भारतमा चार लाखबाट ४० हजारमा झरे नयाँ संक्रमित
भारतमा कोभिड-१९ संक्रमितको संख्या दैनिक चार लाखबाट ४० हजारमा झरेको छ। कोरोनाभाइरसको दोस्रो लहर चलेको १०२ दिनपछि ४० हजारभन्दा कम संक्रमित थपिएका हुन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, केही दिनयता संक्रमितको संख्या ४० हजारभन्दा तल रहेको छ। पछिल्लो २४ घण्टामा पनि ३७ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड तीन लाख १६ हजार ८९७ पुगेको छ। यसमध्ये तीन लाख ९७ हजार ६६८ जनाको मृत्यु भएको छ। त्यस्तै, दुई करोड ९३ लाख ६६ हजार ६०१ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा भारतका कुनै पनि राज्यमा संक्रमितको संख्या १० हजार नाघेको छैन। सबैभन्दा बढी केरलमा आठ हजार ६३ जना संक्रमित थपिएका छन्। दोस्रो लहरको केन्द्र बनेको महाराष्ट्रमा पनि ६ हजार ७२७ जनामा संक्रमण देखिएको छ।
भारतमा झन्डै दुई महीनाअघि ६ मेमा एकै दिन चार लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रिमतकाे संख्या क्रमिक रूपमा घट्दै आएको छ। अहिले दैनिक थपिने संक्रमितको संख्या ४० हजारभन्दा कम रहेको छ।
भारतमा कोरोना नियन्त्रणका लागि परीक्षण, कन्ट्याक्ट ट्रेसिङसँगै खोपमा जोड दिइएको छ। अहिलेसम्म ४० करोड ८१ लाख ३९ हजार २८७ जनाको पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै, पछिल्लो समय खोपमा जोड दिएको छ। भारतमा ३२ करोड ९० लाख २९ हजार ५१० जनालाई खोप लगाइएको छ। सोमबार मात्रै ५३ लाख ६६ हजार २१६ जनालाई खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
भारतले ६० वर्षभन्दा माथिका ६७.३ प्रतिशत नागरिकलाई खोप लगाइसकेको छ। त्यस्तै, ४५ वर्षभन्दा माथिका पनि ६०.१ प्रतिशत र १८ वर्षभन्दा माथिका २८.८ प्रतिशतले खोप लगाएका छन्।