सभापतिमा देउवा, पौडेल र कोइरालालाई रोक्ने निधि, कोइराला र सिंहको निष्कर्ष, यस्तो छ रणनीति
कांग्रेस सभापतिको उम्मेदवारीमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शेखर कोइरालालाई रोक्न सके मात्र पार्टी नेतृत्वमा आफूहरू स्थापित हुनसक्ने ठहर विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहको छ।
लगातारको सामूहिक ‘लन्च’ बैठकपछि नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शेखर कोइरालालाई सभापति बन्नबाट रोक्नुपर्ने निष्कर्षमा पुगेका छन्।
मंगलबार पूर्वमहामन्त्री सिंहको चाक्सिबारीस्थित निवासमा भएको छलफलपछि नेतात्रय यस्तो निष्कर्षमा पुगेको बताइएको छ। “उहाँहरू आगामी महाधिवेशनमा कम्तीमा तीन उम्मेदवारलाई रोक्नुपर्ने निष्कर्षमा पुग्नु्भएको छ,” निधि निकट एक केन्द्रीय सदस्यले भने।
भदौमा हुन लागेको कांग्रेसको १४औं महाधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यता निधि, कोइराला र सिंह पनि सभापतिका आकांक्षी हुन्।
५ असारमा उपसभापति निधिलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर देउवाले आफूले पुनः सभापतिमा उम्मेदवारी दिने बताएका थिए। तर, निधिले भने देउवा समक्ष ‘यस पटक सभापतिमा आफूलाई सघाउन’ आग्रह गरेका थिए। त्यसो त २९ साउन २०७७ मै सभापति देउवा समक्ष निधिले अबको महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताइसकेका थिए।
देउवाले कुनै हालतमा आफूलाई साथ नदिने भएपछि ७ असारमा उपसभापति निधिले आफ्नै निवासमा शशांक कोइराला र सिंहलाई बोलाएर छलफलको प्रारम्भ गरेका थिए। संयोगले यो भेला कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधि, बिपी कोइराला र गणेशमान सिंहका छोराहरूको छलफल बन्न पुग्यो। यद्यपि नेतात्रयले यो छलफल ‘परिवारवाद’ भन्दा माथि ‘पार्टीवाद’ मा आधारित भएको बताउँदै आएका छन्।
१२औं महाधिवेशनमा निधिलाई पराजित गरेर सिंह कांग्रेस महामन्त्री बनेका थिए। त्यतिवेला काठमाडौं उपत्यका क्षेत्रबाट सिंहलाई अत्यधिक मत परेको थियो। अहिले पनि खासगरी बागमती प्रदेशमा सिंहको पकड बलियो छ। त्यस्तै, प्रदेश–२ मा निधिको प्रभाव राम्रो छ। निधिले ३ सयदेखि ४ सय महासमिति सदस्यलाई प्रभावित पार्नसक्ने कांग्रेस नेताहरू बताउँछन्।
निधि र सिंह जस्तो विद्यार्थी राजनीतिबाट नआएको भए पनि महामन्त्री कोइरालाको पनि पार्टीमा प्रभाव देखिन्छ। गएको महाधिवेशनमा एउटै ‘प्यानल’बाट उठेका रामचन्द्र पौडेल सभापतिमा पराजित हुँदा पनि कोइराला महामन्त्री निर्वाचित भए। त्यतिवेला आफूलाई देउवा पक्षका कार्यकर्ताले पनि भोट दिएको कोइरालाले बताउँदै आएका छन्। ‘कोइराला बिरासत’ उनको सशक्त पक्ष मानिन्छ।
दुई ‘अस्त्र’
स्रोतका अनुसार, सभापतिका बलिया उम्मेदवार देउवा, पौडेल र कोइरालालाई रोक्न निधि, कोइराला र सिंहसँग दुईवटा ‘अस्त्र’ छन्। पहिलो, यसअघि नै सभापतिमा उम्मेदवारी दिइसकेका देउवा, पौडेल र कृष्णप्रसाद सिटौलालाई पुनः उम्मेदवार बन्न नदिन आग्रह गर्ने, नमाने यही नारा लिएर कार्यकर्तामा अभियान चलाउने। दोस्रो चाहिँ, जसरी भए पनि शेखर कोइरालालाई दौडबाट बाहिर राख्ने।
सभापतिमा आफूलाई जिताउन भन्दै दुई वर्षदेखि देश दौडाहा गरिरहेका शेखर कोइरालाले आफू कुनै हालतमा ‘ब्याक’ नहुने बताउँदै आएका छन्। तर, शशांकले भने आफू सभापतिको प्रत्याशी भए शेखरलाई मनाउन सक्ने निधि र सिंहलाई बताउने गरेको स्रोत बताउँछ। यसका लागि शशांकले ‘कोइराला परिवारबाट एकभन्दा बढी सभापतिमा उम्मेदवार बन्न नहुने’ ‘कार्ड’ प्रयोग गर्ने सम्भावना देखिन्छ।
१३औं महाधिवेशनमा देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिएका थिए। निधि, कोइराला र सिंहले भने यस पटक तीनै जनालाई सभापतिमा नउठ्न आग्रह गर्ने भएका छन्। यसका लागि उनीहरूले शुक्रबार केन्द्रीय सदस्यहरूसँग पनि छलफल गर्ने भएका छन्।
अघिल्लो महाधिवेशनमा देउवासँग पराजित वरिष्ठ नेता पौडेलले ९ असारमा बैठक बोलाएर आफूले सरकार र पार्टीको नेतृत्व गर्न नपाएको भन्दै एक पटक सभापतिमा सघाउन आग्रह गरेका थिए। पौडेलले बोलाएको उक्त बैठकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी र कल्याण गुरुङले पनि सभापति बन्ने इच्छा व्यक्त गरेका थिए।
के चाहन्छन् नेतात्रय ?
अहिले एक ठाउँमा उभिएका देखिने निधि, कोइराला र सिंह स्वयंमा सभापतिका आकांक्षी हुन्। तर, एक्लाएक्लै उम्मेदवारी दिँदा नजित्ने निष्कर्षमा पुगेका उनीहरू यस्तो रणनीति बनाउन बाध्य भएका हुन्।
निधि, कोइराला र सिंहले साझा उम्मेदवार बनाउन सक्दा कम्तीमा दोस्रो स्थानमा आउन सक्ने निधि निकट ती केन्द्रीय सदस्य बताउँछन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मतदाताको समर्थन आवश्यक पर्दछ। पहिलो चरणको मतदानमा कसैले पनि बहुमत पुर्याउन सकेन भने पहिलो र दोस्रो स्थानका दुई उम्मेदवारबीच पुनः मतदान हुन्छ।
निधि, कोइराला र सिंहले भने आगामी महाधिवेशनका लागि देउवा, पौडेल र डा.शेखरलाई नै बलियो उम्मेदवार ठानेका छन्। स्रोतका अनुसार, तीनमध्ये एक वा दुई जनालाई मात्र पनि सभापतिको दौडबाट रोक्न सके उद्देश्यमा सफल हुने नेतात्रयको विश्लेषण छ।