जसले गाए–हेर न हेर कान्छा, जसले रचेँ– यहाँ फूल नखिलेछ!
आज पच्चीस सय बैसट्ठीऔँ बुद्धजयन्ती। म बाउन्न वर्ष अगाडिको इलाम सँगसँगै जितेन्द्र बर्देवालाई सम्झिरहेको छु। यस धरतीमा उनी जीवित रहेका भए आजको दिन उनको सतहत्तरौँ जन्मदिन मनाइने थियो।
वैशाख पूर्णिमा, भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन। प्रसङ्ग आजकै दिन हो। दार्जीलिङ गिग कमान बस्तीको एउटा घर, जहाँ आफ्ना परिवारसँग बस्थे सहवीर बर्देवा र मनकुमारी दम्पती। सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए– जितेन्द्र बर्देवा।
इलाम, वि.सं. २०२३ वैशाख बुद्ध पूर्णिमाको दिन। चौबीसबाट पच्चीस टेक्दै थिए जितेन्द्र। तरेली परेको चियाबारीको सानो थुम्को, काखमा रहेको जनभवनको खुला आँगन। पन्डाल, सामियाना रङ्गीचङ्गी ध्वजापताकाले सजिएको समारोहस्थल। सारा दर्शकहरूको आँखा केन्द्रित छ मञ्चमा। प्रमुख अतिथि छन्– वरिष्ठ कवि एवं मन्त्री केदारमान व्यथित।
समारोहमा सम्पूर्ण इलामेको तर्फबाट रू.५०१ नगद र दोसल्लासहित अभिनन्दित हुँदै थिए– नेपाली शिक्षा, साहित्य र भाषाका शिखर पुरुष महानन्द सापकोटा। र, सँगसँगै सम्मानित हुँदै थिए- दार्जीलिङे योद्धा कवि एवं गीतकार अगमसिंह गिरी। (तर, उनी आफ्नो अस्वस्थताका कारण कार्यक्रम अगाडि नै दार्जीलिङ फर्केका थिए।)
त्यही साँझ, त्यही मञ्च, त्यही माहोलबीच आफ्नो जन्मदिन मनाउँदै थिए जितेन्द्र बर्देवा। हार्मोनियमका रीडहरूमा असला माछा पानीमा बगेसरह सलल बग्ने उनका अभ्यासयुक्त औंलाहरू। मधुरो तर तिखारिएको कर्णप्रिय स्वर। एकपछि अर्को सुनिरहूँ झैं लाग्ने, कुनै चलनचल्तीका लोकभाका र शब्दहरू। कुनै भने आधुनिक कविताको झल्को दिने विम्ब भएका काव्यात्मक आधुनिक गीत-सङ्गीतहरू, जुन बिल्कुलै भिन्न स्वाद र शैलीका थिए सङ्गीत पारखीका लागि।
बर्देवाको साङ्गीतिक प्रस्तुतिपछि भने इलामेली सङ्गीतले नयाँ मोड लिएको कुरा अहिले पनि इलामका अग्रज सङ्गीतकार राम दिपाली गौरवका साथ सुनाउनुहुन्छ। कार्यक्रममा अम्बर गुरुङ पनि आउने निम्तो थियो। तर, अन्तिम समयमा आउन पाउनुभएन। ‘नौ लाख तारा उदाए’, ‘म अम्बर हुँ तिमी धरती’, ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ’ जस्ता गीतहरूले नेपाली गाउँ-सहरमा झ्याली पिटेको त्यो समय गुरुङलाई देख्न/सुन्न नपाउँदा केही खिन्न थिए, दर्शक/श्रोताहरू।
तर, जितेन्द्र बर्देवाको प्रस्तुतिपछि त्यो खिन्नता खुशी र आनन्दमा बदलियो। गायिकामा थिइन्– दावा ग्याल्मो। भ्वाइलिनमा गणेश शर्मा, तबलामा शन्तलाल, मेन्डोलियम निमा वा सो सोना छिरिङमध्ये दुईमा एक थिए भने नृत्यमा देवदत्त ठटाल। बाँकी अरू नामहरू समयको लामो अन्तरालसँगै बिर्सिसकेँ।
जितेन्द्र बर्देवा
हो, कहीँकतै अभिलेख नरहने त्यो समयगाथा एक दिन मसँगै समाधिस्थ हुनेछ। समयले छोडेपछि स्वयं आफैँले पनि बिर्सनुपर्ने हुन्छ। एक दिन आफ्ना लागि आफैँ बोझ र बिरानो भइन्छ। अहिले म त्यही बिरानो हुँदै गएको धमिला चित्रहरूलाई पल्टाउँदै र छान्दै छापामा उतार्ने प्रयत्न गर्दै छु। धन्य छ समय, क्याबात्!
यसरी आजभन्दा ५२ वर्षअगाडि इलाममा मैले भेटेको थिएँ– जितेन्द्र बर्देवालाई। आफ्नो पनि अल्लारे उमेर, कुनै कुरा पनि गम्भीरताका साथ नलिने। उडनदास, भावनामा बग्ने स्वभाव, जे राम्रो देख्यो त्यही हुन, गरिहाल्न र भइहाल्न मन लाग्ने।
जितेन्द्र बर्देवाका गीतहरू सुनेपछि त मलाई कथा लेखनसँगै सङ्गीतमा लाग्ने भूत सवार भयो। उनको उमेर र योगदानका हिसाबले पनि म सानै थिएँ। साधारण बोलचालबाहेक त्यस्तो गहिरो घनिष्ठता वा दोहोरो संवाद हुन पाएन। तर, उनको प्रस्तुति र गायकीले मलाई गहिरो प्रभाव पारेको थियो र नै मभित्र पनि गीत–सङ्गीत सिर्जना गर्न सक्छु भन्ने आत्मविश्वास पलाएर आयो।
जब जब नेपाली सङ्गीतबारे चर्चा हुन्छ, तब तब केही औँलामा गन्न सकिने नामहरूको मात्र एकछत्र बढाइचढाइ गरेको देख्छुु, पढ्छु र सुन्छु पनि। सीमापारिका नेपाली सङ्गीतको चर्चा हुँदा जितेन्द्र बर्देवा, शरण प्रधान, हिरादेवी वाइबा, अशोक राई जस्ता आफ्नै धार सिर्जना गर्ने स्रष्टाहरूको चर्चा त के, नाम समेत उल्लेख गर्न कन्जुस्याइँ गरेको देख्दा उदेक लाग्छ।
हुनत मेरा लागि बच्चुकैलाश सङ्गीत आस्थाका सगरमाथा थिए। तैपनि यस घडीमा मैलै स्मरण गर्नै पर्छ– जितेन्द्र बर्देवालाई। म पहिलोपल्ट काठमाडौं आउँदा दिमागमा त्यही इलामको सङ्गीतको भूत बोकेर आएँ। मञ्जुल, रामेशसँग भेटेँ। केही समय राल्फा भएर बामे सरेँ। भोजपुरेसँग मिलेर ‘लेकाली’ भएर पाइला चाल्न सिकेँ। यिनै हुन् मेरा साङ्गीतिक यात्राका विभिन्न खुड्किलाहरू, जसले मलाई तल झर्न होइन, माथि झन् माथि उक्लिन सिकाए।
जब जब नेपाली सङ्गीतबारे चर्चा हुन्छ, तब तब केही औँलामा गन्न सकिने नामहरूको मात्र एकछत्र बढाइचढाइ गरेको देख्छुु, पढ्छु र सुन्छु पनि। सीमापारिका नेपाली सङ्गीतको चर्चा हुँदा जितेन्द्र बर्देवा, शरण प्रधान, हिरादेवी वाइबा, अशोक राई जस्ता आफ्नै धार सिर्जना गर्ने स्रष्टाहरूको चर्चा त के, नाम समेत उल्लेख गर्न कन्जुस्याइँ गरेको देख्दा उदेक लाग्छ। यस्तो किन हुन्छ? अरू कोसँग गरौँ, म आफैंसँग प्रश्न गर्छु।
यी प्रश्नका उत्तर खोज्दै म दार्जीलिङका सङ्गीतकार मणिकमल क्षेत्रीकहाँ पुगे र सोधेँ– “जितेन्द्र बर्देवा त हुनुहुन्न भन्ने थाहा पाएँ, तर उहाँका आफन्त परिवार कहाँ–कहाँ को–को हुनुहुन्छ?”
हार्मोनियममा जितेन्द्र बर्देवा। तस्वीर स्रोतः बर्देवा परिवार
मणिकमल क्षेत्रीले आफ्नै दार्जीलिङे पारामा बेलीविस्तार लगाए, “धेरै भइसक्यो, सम्पर्क छैन। सावित्री भाउजू र छोरा सावन दार्जीलिङमा छन्। मञ्जरी, चण्डिका, सरणी, अल्का र गौरी पाँच बहिनीछोरीमा अल्का सङ्गीत क्षेत्रमा नै छिन्। दार्जीलिङ संस्कृति विभागमा काम गर्छिन्। अरू थाहा छैन। कान्छी गौरी, नेपालतिरै कार्कीसँग घरजम गरेर हाल धरान बस्छिन्। मसँग गौरीको नम्बर छ, तपाईंलाई दिन्छु। थप बुझ्न परे सम्पर्क गर्नुहोस् न ल!”
धरानको नाम सुन्नासाथ म उत्साहित भएँ। किनभने मेरो मावलीघर धरान हो। मेरो बाल्यकाल बितेको धरान कुनै समय आजको भानुचोकमा खहरे खोला बग्ने सानो गाउँले बजार थियो। अहिले सहर भएको छ, जहाँ भर्खरै मात्र मन्धुम बहिनीले आयोजना गरेको मेरो एकल कार्यक्रम सकिएको समय थियो।
मैले गौरी कार्कीलाई सम्पर्क गरेँ। उनले बडो उत्साहका साथ आफ्ना पिता जितेन्द्र बर्देवाका बारेमा प्राप्त सामग्री मलाई ई-मेल गरिदिइन्। साँचो भन्नुपर्दा, मेरो लेखाइको सम्पूर्ण प्रमाणित आधारशिला नै तिनै सामग्री हुन्। थप भने केही व्यक्तिगत गन्थन मिसाउँदा लेख फ्युजन बनेको छ।
डरैडरको कहर काटिरहेको अवस्थामा जन्मिए जितेन्द्र बर्देवा। जेठा दाजु कमल, तीन दिदीबहिनीका अत्यन्तै प्यारा थिए- कान्छो भाइ जितेन्द्र बर्देवा। पिता सहवीर अत्यन्तै कुशल सनाहीवादक थिए। भन्नुपर्दा, घरमा साङ्गीतिक वातावरण थियो।
सुगौली सन्धिपछि चन्द्र-सूर्य झण्डाको स्थानमा ब्रिटिश झण्डा फहराएको दार्जीलिङ। दोस्रो विश्वयुद्धको तोप र बमको धूवाँबीच बर्माको धावामा होमिएका ब्रिटिश गोरखा सैनिक, युद्धको त्रासबाट ज्यान जोगाउन आफ्नो सर्वस्व बर्मामा नै छोडेर आएको गोर्खाली परिवार, जापानले कुनै पनि समय हवाई आक्रमण गर्छ भन्ने भयले आतङ्कित कलकत्ताका बङ्गाली चाप झेलिरहेको थियो दार्जीलिङ।
यस्ता डरैडरको कहर काटिरहेको अवस्थामा जन्मिए जितेन्द्र बर्देवा। जेठा दाजु कमल, तीन दिदीबहिनीका अत्यन्तै प्यारा थिए- कान्छो भाइ जितेन्द्र बर्देवा। पिता सहवीर अत्यन्तै कुशल सनाहीवादक थिए। भन्नुपर्दा, घरमा साङ्गीतिक वातावरण थियो।
जितेन्द्र स्वयं जन्मजातै सुरिलो कण्ठका धनी, सुनेकै भरमा हिन्दी फिल्म र नेपाली गीत दुरुस्तै नक्कल उतारेर सबैलाई छक्कै पार्थे। जब पढाइका लागि टर्नबुल स्कूलमा भर्ना भए, स्कूलमा दलसिंह गहतराज जस्ता सङ्गीतपारखी गुरु भेटिए। जसको आँखामा परिहाले जितेन्द्र। जितेन्द्रलाई दलसिंहले प्रशिक्षण र प्रोत्साहन दिए।
जितेन्द्रको सङ्गीतमा गहिरो लगाव थियो। पढाइलेखाइमा ध्यान दिएनन्। सारा पाठ्यपुस्तकलाई ट्याङ्कामा बन्द गरेर साथीसङ्गीसँग बरालिँदै लागे- गोरखा पल्टनमा भर्ती हुन। उनी लाहुरे भए, बन्दुक चलाए, बुट बजारे। तर, जीवन सधैँ यसैगरी पार लाग्ने नदेखेर उनी अन्त्यमा फेरि घुमीफिरी दार्जीलिङ आए। केही समय पल्टनको थकाइ मारे।
एक दिन अन्तस्करणभित्र रहेको सिर्जनशीलताले जितेन्द्र बर्देवालाई आफैँ डोहोर्याउँदै सङ्गीतकार अम्बर गुरुङको आर्ट एकेडेमीमा पुर्यायाे जहाँ कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर जस्ता आफ्नै समकालीन साथीहरू भेटिए। त्यही रमाएर अम्बर गुरुङ जस्ता व्यक्तिबाट मार्गदर्शन र सङ्गीत प्रणालीको व्यावहारिक एवं सैद्धान्तिक ज्ञान हासिल गरे। सङ्गीतलाई बुझे र आफैँ पनि सिर्जना गर्न थाले।
वास्तवमा ‘सङ्गम’बाट नै जितेन्द्र बर्देवाले गीतकारका रूपमा आफ्नो परिचय दिन पाए। पहिलोपल्ट उनको शब्द-रचना र शरण-रञ्जितको सङ्गीत तथा अरुणा लामासँग उनैले गाएको स्वरमा- ‘हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो’, ‘देउरालीको पाखामा आज’ र लगत्तै अरुणा लामाको स्वरमा- ‘यहाँ फूल नखिलेछ’ तथा ‘त्यहाँ निश्चल छ जीवन’ भन्ने गीत कलकत्ता गएर एचएमभीमा रेकर्ड गर्ने अवसर पाए।
त्यसताका दार्जीलिङमा अर्को साङ्गीतिक संस्था पनि खोलियो- प्रकाश सिंह गहतराजको ‘सङ्गम’। यो संस्थामा आर्ट एकेडेमीका जितेन्द्र बर्देवा लगायत, शरण प्रधान, अरुणा लामा, रञ्जित गजमेर, ललित योञ्जन, पिटर कार्थक, मार्क कार्थक, कुमार गजमेर, विदुर सिंह, मणि कालिकोटे, आर रसाइली, आइजक र मणिकमल क्षेत्री आदि सबै साङ्गीतिक प्रतिभाहरू गोलबद्ध हुनपुगे।
वास्तवमा ‘सङ्गम’बाट नै जितेन्द्र बर्देवाले गीतकारका रूपमा आफ्नो परिचय दिन पाए। पहिलोपल्ट उनको शब्द-रचना र शरण-रञ्जितको सङ्गीत तथा अरुणा लामासँग उनैले गाएको स्वरमा- ‘हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो’, ‘देउरालीको पाखामा आज’ र लगत्तै अरुणा लामाको स्वरमा- ‘यहाँ फूल नखिलेछ’ तथा ‘त्यहाँ निश्चल छ जीवन’ भन्ने गीत कलकत्ता गएर एचएमभीमा रेकर्ड गर्ने अवसर पाए।
त्यस वेला रेडियो नेपाल, आकाशवाणी खर्स्याङ, गुवाहटी र अलइन्डिया रेडियो दिल्लीबाट पनि खूबै प्रसारित हुन्थे। वास्तवमा नेपालीपन, नेपाली मन छुने ती गीतहरू आज पनि श्रोताका मनमा गढेका छन्। गायिका अरुणा लामा, गीतकार जितेन्द्र बर्देवा र सङ्गीतकार शरण रञ्जितलाई परिचित गराउने यी माथिका गीतहरू त्यो समय, त्यो कालका अत्यन्तै सशक्त र बेग्लै धारका प्रभावशाली आधुनिक नेपाली गीतहरू थिए भन्दा दुईमत नहोला।
सङ्गीतबाहेक जितेन्द्र बर्देवाको अर्को पेशा थिएन। बाँच्नका लागि तीन माइल सिम्कोना मङ्पु रोडमा मुन्सी जागीर खान दार्जीलिङ शहर छोडे। वास्तवमा लगनगाँठो कसिने ग्रह चम्केको रहेछ भनौँ, त्यही वेला सावित्री थापासँग माया-प्रेम बस्यो। र, गृहस्थ जीवनमा बाँधिए।
यदाकदा आ-आफ्नो अस्तित्वको खोजी र व्यक्तिगत महत्त्वाकाङ्क्षाले गर्दा संस्थाहरू बन्छन्, भत्कन्छन्, जोडिन्छन् र फेरि टुक्रिन्छन्। त्यस्तै भयो, ‘सङ्गम’ पनि। जितेन्द्र बर्देवाले आफ्नो सक्रियतामा ‘सावन कुञ्ज’ नामक संस्था खोले। जसमा गीतकार अगमसिंह गिरीको सल्लाह र संरक्षकत्व प्राप्त थियो। त्यो समय अगमसिंह भानुभक्त पाठशालाका प्रधानाध्यापक थिए।
त्यही भएर सङ्गीत अभ्यास गर्न पाठशालाका कोठा निःशुल्क उपलब्ध गराई ठूलो आडभरोसा दिए- ‘सङ्गम’लाई। प्रत्येक साँझ अभ्यास चल्ने पाठशालाका कोठामा निमा, नत्थु ठाकुर सिंह गोले, सन्तलाल लोहागन, मेरी कार्थक, ललित क्षेत्री, एलबी थापा, अर्जनु रसाइली जस्ता कलाकारहरू एकजुट भएर आ-आफ्नो सिर्जना र अभ्यासमा तल्लीन हुन्थे।
‘सावन कुञ्ज’को समय मलाई लाग्छ, जितेन्द्र बर्देवाको सिर्जनाको स्वर्णिम काल थियो। यही कालखण्डमा- ‘एक रात थियो, भर्खरकै थियो’, ‘अहिले त मेरो जीवन सानै छ कोपिला’, ‘ढल्की जाँदै छ जीवन, दिन ढल्के जस्तै’, ‘लेख्ला भावी मेट्ला को’, ‘कति लेख्नु पन्नाभरि जीवनको गीत’, ‘के राम्रो जोवन हेरिरहूँ भन्छ आँखाले’, ‘जीवनमा सँगै रहने सँगै हाँस्ने’, ‘कुक्कु नजिस्क्याऊ है मायालुको स्वरमा’ जस्ता दर्जनौं कालजयी गीतहरू सिर्जना गरे। गोरखा दुःख निवारक सम्मेलनद्वारा आयोजित प्रतियोगितामा शब्द, स्वर र सङ्गीत विधामा सर्वोच्च स्थान प्राप्त गरी सम्मानित र पुरस्कृत भए। र, त्यहीँ समय ‘सावन कुञ्ज’को टोली लिएर इलाम आएका हुन्- जितेन्द्र बर्देवा।
हार्मोनियम बजाउँदै जितेन्द्र बर्देवा । तस्वीर स्रोतः बर्देवा परिवार
‘एक रात थियो...’ जस्ता अमर गीतसहित एकल र दावा ग्याल्मोको युगल स्वरमा झन्डै डेढ दर्जन गीत गाएका थिए उनले इलामको कार्यक्रममा। ‘नौलाख तारा उदाए’, ‘धर्तीमा आकाश हाँसेछ’, ‘सुगौली सन्धि हामीले भुलेको छैन भनिदेऊ’, ‘किल्ला काँगडा हामीले बिर्सेका छैनौँ’ भन्ने जस्तो गीत गाएर जितेन्द्रले इलामेली श्रोताको मन जिते।
साहित्यमा तेस्रो आयामको त्यो युग आयामेली कवि बैरागी काइँलाको शब्द रचना, ‘सेउली राखी सुकिजाला, के पो छोडौँ चिनो भन’ र ‘औँलाहरू चुमेर औँलाभरि सलाम’ जस्ता गीत पनि जितेन्द्रले सुनाए। बैरागीका यी रचनामा अम्बर गुरुङको सङ्गीत छ। यी गीतहरू पढ्दा लेखनशैली, विम्ब प्रयोगको हिसाबमा गद्य कविताको नजिक तर सुन्दा सलल बग्ने लय र तालमा कर्णप्रिय लाग्छन्। कार्यक्रम सकेर जितेन्द्र बर्देवाको टोली दार्जीलिङ फर्केर गयो, तर इलामे मन-मस्तिष्कमा मात लागे जस्तो वर्षौंसम्म उनका गीत-सङ्गीतका स्वरहरू गुन्जिरहे।
सङ्गीतबाहेक जितेन्द्र बर्देवाको अर्को पेशा थिएन। बाँच्नका लागि तीन माइल सिम्कोना मङ्पु रोडमा मुन्सी जागीर खान दार्जीलिङ शहर छोडे। वास्तवमा लगनगाँठो कसिने ग्रह चम्केको रहेछ भनौँ, त्यही वेला सावित्री थापासँग माया-प्रेम बस्यो। र, गृहस्थ जीवनमा बाँधिए।
अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, पिटर जे कार्थक, मार्क कार्थक जस्ता थुप्रै साङ्गीतिक सहयात्रीहरू नेपाल पसे पनि जितेन्द्र बर्देवा नेपाल आउन चाहेनन्। दार्जीलिङकै चियाबारी, छुकछुके रेल, कुहिरोसँग लुकामारी गर्ने धुपी-सल्ला जस्तै बाँकी रहेका कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा, मणिकमल, नवीन बर्देवा, कालु सिंह गहतराज, अरुणा लामा र शरण प्रधानसँग हाई–हेलो, सन्चो-बिसन्चो सोध्दै आफ्ना दुःख-सुखका गीतहरू गाउँदै बसे।
त्यहीताका अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, पिटर जे कार्थक, मार्क कार्थक जस्ता थुप्रै साङ्गीतिक सहयात्रीहरू नेपाल पसे पनि जितेन्द्र बर्देवा नेपाल आउन चाहेनन्। दार्जीलिङकै चियाबारी, छुकछुके रेल, कुहिरोसँग लुकामारी गर्ने धुपी-सल्ला जस्तै बाँकी रहेका कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा, मणिकमल, नवीन बर्देवा, कालु सिंह गहतराज, अरुणा लामा र शरण प्रधानसँग हाई–हेलो, सन्चो-बिसन्चो सोध्दै आफ्ना दुःख-सुखका गीतहरू गाउँदै बसे।
सङ्गीत, जागीर, दाम्पत्य जीवन राम्रै चल्दै थियो। तर, अकस्मात् आमाको स्वर्गवास भएको खबरले दार्जीलिङ फर्कन बाध्य भए जितेन्द्र बर्देवा। हिजो एक्लो हुँदा धेरै सजिलो थियो जीवन। विवाह बन्धनमा बाँधिएपछि झिटी-गुन्टा, बोरिया, बिस्तरा, भाँडा-बर्तन हुने नै भए, अन्त्यमा ती सबै बोकेर सधैँका लागि दार्जीलिङ फर्किए।
आमासँग छुट्नुको दुःख त छँदै थियो, तर दार्जीलिङ फर्कनका लागि सुखद नै रह्यो। आउनासाथ लोक मनोरञ्जन शाखाको प्रमुख सङ्गीतकार पदमा सरकारी जागीर पाए। दार्जीलिङ शहर आएर बेकारी हुनु परेन। बजारमै पिता सहवीरले बनाएको घरमा बस्न थाले।
जितेन्द्रले गीत लेखे। सङ्गीत गरेर आफैँ गाए। बालकृष्ण समको ‘चिसो चुल्हो’, देवकोटाको ‘कुञ्जिनी’ जस्ता साहित्यिक काव्यहरूमा पनि सङ्गीत दिए। ‘हिजोजस्तै बिहानी’ र ‘रूपा’ जस्ता नाटकहरूमा पनि पार्श्वसङ्गीत भरे। कथाहरू लेखे।प्रह्लाद थुलुङका गीतमा सङ्गीत गरे। भनौं कि, जीवनमा सयौं सङ्गीत सिर्जना गरे, पाँच दर्जनभन्दा बढी गीतहरू आफैँ लेखे। जसमध्ये ‘अहिले छ मेरो जीवन’, ‘सानै छ कोपिला’ गीत, सङ्गीत बङ्गला चलचित्र निर्देशक तपन सिंहले आफ्नो चलचित्र- ‘सङ्गना महतो’मा राखेका थिए। जुन चलचित्रका अभिनेता थिए- दिलीप कुमार।
अर्को उनकै शब्द ‘मेरा आशले, यो मेरो भागले’ भन्ने गीत सङ्गीतकार रञ्जित गजमेरले नेपाली चलचित्र ‘पिरती’ मा राखेर चलचित्रको गीतकारका रूपमा पनि दरिन भ्याए जितेन्द्र बर्देवा।
आज पच्चीस सय बैसट्ठीऔँ बुद्धजयन्ती। म बाउन्न वर्ष अगाडिको इलाम सँगसँगै जितेन्द्र बर्देवालाई सम्झिरहेको छु। यस धर्तीमा उनी जीवित रहेका भए आजको दिन उनको सतहत्तरौँ जन्मदिन मनाइने थियो। तर अफसोस, आजभन्दा तेइस वर्षअगाडि नै त्रिपन्न वर्षको उमेरमा उनको चोला उठ्यो। अन्त्यमा उनकै शब्द, उनलाई समर्पण गर्दै मेरो लेखनीलाई बिट मार्दछु।
दुईदिन बाँच्ने मान्छे यो
केही दिनपछि कता हो
पहेँलो पात झरेझैँ
जीवन एक दिन झर्ने हो।
(गणेश रसिकलिखित पुस्तक ‘छपक्कै मनमा बसेकाहरू’बाट साभार। साङ्ग्रिला बुक्सले २०७६ सालमा प्रकाशित पुस्तकमा यो लेखको शीर्षक एक रात थियो...रहेको छ।)