भएका सक्रिय रुमहरू देखिन्छन्।
रुमहरूमा प्रवेश गर्न कुनै पासवर्ड वा अनुमतिको आवश्यकता पर्दैन। हालसम्म क्लबहाउस विज्ञापनरहित छ, प्रयोगकर्ताले यसबाट आर्थिकोपार्जन गर्न सक्दैनन्। तर, यो अवस्था बिस्तारै फेरिने देखिन्छ। क्रिटर्सले कन्टेन्टबाट कमाउन सक्नेछन् (धेरै श्रोता जुटाउन सक्ने रुम खोलेर त्यसबाट कमाइ गर्न मिल्ने सुविधा आउला)।
‘एन्टि–फेसबूक’
क्लबहाउसलाई ‘एन्टि–फेसबूक’ को संज्ञा दिन थालिएको छ, जब कि यसमा फोटो, भिडिओ, कमेन्ट, लाइक्स, सेयर जस्ता कुनै पनि गतिविधि हुँदैनन्। चित्ताकर्षक संवाद, प्रष्ट आवाज र श्रोताको राम्रो वक्तृत्व कौशल नै यो एपले चर्चा कमाउने आधार हुन्। तसर्थ, एपले आफ्ना प्रयोगकर्तालाई इमानदार र आफूमा विश्वस्त रहन प्रोत्साहन गर्दै आएको छ।
विशेषतः ताजा घटनामाथि गरिने छलफलले यो एपलाई फाइदा गर्छ। यसमा गरिने कुराकानी रुम बन्द हुनासाथ उड्छ अर्थात् रेकर्ड हुँदैन, संवाद भएको थियो भनेर कुनै प्रमाण बाँकी रहँदैन। एप स्वयम्ले भने कसैले रिपोर्ट गरिहालेमा चाहिएला भनेर केही समयका लागि रेकर्ड राख्छ।
क्लबहाउसमा हुने प्रत्यक्ष संवादले फोनमै गरिएको आत्मीय कुराकानीको झल्को दिन्छ, तर यत्ति हो कि यसमा एकजना विश्वासिलो साथीले मात्रै नभएर दर्जनौं श्रोताले गफगाफ सुनिरहेका हुन्छन्। क्लबहाउस अन्तर्मुखी व्यक्तिलाई सामाजिक हुनका लागि अवसर हो। नयाँ मानिसका अगाडि नर्भस वा सतर्क हुनेहरूका लागि भिडिओ सुविधाको अभावले यो एपलाई अझै सहज बनाएको छ।
महामारी र श्रृंखलाबद्ध बन्दाबन्दीले सिर्जना गरेको खालीपन क्लबहाउसले भरिदिएको छ। यो ऐतिहासिक समयमा मानिसहरू असाध्यै एक्लो र उदास महसूस गरिरहेका थिए। घुलमिल हुन, भोजभतेरमा जान वा नयाँ मान्छेसँग भेट्न रुचाउनेहरूका लागि यो एप उत्तम प्लेटफर्म हो।
इलन मस्क, मार्क जुकरबर्ग, माल्कम ग्ल्याडवेल, ओप्रा विन्फ्रे, टिफानी ह्याडिस (क्लबहाउसमा १० लाख फलोअर्स हासिल गर्ने पहिलो सेलेब्रिटी) जस्ता अन्तर्राष्ट्रिय इन्फ्लुएन्सर्सले आफ्ना विचार राख्न वा आफ्नो ब्रान्ड विस्तारका लागि क्लबहाउसलाई ठूलो मात्रामा अँगालेका छन्।
सेलेब्रिटी मात्रै नभएर अरूमाझ चिनिन चाहने जो कोही सामान्य मानिसका लागि यो एप फाइदाजनक छ। कविता, फूटबल, किताब, फिल्म जस्ता विषयमा स्कूले जीवनमा झैं क्लब निर्माण गर्न र समान विषयमा रुचि भएकाहरूसँग जोडिन पनि यसले मद्दत गर्छ। क्लबहाउसमा हुने गजबको नेटवर्किङ र सामाजिकीकरणका गतिविधिले मानिसहरूलाई जागीर दिलाएको सुन्नु आश्चर्यको कुरा नहोला।
उद्यमी तथा वक्ता ग्यारी भीका अनुसार, वास्तविकताको उचित नक्कल गर्ने प्लेटफर्मले केही पृथक् कुरा उजागर गर्छन्। यदि ट्वीटरले शहरिया चोक/चौतारीको नक्कल गरिरहेको छ भने क्लबहाउसले डिनर टेबलमा हुने संवाद नक्कल गरिरहेको छ, जसमा धेरै बोल्ने ४–५ जना व्यक्ति हाबी भइरहेका हुन्छन्।
तर, ग्यारीकै दृष्टिकोणमा जोड दिएर भन्ने हो भने, क्लबहाउस डिनर पार्टीभन्दा पक्कै पनि लोकतान्त्रिक र सुलभ छ। यसमा तपाईं नबोले पनि कम्तीमा चुप लागेर कुनाको कुर्सीमा बसी मान्छेहरूका रोचक गफगाफ सुन्न सक्नुहुनेछ।
नकारात्मक पाटा पनि छन् कि?
क्लबहाउसको व्यसनकारी प्रवृत्ति (एडिक्टिभ नेचर) चिन्ताजनक छ। यसले फोमो अर्थात् केही छुट्यो कि भन्ने डर निम्त्याउँछ। कतिपय प्रयोगकर्ताले के पनि गुनासो गरेका छन् भने, यसमा हरेक व्यक्ति केही न केही बेचिरहेको हुन्छ, चाहे त्यो उसको व्यक्तित्व, विचार वा व्यापार किन नहोस्। व्यक्तिगत कुण्ठा वा चर्चित हुने अभिलाषाले संवादको गुणस्तर प्रभावित पार्न सक्ने अर्को चुनौती छ।
यति मात्रै होइन, क्लबहाउसका रुमहरूमा वक्ताहरू उल्लिखित विषयवस्तुमा अडिग नरहने वा विषयान्तर हुने समस्या धेरै हुन्छ, कुनै तयारीविनाको स्वतस्फूर्त गफगाफमा यस्तो हुनु स्वाभाविकै हो। कतिले यसलाई नेभर–एन्डिङ पार्टी (कहिल्यै नसकिने भोज)को संज्ञा दिएका छन्, जहाँ केही वक्ता (इन्फ्लुएन्सर र मोटिभेसनल स्पिकर)हरू आफ्ना दर्शकलाई उपदेश बाँड्न तल्लीन हुन्छन्।
क्लबहाउस चौबीसै घन्टा जागा रहन्छ। विभिन्न देशका प्रयोगकर्ता एकै ठाउँ भेला हुने भएकाले यहाँ जुनसुकै समयमा कुनै न कुनै रुममा प्रवेश गर्न सकिन्छ। मानिसहरू अक्सर चाहिनेभन्दा बढी बोेल्ने गर्छन् र यस भर्चुअल स्पेसमा असम्पादित र अर्ध–सूचित विचार फैलिरहेका हुन्छन्। केही अनुचित रुममा प्रवेश गरेर समय खेर फालेपछि क्लबहाउस छिरेको केही हप्तामै मानिसहरू यसलाई विषाक्त र समय खाइदिने एप मान्ने गर्छन्।
मानिसहरू हुल बाँधेरै क्लबहाउसमा आउन थालेपछि रुमका मोडरेटरहरूलाई सम्हाल्नै गाह्रो पर्ने गरेको छ। खाना, पानी, निद्रा, पारिवारिक समय सबै त्यागेर उनीहरू घण्टौंसम्म रुमका अपरिचित वक्ता/श्रोतासँग अल्झिरहेका हुन्छन्।
क्लबहाउसमा नेपाली
नेपालीहरूका लागि पनि पारपाचुके, अन्तरजातीय सम्बन्ध, लैंगिक अल्पसंख्यक समुदायका मुद्दा जस्ता संवेदनशील विषयमा छलफल गर्न क्लबहाउस सहज माध्यम बन्दै गएको छ। यसमा खाता खोल्दा फोन नम्बर र तपाईंको (वास्तविक) नामबाहेक थप केही नचाहिने भएकाले गोपनीयता चाहनेलाई छद्म नाम राखेर आफ्ना विचार राख्न सजिलो छ।
अहिले चर्चामा रहेका नेपाली क्लबहरूमा ‘चिया पसल’, ‘नेपाली कुराकानी’, ‘आन्टरप्रेनिअर्सशिप इन नेपाल’, ‘टेक टक्स नेपाल’, ‘ट्राभलिङ नेपाल’, ‘नेप्से छलफल’ आदि छन्। क्लबहाउस बाहिर रहेका टोस्टमास्टर्स नेपाल र रुटिन अफ नेपाल बन्द जस्ता क्बलले क्लबहाउस मार्फत आफूलाई थप विस्तार गर्न पाएका छन्।
साइकलयात्रीदेखि वातावरणविद्सम्म, गँजडीदेखि फूटबलप्रेमीसम्म, सबलाई क्लबहाउसले आफ्नो जस्तै रुचि भएका अन्य मानिससँग भेट्ने र सामूहिकताको आभास दिलाउने थलो प्रदान गरेको छ। भौतिक दुनियाँमा कठिन हुने यो काम भर्चुअल स्पेसमा सहज बनेको छ।
तपाईं जस्तो बन्न चाहनुहुन्छ, क्लबहाउसले त्यस्तै बनाइदिन्छ। मोडरेटरले सूचीकृत गरेका क्लबका नीति–नियम पालना गर्ने र क्लब तथा रुमभित्रका सबैले एकअर्कालाई आदर गर्ने हो भने यो तपाईंको जीवन सुधार्ने सकारात्मक प्लेटफर्म बन्नसक्छ।
संयुक्त राज्य अमेरिकामा बस्ने नेपालीहरूले क्रिएट गरेको ‘थर्टीज क्लब’मा प्रवेश गरेर आफ्ना कुरा राख्दा र अरूका विचार सुन्दा अनुभवहरू कति व्यक्तिपरक हुन्छन् भन्ने देखिएको अस्मिता प्रधान बताउँछिन्। “त्यो रुमका सबै जनाले धेरै हदसम्म एकअर्कालाई बुझ्न सके,” उनी भन्छिन्, “मेरा लागि अहिलेसम्मको सबैभन्दा उत्कृष्ट रुम थियो त्यो, जहाँ मैले म भएर प्रस्तुत हुन सकेँ।”
तपाईं पनि क्लबहाउस छिर्ने कि?
विभिन्न महत्त्वपूर्ण मुद्दामा सचेतना फैलाउन चाहने सामाजिक अभियन्तालाई एपले प्रदान गर्ने व्यापक पहुँच र ध्यानाकर्षण पक्कै प्रिय लाग्छ। यसअघि एपको आइकनमा देखिने ड्रु काताओकाकै उदाहरण लिँदा, जापानी मूलकी यी अमेरिकी भिजिओल आर्टिस्टले क्लबहाउसबाट शुरू गरेको ‘ह्यासट्याग स्टप एसियन हेट’ अभियान मार्फत छोटो समयमै १ लाख अमेरिकी डलर संकलन गरेकी थिइन्।
क्लबहाउसले ट्वीट गरेको थियो, “एपमा गरिने प्रमुख अपडेटसँगै समुदायका थुप्रै अविश्वसनीय सदस्यमध्ये एकलाई चर्चाको केन्द्रमा ल्याउन हामी हाम्रो एपको आइकनमा तिनलाई राख्नेछौं।” मार्केटिङको यो चतुर कदमले के बताउँछ भने, एपले प्रतिनिधित्व, विविधता र आफ्ना दर्शकलाई प्राथमिकतामा राखेको छ र उत्प्रेरणा बाँड्ने एपको उद्देश्य पनि यसले अभिव्यक्त गर्छ।
कोरोना महामारीका कारण दर्शकसँग प्रत्यक्ष बोल्न नपाएका आरजे, पडकास्टर, मोटिभेसनल स्पिकर, कमेडियनहरू अहिले क्लबहाउसतिर दौडिएका छन्।
वक्तृत्व कौशल भएका उनीहरू आवश्यक सम्पादन, साउन्ड इफेक्ट्स्, ट्रान्जिसन्स र विज्ञापन ब्रेक बेगर नै एपमा कार्यक्रम सञ्चालन र दर्शकसँग अन्तरक्रिया गर्न रुचाइरहेका छन्।
महामारीले मानिसहरूलाई मनग्गे खाली समय दिएको छ र क्लबहाउस प्रयोगकर्ताहरू हरेक घण्टा यसमै अड्किरहेका छन्। घरबाटै काम गर्ने भएपछि यसको पूर्ण फाइदा उठाएर उनीहरू मध्य दिउँसो समेत क्लबहाउसमा गफिइरहेका छन्।