सबैले बिर्सिएका नेपाली संगीतका एक 'त्रिमूर्ति'
सबै जनाले जितेन्द्रलाई गुहारे। उनले भने, ‘पर्ख, शान्त र एकान्तका लागि म तल बगैैँचामा जान्छु, हेरौँ के गर्न सक्छु।’ त्यसपछि उनी लोयड्स बोटानिकल गार्डेनमा गए जुन विश्वकर्मा समाजबाट थोरै तल्तिर पर्थ्याे। हामीहरू सास रोकेर उनलाई कुरिबस्यौँ। उनले एउटा गीत लिएर आए जसको मुखडा यस्तो थियो : ‘यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ’।
साल : सन् १९८६। अवसर : दशैंको अन्तिम दिन, जाडो आउनुअघिको चिसो वेला। ठाउँ : दार्जीलिङको चोकबजार। समय : रातको ९ बजे। पात्र: जितेन्द्र बर्देवा, त्यतिखेर लोक मनोरञ्जन शाखाको सङ्गीत विभाग प्रमुख। त्यस पदमा अम्बर गुरुङका उत्तराधिकारी। जितेन्द्रसँग थिए देवप्रकाश राई, दार्जीलिङको अखिल भारत गोर्खा लिगका आजीवन नेता तथा सन् १९५७ देखि पश्चिम बङ्गालको कलकत्तास्थित विधानसभामा दार्जीलिङबाट निर्वाचित विधायक।
देवप्रकाशले आफ्नो ओभरकोटमा बिहाइभ ब्रान्डी घुसारेका थिए। जितेन्द्रले चाहिँ आफ्नो ओभरकोटमा जिउँदो कुखुराको कौडे भाले बोकेका थिए। आश्चर्य माने झैँ गरी एकअर्कालाई ‘अरे, हौ’ र ‘हल्लो’ भन्दै अनि मातेको सुरमा अभिवादन गर्दै उनीहरू पुरानो हुलाक कार्यालयको सिँढीमा बसे अनि पिउन थाले। कुखुराको भाले जितेन्द्रको ओभरकोटबाट फुत्कियो र दोरंगा बजारमा रहेको दर्जीहरूको पसलतिर गायब भयो।
त्यसको केही वर्षभित्र दुवै जना बिते रक्सीमा चुर्लुम्म डुबेर।
राजनीतिकर्मी देवप्रकाश राईको कथा बेग्लै छ, यो चाहिँ बहुमुखी प्रतिभाका धनी सङ्गीत सर्जक जितेन्द्र बर्देवाको कथा हो।
देवप्रकाशले आफ्नो ओभरकोटमा बिहाइभ ब्रान्डी घुसारेका थिए। जितेन्द्रले चाहिँ आफ्नो ओभरकोटमा जिउँदो कुखुराको कौडे भाले बोकेका थिए। आश्चर्य माने झैँ गरी एकअर्कालाई ‘अरे, हौ’ र ‘हल्लो’ भन्दै अनि मातेको सुरमा अभिवादन गर्दै उनीहरू पुरानो हुलाक कार्यालयको सिँढीमा बसे अनि पिउन थाले। कुखुराको भाले जितेन्द्रको ओभरकोटबाट फुत्कियो र दोरंगा बजारमा रहेको दर्जीहरूको पसलतिर गायब भयो।
अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिकका अन्तिम तथा सबभन्दा अस्थिर सदस्य थिए जितेन्द्र बर्देवा। उनी अम्बर गुरुङका सबभन्दा पाको चेला पनि थिए। उनले भारतीय सेनामा सेवा गरेका थिए। उनी एकेडेमीमा सबभन्दा पछि आउने कारण त्यही थियो।
म उनको विनम्र हाउभाउ, नरम आवाज र अम्बर गुरुङप्रतिको सम्मान अनि सङ्गीतप्रतिको लगाव तथा एकेडेमीप्रतिको बफादारी देखेर तत्कालै प्रभावित भएको थिएँ। मझौला कदको र सुन्दर मुहारका जितेन्द्रको हुलिया केही खस्रो थियो। सेनामा रहँदा उनी बडी बिल्डर थिए, तर पाठोको जस्तो उनको व्यवहारबाट उनको सुगठित मांसपेशीको सङ्केत मिल्दैनथ्यो। उनी हामीहरू जस्तो रक्सी वा चुरोट पिउँदैनथे। उनको एक मात्र अम्मल भनेको खैनी थियो जो सेनाबाट उनले बिरासतमा पाएका थिए। नत्र उनका कुरा उम्दा थिए। एकेडेमीकै एक सदस्यले बाटामा हिँडिरहेकी एक युवतीलाई सिट्ठी बजाएर जिस्क्याउँदा उनले त्यस सदस्यलाई माफी माग्न लगाएका थिए।
जितेन्द्रको मसलले भन्दा पनि उनको नैतिक बलका कारण त्यो युवक युवतीसँग माफी माग्न तयार भएको थियो। यसबाट छक्क परेकी युवती चाहिँ त्यही युवकलाई प्रेम गर्न थालिन् र तिनको पिछा छुटाउन त्यस युवकले निकै मिहिनेत गर्नुपरेको थियो। जितेन्द्रले गर्दा बेकारको झमेलामा पर्यो त्यो युवक।
एकेडेमीमा जितेन्द्र थोरै समयका लागि मात्र सदस्य रहे किनभने उनी आएको केही समयपछि नै एकेडेमी भङ्ग भयो। अम्बर सर सरकारी सेवामा जानुभयो र उहाँका चेलाहरू आ–आफ्नै बाटो लागे। जितेन्द्र, शरण प्रधान, रञ्जित गजमेर र अरुणा लामाले ‘संगम क्लब’ नाउँ गरेको एउटा साङ्गीतिक समूह बनाए र म पनि त्यसमा मिसिएँ। संगम क्लबमा रहँदा जितेन्द्र गायक तथा गीतकारका रूपमा चम्किन थाले ।
तर, त्यहाँ पनि उनको साङ्गीतिक प्रतिभा भने सुषुप्त रह्यो। उनले संगम छोडेर ‘श्रावण’ (सावन भनी लोकप्रिय भएको) नाम गरेको आफ्नै साङ्गीतिक समूह बनाएपछि बल्ल उनको प्रतिभा पूर्णतः प्रस्फुटित भयो। त्यहाँ उनी सितारवादक, गीतकार, सङ्गीतकार, गायक, सङ्गीत संयोजक र प्रस्तुतकर्ता बने। उनी ६ वटै साङ्गीतिक विधामा अब्बल रहे।
संगम क्लबको शुरूवात नै एउटा चुनौतीबाट भयो। हामीले अखिल दार्जीलिङ सङ्गीत प्रतियोगितामा हाम्री प्रमुख गायिका अरुणा लामाले गाउनलाई एउटा गीत लेखेर सङ्गीत भर्नुपर्ने थियो र त्यसका लागि समय एक हप्ता मात्र बाँकी थियो। हामीले राम्रो गीत छान्नु जरुरी थियो। हामीले गोपाल र कर्म योञ्जनको हिमालय कला मन्दिरसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो र हाम्री अरुणा लामासित प्रतिस्पर्धा गर्न उनीहरूले कताबाट हो दिलमाया खातीलाई खोजेर ल्याएका थिए। संगम क्लब मेरो घरमा हुँदाखेरि शरणले अरुणाका लागि एउटा धुन तयार पारेको थियो अनि रञ्जितले त्यसको साङ्गीतिक संयोजन पनि तयार पारिसकेको थियो। पछि हामी विश्वकर्मा समाजको घरमा सर्यौँ। तर, अरुणा लामाले उक्त प्रतियोगितामा गाउनका लागि हामीले अझै कुनै गीत–रचना पाएका थिएनौँ।
जितेन्द्रले यसरी अन्तिम समयमा संगम क्लबको इज्जत जोगाइदिए। संगम क्लबको अर्को गीत ‘हेर न हेर कान्छा’ अरुणा र जितेन्द्रको युगल गायन थियो र त्यसले पनि त्यस प्रतियोगितामा एउटा पुरस्कार जित्यो। यस प्रकार संगमका शुरूआती दिनमै शरण, रञ्जित, जितेन्द्र र अरुणाको सिर्जनात्मक समूह जम्यो।
सबै जनाले जितेन्द्रलाई गुहारे।
उनले भने, ‘पर्ख, शान्त र एकान्तका लागि म तल बगैैँचामा जान्छु, हेरौँ के गर्न सक्छु।’ त्यसपछि उनी लोयड्स बोटानिकल गार्डेनमा गए जुन विश्वकर्मा समाजबाट थोरै तल्तिर पर्थ्याे। हामीहरू सास रोकेर उनलाई कुरिबस्यौँ। उनले एउटा गीत लिएर आए जसको मुखडा यस्तो थियो : ‘यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ’। शरणले ती शब्दलाई आफ्नो सङ्गीतमा ढाल्यो अनि रञ्जितको सङ्गीत संयोजनमा हामी अभ्यास गर्न थाल्यौँ।
हामीहरू राग यमनमा आधारित यस गीतमा प्रयोग भएको ‘सामान्य चल्तीको’ २/२ बिट डी–ई–ए–डी (डेड) कर्डप्रति त्यति विश्वस्त थिएनौँ। तर, अम्बर गुरुङ र शास्त्रीय सङ्गीतका गुरुहरू राईबाबु, गुरुङबाबु र लामाबाबु समेत रहेको प्रतियोगिताका निर्णायकहरूबाट यसको राम्रो मूल्याङ्कन भयो। यही गीतले आधुनिक सङ्गीतको महिला एकल समूहमा अरुणा लामालाई पहिलो पुरस्कार दिलायो।
जितेन्द्रले यसरी अन्तिम समयमा संगम क्लबको इज्जत जोगाइदिए। संगम क्लबको अर्को गीत ‘हेर न हेर कान्छा’ अरुणा र जितेन्द्रको युगल गायन थियो र त्यसले पनि त्यस प्रतियोगितामा एउटा पुरस्कार जित्यो। यस प्रकार संगमका शुरूआती दिनमै शरण, रञ्जित, जितेन्द्र र अरुणाको सिर्जनात्मक समूह जम्यो। पछि हामीहरूले यी दुवै गीत कलकत्तास्थित हिन्दुस्तान रेकर्ड्सबाट रेकर्ड गरायौँ।
त्यसपछि संगम क्लबलाई अर्को चुनौती आइलाग्यो– शरण र अरुणाको पलायन। हाम्रा पुरस्कृत गीतहरू रेकर्ड गराउनलाई कलकत्ता जाँदा उनीहरू प्रेममा परे। बिहे गरेपछि उनीहरूले आफ्नै ब्यानरमा नयाँ साङ्गीतिक समूह बनाए। अरुणा–शरणको कथाको त्यो प्रारम्भ थियो– दार्जीलिङको नेपाली सङ्गीत इतिहासको अर्को महान् कथा।
जितेन्द्र पनि संगम छाडेर दार्जीलिङभन्दा परको एकलासे, हावा चल्ने डाँडाहरूमा ओभरसियरको काम गर्न गए। साथीसँगाती विना दार्जीलिङ शहरबाट लामो समय काटिएर बस्नुपर्दा उनले रक्सी पिउन सिके। अनि छिटै अम्मली बने।
पछि उनी दार्जीलिङ फर्किए अनि आफ्नै श्रावण (सावन) समूह नामक साङ्गीतिक जत्था बनाए। यसले गर्दा संगममा रञ्जित गजमेर र म मात्र बाँकी रह्यौँ (यो अर्कै प्रसङ्गको कुरा हो जो यहाँ सान्दर्भिक छैन)।
श्रावणलाई हाँक्दाखेरि नै जितेन्द्रले सर्वोत्कृष्ट गीतहरू लेखे, सङ्गीतबद्ध गरे, सङ्गीत संयोजन गरे अनि गाए। ‘एक रात थियो, भर्खरकै थियो’ लगत्तै ‘कोपिलामै’, ‘ढल्किजा है जोबन, दिन ढल्के जस्तै’ र ‘वन डढेको देखिन्छ है’ तथा अन्य हिट गीतहरू यसै समयमा आएका हुन्।
एक दिन दिउँसो जितेन्द्र मलाई भेट्न आए र मसँग पाँच रुपैयाँ मागे। त्यतिखेर त्यो ठूलै रकम थियो। पैसा पाएपछि उनी आफ्नो टोलतिर गएर सबै रकम रक्सीमा उडाएको अनि घर गएर सुतेको मैले देखेँ। त्यस घरमा उनको दाइको सिलाइको पसल थियो।
सत्य भन्नुपर्दा, नेपाली सङ्गीत स्रष्टाहरूमा तीन जना मात्र वास्तविक अर्थमा उस्ताद थिए– तिनमा सर्वोत्कृष्ट थिए अम्बर गुरुङ, अनि गोपाल योञ्जन र सँगसँगै जितेन्द्र बर्देवा। संयोगको कुरा, यी त्रिमूर्तिहरू दार्जीलिङ शहरको तीन माइलको परिधिभित्रबाट आएका थिए। गोपाल र जितेन्द्रले आफ्नो कलाशिल्प पनि अम्बर गुरुङले औपचारिक रूपमा सन् १९६० मा स्थापना गरेर हाँकेको आर्ट एकेडेमी अफ म्युजिकबाटै खारेका थिए। तीनै जनामा सार्वजनिक मञ्चमा पनि गजबको प्रदर्शन गर्ने खुबी थियो।
राजा महेन्द्रको निमन्त्रणमा अम्बर गुरुङ काठमाडौँ गएपछि लोक मनोरञ्जन शाखामा सङ्गीत प्रमुख भई जितेन्द्रले अम्बर गुरुङको उत्तराधिकारीका रूपमा काम गरे।
म जितेन्द्र बर्देवालाई अम्बर गुरुङको दोस्रो सर्वोत्कृष्ट चेला मान्छु। सर्वोत्कृष्ट चाहिँ गोपाल योञ्जन थियो। गोपाल गीतकार, गायक, सङ्गीतकार र सङ्गीत संयोजक थियो अनि भायोलिन, सारङ्गी र बाँसुरी पनि गजबले बजाउँथ्यो। जितेन्द्र सितारवादक, गायक, सङ्गीतकार र गीतकार थिए। अन्य प्रतिभाहरू यी दुई जनाको छेउछाउ पनि पुग्दैनथे। शरण म्यान्डोलिन बजाउन प्रवीण थियो र गीत लेख्थ्यो, तर गाउँदैनथ्यो। रञ्जित धुरन्धर तबलावादक थियो अनि मेलोडीहरू रच्थ्यो र गजबको सङ्गीत संयोजक थियो । तर, ऊ न लेख्थ्यो, न गाउँथ्यो। कर्म भायोलिन बजाउँथे र सङ्गीत रच्थे अनि गाउँथे तर लेख्दैनथे।
सत्य भन्नुपर्दा, नेपाली सङ्गीत स्रष्टाहरूमा तीन जना मात्र वास्तविक अर्थमा उस्ताद थिए– तिनमा सर्वोत्कृष्ट थिए अम्बर गुरुङ, अनि गोपाल योञ्जन र सँगसँगै जितेन्द्र बर्देवा। संयोगको कुरा, यी त्रिमूर्तिहरू दार्जीलिङ शहरको तीन माइलको परिधिभित्रबाट आएका थिए। गोपाल र जितेन्द्रले आफ्नो कलाशिल्प पनि अम्बर गुरुङले औपचारिक रूपमा सन् १९६० मा स्थापना गरेर हाँकेको आर्ट एकेडेमी अफ म्युजिकबाटै खारेका थिए। तीनै जनामा सार्वजनिक मञ्चमा पनि गजबको प्रदर्शन गर्ने खुबी थियो।
सत्य भन्नुपर्दा, नेपाली सङ्गीत स्रष्टाहरूमा तीन जना मात्र वास्तविक अर्थमा उस्ताद थिए– तिनमा सर्वोत्कृष्ट थिए अम्बर गुरुङ, अनि गोपाल योञ्जन र सँगसँगै जितेन्द्र बर्देवा। संयोगको कुरा, यी त्रिमूर्तिहरू दार्जीलिङ शहरको तीन माइलको परिधिभित्रबाट आएका थिए।
सारमा भन्नुपर्दा, अम्बर गुरुङ शुरूदेखि अनि गोपाल योञ्जन र जितेन्द्र बर्देवा चाहिँ पछि गएर बहुमुखी नेपाली सङ्गीत स्रष्टा बने। उनीहरूले आफूले रोजेको बाजा बजाउन शुरू गरे, त्यसपछि गीत गाउन थाले, मेलोडी रच्न थाले, आफूलाई चित्त बुझ्ने किसिमका गीत लेखे, आफ्ना सबै सङ्गीत संयोजन गरे र सार्वजनिक मञ्चमा प्रस्तुति दिए। सङ्गीतका यी ६ गुण यी तीन सङ्गीत स्रष्टामा मात्र थियो। त्यसैले तिनलाई उस्ताद वा मायस्ट्रो भनिएको हो।
तर, जितेन्द्र बर्देवाको नाम अहिले लगभग सबैले बिर्सिसके। दार्जीलिङले उनीमाथि थोपरेको प्रादेशिकता यसको प्रमुख कारण हो। उनी सरकारी सेवामा जाँदा उनको सिर्जनशीलता कुँजो भयो। अनि उनले कहिले पनि बाहिरको अनुभव लिन खोजेनन्। त्यस विपरीत अम्बर र गोपाल चाहिँ काठमाडौँ आए र त्यहाँको अनुभव सँगाले, सफलता पाए र विविध साङ्गीतिक विधाका गीत रेकर्ड गरे।
यतिसम्म त प्रस्ट छ। तर, जितेन्द्र किन यसरी बौरिनै नसक्ने गरी रक्सीमा डुबे भन्ने कुरा रहस्यको विषय छ। एक गुणी मानिस कसरी सजिलै दुर्व्यसनमा फस्छ भन्ने पाठ उनको छोटो जीवनले दिन्छ।
मर्ने वेलातिर ‘उनले पाँच माइल परबाट पनि भट्टीको गन्ध पाउँथे।’ यसो भन्थे, उनीभन्दा कनिष्ठ मणिकमल छेत्री जो लोक मनोरञ्जन शाखामा बर्देवाका उत्तराधिकारी भए।
तर, त्यो नै उनको समाधिलेख बन्नु हुँदैन।
मेरो तर्फबाट यो आलेख जितेन्द्र बर्देवाको सम्झनामा सानो पुष्पगुच्छा हो। जितेन्द्र बर्देवाको जन्म ८ मार्च १९४२ मा र मृत्यु २ जुलाई १९९५ मा भएको थियो।
- अक्टोबर २००२ को द काठमान्डु पोष्टमा प्रकाशित, २९ जुलाई २०१५ मा इगेन, मिनिसोटामा र ११ अप्रिल २०१७ मा काठमाडौँको शान्तिनगरमा परिमार्जित।
अंग्रेजी मूलबाट अनुवाद : विन्देश दहाल
(गत वर्ष निधन भएका पिटर जे. कार्थकलिखित यो लेख हामीले हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली सङ्गीतस्रष्टा’ पुस्तकबाट लिएका हौं। पुस्तकमा यो लेख 'जितेन्द्र बर्देवा: झरेको चम्किलो तारा' शीर्षकमा प्रकाशित छ।)