शेक्सपियरको घरमा बैरागी काइँलासँग
मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ। झिँगाको संगत गरे फोहोरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ। मौरी बन्ने प्रयत्नमा रानो मौरीकै संगत गर्ने अवसर पाएछु, शेक्सपियरको शहरमा।
धीत मरुन्जेल कार्डिफ शहरको फन्को मारियो। बेलायतका चार राज्यमध्ये एक वेल्सको राजधानीमा हाम्रो भ्रमणलाई व्यवस्थित गर्न मिजास तेम्बे, नरेश नाती र नरेश काङमाङको क्रियाशीलता स्मरणीय थियो। मित्रहरूको परिपक्व व्यवस्थापनमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, राजन मुकारुङ र नामओती नेम्वाङका साथ मैले पनि कार्डिफ शहरको फन्को लगाएँ, ७ अक्टोबर, २०१५ मा।
कार्डिफ शहरको फन्को मारिरहेको वेला फोन बज्यो, ‘दाइ, क्षमा पाऊँ। अहिले जागीरको सिलसिलामा अलि टाढा छु। तपाईंसँग भेट गर्ने इच्छा छ। समय पनि कस्तो भने म दौडेर तत्काल तपाईं भएको ठाउँसम्म पनि आउन नपाउने भएँ।’
कवि मित्र भरु पल (भरतमणि चोङवाङ) टाढा स्कटल्यान्डबाट बोलिरहनुभएको थियो। भरतजी, विमला र भान्जाभान्जीलाई भेट्ने मेरो पनि मन थियो। तर, समय, परिस्थिति र दूरी प्रतिकूल थियो। त्यसैले हामी दुवैले मन बुझाउनुको विकल्प थिएन र भनेँ, ‘चिन्ता नलिनुस् भरतजी, समयले साथ दियो भने फेरि भेटौँला नि!’
कार्डिफ शहरको फन्को लगाएर हामी ब्रेकन फर्किरहेका थियौं। एकछिन एक ठाउँमा बिसौनी पर्यो। त्यहाँबाट मिजासजीले एउटा चुचुरोलाई देखाउँदै भन्नुभयो, ‘भोलि हामी यहाँ चढ्नेछौं।’
***
सन् २०१५ को सेप्टेम्बर र अक्टोबरमा म बेलायत भ्रमणमा थिएँ। संयोग पनि कस्तो, यस पटकको विदेश भ्रमण पनि बैरागी काइँलासँग जुर्न पुग्यो।
यसअघि सन् २०१० मा हङकङको भ्रमणका लागि बैरागी काइँलासँग मैले पनि निम्तालु बन्ने अवसर पाएको थिएँ। हङकङका नेपाली सञ्चारकर्मी, समाजसेवी तथा अभियन्ता किसन राईको सौजन्यपूर्ण निम्तो स्वीकार गरेर प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति काइँलाकै पछि लागेर म हङकङ पुगेको थिएँ।
त्यहाँका गगनचुम्बी महल, नीलो समुद्र, चिल्लो र सफा सडक, ठूल्ठूला शपिङ मल, सुविधायुक्त मेट्रो, दौडादौड गरिरहेका मानिस सहितको वैभवशाली हङकङलाई देख्दा मलाई सपना हो कि विपना जस्तो लागेको थियो। तर, फेरि नेपाली नातेदार तथा मित्रहरूसँगको पारिवारिक जमघट, सुखदुःख साटासाट र खानपिनमा मस्त हुँदा नेपालबाट अन्यत्र कहीँ पुगेको छैन जस्तो पनि भान हुने!
हङकङ मेरो पहिलो विदेश यात्रा। त्यसैले पनि त्यहाँको रमझमले मथिंगललाई सपना हो कि विपना जस्तो हुने गरी रन्थन्याएको थियो।
यसको आठ–नौ महीनापछि फेरि अर्को अवसर मिल्यो, प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाकै साथ। काइँलालाई सिक्किमको गान्तोकमा बोलाएर इतिहासकार इमानसिंह चेम्जोङको जन्मजयन्तीका अवसरमा तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङको हातबाट सम्मान गर्ने कार्यक्रम रहेछ। यो निम्तो बोकेर आउनुभएको थियो, साहित्यकार तथा भाषासेवी एचबी खाम्धाक र बीएम पेघा।
उहाँहरूको निम्तो चार जनाका लागि थियो। यसमा बैरागी काइँला दम्पती, एक जना सञ्चारकर्मी र एक जना लिम्बू बुद्धिजीवी। सञ्चारकर्मीका रूपमा काइँलाले मलाई छानिहाल्नुभयो। एक जना बुद्धिजीवी कसलाई लैजाने भन्ने सरसल्लाहका लागि काइँला निवास सुकेधारा बोलाउनुभयो।
‘उता जाने तीन जना त भयौँ, अब अर्को कसलाई लैजाने त?’ काइँला सोच्दै हुनुुहुन्थ्यो। उपाय फुरे जस्तै गरी भन्नुभयो, ‘लु, डा. गोविन्द तुम्वाहाङले सिक्किम जाने रहर गर्दै थिए हौ।’ उहाँले फोन हान्नुभयो, तर उठेन।
‘यसो गरौं न कुलपतिज्यू, कमल तिगेलाजी पनि लिम्बूमै पीएचडी गर्ने तयारीमा हुनुहुन्छ। उहाँलाई हामीसँगै लैजादा के फरक होला र?’ डा. तुम्वाहाङको फोन नउठेपछि मैले अनुरोध गरेँ। कुलपतिज्यूबाट हुन्छ भन्ने संकेत पाएपछि धरानमा रहनुभएका मित्र कमलजीलाई फोन हानेँ, उहाँले सिक्किम जान खुट्टा उचालिहाल्नुभयो।
कुलपतिज्यूलाई यो सूचना सुनाएको केही क्षणपछि डा.सा’बबाट कलब्याक आयो, जसले सिक्किम जाने मन गरिरहनुभएको थियो। सोचेँ, कुलपतिज्यूले जवाफ दिनुहोला, ‘सँगै सिक्किम जान पर्यो भनेर अघि फोन गरेको थिएँ, फोन उठेन, अर्कै व्यक्तिको व्यवस्था भइसक्यो।’ फेरि डा. सा’ब ‘होइन, मै पो जानुपर्यो हौ’ भन्दै आफैं जान खोज्नुभयो भने कमलजीको व्यवस्थापन कसरी गर्ने होला? मलाई चिन्ता पर्यो।
तर, कुलपतिज्यूले डा.सा’बलाई भन्नुभयो, ‘पर्सि भाषा सम्बन्धी गोष्ठी छ, एकेडेमीमा आउनू है।’
यति भएपछि मेरो तनाव पनि हटिहाल्यो।
डा.तुम्वाहाङ त्यसवेला त्रिवि, सिनासमा हुनुहुन्थ्यो। पछि प्रदेश १ को प्रमुख हुनुभयो।
कमलजीले पनि यसै वर्ष त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो।
***
हङकङ र सिक्किमको भ्रमणको पाँच वर्षपछि फेरि बैरागी काइँलासँगै बेलायत यात्रा जुरेको थियो। उहाँ नेपाली प्रतिभा प्रतिष्ठानको सम्मान थाप्न जाँदै हुुनुहुन्थ्यो भने म चाहिँ नेपाली वाङ्मय प्रतिष्ठानको निम्तोमा साहित्यिक यात्रा गरिरहेको थिएँ।
नेपाली प्रतिभा प्रतिष्ठानले लन्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी भइसकेपछि हामी बाँडियौँ। नेपाल वाङ्मय प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिव जयलक्ष्मी राईको भागमा परेँ म।
उहाँहरूका साथै भेना (बुद्धि राई)को पछि लागेर मैले वर्किङ्घम प्यालेस, लन्डन ब्रिज, ब्रिटिश म्यूजियम लगायत मुख्य स्थानको सेरोफेरो अवलोकन गरेर लन्डनको फन्को मार्न भ्याएँ। उहाँहरूले ती ठाउँहरूको ऐतिहासिकता र विशेषताबारे ज्ञान दिएर मलाई तृप्त बनाइरहनुभएको थियो।
लन्डनको फन्को मारिरहेको वेला फोन बज्यो। उताबाट आवाज आयो, ‘दाइ नमस्कार, तपाईं नेपालबाट आउनुभएको सुनेर खुशी लाग्यो, सकेसम्म म तपाईँलाई भेट्ने कोशिश गर्नेछु।’
उनी रहेछन्, मेरा स्कूले जीवनका साथी पुष्पराज मिश्र (राष्ट्रिय अनुसन्धान विभागका डीएसपी)का भाइ ईश्वर। उनीसँग भेट नभएको दुई दशकभन्दा बढी भइसकेको थियो। जे होस्, उनले मलाई सात समुद्रपारमा सम्झनु मात्रै पनि उपलब्धि ठानेँँ। भाइलाई भने, ‘अहिले म आफ्नै तालिकाको बन्धनमा छु, मौका मिले कुनै दिन हाम्रो पक्कै भेट हुनेछ।’
यसअघि विकलजी र जयलक्ष्मी दिदीको पछि लागेर कहिले समुद्रको किनार त कहिले वन्यजन्तु निकुञ्ज जस्तो प्राकृतिक मनोरम स्थलको स्वच्छ हावाले काठमाडौं खाल्डोको धुवाँ र धुलोबाट उकुसमुकुस भएको फोक्सोलाई सफा गरिरहेको थिएँ।
यसरी म १ अक्टोबर, २०१५ मा लन्डनको फेरो मारिरहेको थिएँ।
***
नेपाली वाङ्मय प्रतिष्ठान र नेपाली प्रतिभा प्रतिष्ठानका सर्जकहरूको सरसल्लाह अनुसार अब हाम्रो अर्को विशेष यात्रा शुरू हुँदै थियो। म अधैर्यपूर्ण उत्सुकतामा थिएँ। त्यो एउटा ऐतिहासिक स्थलको तीर्थयात्रा थियो। मैले विकलजीको घरपरिवारबाट फेरि भेट्ने वाचाका साथ बिदा मागेर त्यस तीर्थस्थलतर्फ जानु थियो।
जयलक्ष्मी दिदी, विकलजीका साथै हाम्रो गाडीमा अर्को एक जना विशिष्ट पाहुना हुनुहुन्थ्यो, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैया। उहाँको पहिचान राजनीतिमा मात्र सीमित छैन, सशक्त साहित्यकार पनि हुनुहुन्छ।
त्यो वेला नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नाम व्यापक चर्चामा थियो। उनको नियुक्तिको वेला विरोध र समर्थनमा ठूलै होहल्ला मच्चिएको थियो। उनै लोकमानसिंह कार्की जलस्रोत मन्त्रालयमा सचिव हुँदा बलदेव शर्मा मजगैया चाहिँ विभागीय मन्त्री हुनुहुन्थ्यो। गाडी दौडिरहेको वेला विकलजीले सोध्नुभयो, ‘तपाईं मन्त्री हुँदा कार्की सचिव थिए, तपाईंले त बीचैमा मन्त्री पदबाट राजीनामा दिनुभएको होइन?’
‘हो नि, सचिव भएर मन्त्रीलाई नै अराउखटाउ गरुँला जस्तो गर्नेसँग कसरी काम गर्ने? कुरा मिलेन, खटपट पर्यो। सोचे जस्तो कामै गर्न नदिने। मेरो नैतिकताले त्यस्ता सचिवसँग काम गर्न मानेन र बरु आफैं सात महीनापछि राजीनामा गरेँ,’ नेपाली राजनीतिका सादगी व्यक्तित्व मजगैयाज्यूले कारण खुलाउनुभयो।
एभन नदी कलकलाउँदै बगिरहेकी थिइन्। बेलायतको सुशासन र सभ्यता त्यहीँ कलकलाउँदै बगिरहेकी एभन नदीको छायाँमा प्रकट हुन्थ्यो। कति निर्मल, कति स्वच्छ!
यस्तै राजनीतिका र साहित्यका अनेक कुरा गर्दै गन्तव्यमा पुग्यौं। गन्तव्य थियो, स्ट्राटफोर्ड। यस ठाउँको हेन्ले स्ट्रिटले विशेष अर्थ बोक्छ, अंग्रेजी साहित्यको क्षेत्रमा। यहाँ महान् साहित्यकार शेक्सपियरको जन्मघर छ। एउटा विशेष संग्रहालयका रूपमा, जहाँ कैयौँ साहित्यिक तीर्थयात्रीको भीड लाग्छ। हामी पनि त्यहाँ तीर्थयात्रीका रूपमा पुगेका थियौँ।
४ अक्टोबर, २०१५ मा हेन्ले स्ट्रिटमा पारिलो घाम लागेको थियो। बैरागी काइँलाका साथ अर्को टोली आइपुगेको थिएन। उहाँहरूलाई पर्खन हामी एउटा चौरमा बस्यौँ, कुराकानी गर्दै अनि केही खाँदै। नजिकै एभन नदी कलकलाउँदै बगिरहेकी थिइन्। बेलायतको सुशासन र सभ्यता त्यहीँ कलकलाउँदै बगिरहेकी एभन नदीको छायाँमा प्रकट हुन्थ्यो। कति निर्मल, कति स्वच्छ!
यता हाम्रो देशको राजनीति र सभ्यताको अनुहार चाहिँ बागमती, विष्णुमती र टुकुचालाई हेर्दा पुग्ने। भूकम्प गएको धेरै भएको थिएन, त्यतिवेलै भारतले नाकाबन्दी शुरू गरेको थियो। एभन नदीको छेउमा उभिएर देश सम्झिरहँदा मन कटक्क खाइरहेको थियो। संसार कहाँ पुगिसक्यो, हामी भने जहाँको त्यहीँ!
बल्ल बैरागी काइँलालाई लिएर आइपुग्नुभयो, दयाकृष्ण राई, गणेश राई, टङ्क वनेम, मिजास तेम्बे, नरेश नाती, नरेश काङमाङ लगायत सर्जक टोली। त्यसपछि शुरू भयो, जीवनकै अविस्मरणीय क्षणलाई क्यामेरामा कैद गर्ने क्रम। फोटो खिचिँदै थियो, कुनै सामूहिक रूपमा र धेरैजसो बैरागी काइँलासँग युगल रूपमा। शेक्सपियरको घरको आँगनमा गरिएको फोटो सेसनले लामै समय खाइदियो।
शेक्सपियरको जन्मघरको संग्रहालयको व्यवस्थापन शेक्सपियर वर्थप्लेस ट्रस्टले गरेको छ। यो घरभित्र पस्ने वेलामा त्यतिखेर मैतिदेवीमा बिजोग अवस्थामा पुगेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको सम्झना आइरहेको थियो।
अब हामी शेक्सपियरको घरभित्र पाहुना लाग्दै थियौँ। शेक्सपियरको जन्म यहीँ घरमा २६ अप्रिल, १५६४ मा भएको थियो। उनले आफ्नो बाल्यकाल यहीँ बिताएका थिए। शेक्सपियरको पैतृक पेशा छालाका सामानको व्यापार थियो। कवि, नाटककार तथा अभिनेताका रूपमा संसारले चिन्ने शेक्सपियरले २३ अप्रिल, १६१६ मा प्राणत्याग गरे।
उनको जन्मघरको संग्रहालयको व्यवस्थापन शेक्सपियर वर्थप्लेस ट्रस्टले गरेको छ। यो घरभित्र पस्ने वेलामा त्यतिखेर मैतिदेवीमा बिजोग अवस्थामा पुगेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको सम्झना आइरहेको थियो।
हाम्रो टोलीमा १५ जना थियाैं। गेटभित्र प्रवेश गरेपछि शेक्सपियरका हस्तलिखित पाण्डुलिपि, त्यो समयको शेक्सपियरका गतिविधिलाई चित्रण गर्न कोरिएका चित्रहरू, उनीबारे बनाइएका श्रव्यदृश्य हेर्दै थियौँ। मलाई भने त्यति ठूलो समूहमा शेक्सपियरको घरको बुइँगलभित्रको मूल कोठाभित्र सबैजना एकैचोटि छिर्दा अलि गजबले अवलोकन गर्न नपाइएला भन्ने डर लाग्यो।
त्यसपछि समूह छाडेर सुटुक्क एक्लै बुइँगल चढेँ। म बुइँगल पुग्नासाथ त्यहाँ कार्यरत एक पुरुष कर्मचारीले सोधिहाले, ‘तपाईंहरू कहाँबाट आउनुभएको?’
‘हामी कोही नेपालबाट यहाँको भ्रमणमा आएका छौँ, धेरैजसो चाहिँ यतै रहेर जागीर तथा व्यवसाय गर्नेहरू हुनुहुन्छ,’ मैले छोटकरीमा उनको जिज्ञासा मेट्ने प्रयास गरेँ।
उनले फेरि सोधे, ‘स्कार्फ र टोपी लगाउने अलि पाको उमेरको हुनुहुन्छ नि, उहाँ चाहिँ को हुनुहुन्छ?’
‘उहाँ नेपालका एक विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति हुनुहुन्छ। उहाँको लेखनको क्षेत्र कविता र संस्कृति हो,’ मैले छोटकरीमा उनलाई उत्तर दिएको थिएँ।
***
शेक्सपियरको घरको अवलोकनपछि हामी फेरि बाँडिनुपर्ने भयो, कोही नयाँ गन्तव्यतिर, कोही आ–आफ्नो घरतर्फ।
बैरागी काइँला, नामओती र मेरो गन्तव्य पर्यो वर्मिङ्घम। साहित्यकार तथा संस्कृतिकर्मी टङ्क वनेमको घरमा वास परेको थियो, त्यो रात। हामीलाई लिएर त्यसतर्फ गुडाउनुभयो, दयाकृष्ण राईले।
टङ्क वनेमको निवास जानुको मेरो अर्को ठूलो उत्सुकता थियो। लिम्बू इतिहास र संस्कृतिमा गहिरो रुचि र दख्खल भएका टङ्क सरको निवासमा रहेका पुराना ऐतिहासिक कागजपत्र हेर्न पाउने अवसरलाई म गुमाउन चाहन्नथेँ। नेपालको आफ्नो पुर्ख्याैली घरमा रहेका कागजपत्रलाई उहाँले जतनसाथ बेलायत लैजानुभएको छ, अध्ययनका लागि।
१७ किलोमिटर लामो यो गुफा अद्भुत छ। त्यस क्षेत्रको पर्यटनका लागि आकर्षक गन्तव्यमा रूपमा रहेको डान नामको यो गुफा सन् १९१२ मा पत्ता लागेको हो। गुफाभित्र पस्दै जाँदा भित्र आकर्षक झरनाहरू छङ्छङाउँदै झरिरहेका देखिन्थे। मनमोहक पुलबाट ताल तलैया तरेर जाँदा भित्र मानव अस्थिपञ्जर पनि प्रशस्तै देखिए।
हामीले ती कागजपत्र पल्टाएर गम्भीर छलफल गर्याैं।
टङ्क सरले हाम्रा लागि गाँस प्रबन्ध आफ्नै घरमा र वास चाहिँ नजिकैको होटलमा मिलाउनुभएको रहेछ। उहाँ पनि हामीसँगै होटलमा आउनुभयो, बस्न। राति अबेरसम्म उहाँले मुन्धुमविद् बैरागी काइँलासँग मुन्धुमका अनेक पाटा, प्रसंग र आयामबारे मौखिक जिज्ञासा राख्दै आवाज रेकर्ड पनि गर्नुभयो।
टङ्क सरले यो क्रम बाटोमा हिँड्दा पनि जारी राख्नुभयो। यसरी शहर घुमिरहेको वेला पनि टङ्क सरले बैरागी काइँलालाई लिम्बू संस्कृति र मुन्धुमकै विषयमा अनेक जिज्ञासा राखिरहनुभयो, रेकर्डरका साथमा। उहाँले बैरागी काइँलासँगको भेटको त्यो अवसरलाई गुमाउन नचाहेको देख्दा लाग्यो, टङ्क सरमा मुन्धुम र संस्कृतिप्रतिको जिज्ञासा र समर्पण उच्च कोटिको रहेछ। हुन पनि बेलायत जस्तो देशमा व्यस्त रहने मानिसलाई बैरागी काइँलासँग यति गम्भीरतापूर्वक महत्त्वपूर्ण कुरा गर्ने अवसर पो कहिले जुट्नु?
उहाँले हामीलाई वर्मिङ्घम शहर घुमाउने कार्यक्रम राख्नुभएको थियो, ५ अक्टोबर २०१५ मा।
***
लामो दूरीको ड्राइभिङ गरेर मिजासजी हामीलाई लिन आइपुग्नुभयो। अब वेल्स राज्यमा रहुन्जेल हामीलाई पाल्ने, घुमाउने जिम्मा उहाँ र नरेश नातीको काँधमा थियो। ब्रिटिश गोरखा सैन्य जीवनमा रहेर पनि नेपाली भाषा, साहित्य, संस्कृति र संगीतको उन्नयनका लागि मरिमेटेर लागेका उहाँहरू त्यतिखेर वेल्स राज्यमा कार्यरत हुनुहुन्थ्यो।
त्यहाँका मुख्य क्षेत्र घुमाउने क्रममा कार्डिफ शहरको फन्को मारिएको भोलिपल्ट अर्थात् ८ अक्टोबर, २०१५ मा दुइटा एड्भेन्चर भ्रमणमा थियौँ।
यसैक्रममा पहिले एउटा गुफामा पस्नुपर्ने भयो। १७ किलोमिटर लामो यो गुफा अद्भुत छ। त्यस क्षेत्रको पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा रहेको डान नामको यो गुफा सन् १९१२ मा पत्ता लागेको हो।
गुफाभित्र पस्दै जाँदा भित्र आकर्षक झरनाहरू छङ्छङाउँदै झरिरहेका देखिन्थे। मनमोहक पुलबाट तालतलैया तरेर जाँदा भित्र मानव अस्थिपञ्जर पनि प्रशस्तै देखिए। चिहानमा समाधिस्थ गरेको अवस्थाका अस्थिपञ्जर थिए ती। गुफा पत्ता लगाउने क्रममा ४८ मानिसका अस्थिपञ्जर यहाँ भेटिएका थिए।
हामी बेलायतमा बानी नपरेकाहरू अलि बाक्लो लुगामा थियौँ। तर, मिजासजीले आफ्नो पल्टनको प्रतीक चिह्न भएको टिसर्ट लगाउनुभएको थियो। चुचुरोबाट फर्केका बेलायतीले चिनिहाले र उहाँलाई ‘हाई गुर्खा’ भनेर सम्बोधन गरे। छक्क परेर मैले मिजासजीलाई सोधेँ, ‘यी खैरेहरूले ब्रिटिश गोरखालाई यस्तो सद्भाव राख्छन्?’
यो गुफा पत्ता लगाउनेमा एड्विन, टमी र जेफ मोर्गन दाजुभाइ हुन्। तीमध्ये कान्छा एड्विनले सबैभन्दा पहिले गुफाभित्र पस्ने आँट कसेका थिए। एड्विन यो गुफामा पहिलो पटक प्रवेश गर्दा मैनबत्तीको उज्यालो र सम्भावित खतराबाट जोगिन पेस्तोल जस्ता हतियारले सुसज्जित थिए। त्यसै क्रममा गुफाभित्र तीन वटा तलाउ फेला परे।
डान गुफाको अवलोकनपछि हामी वेल्स राज्यको दक्षिणी क्षेत्रमा रहेको सर्वोच्च चुचुरो चढ्न त्यसतर्फ लाग्यौँ। समुद्री सतहबाट चुचुरोको उचाइ छ, ८८६ मिटर। पेनवाइफान नामको यो चुचुरो चढेर फर्कने र चढ्दै गर्नेहरू फाट्टफुट्ट भेटिँदै थिए।
हाम्रो यो एड्भेन्चर भ्रमणमा सबैभन्दा अगाडि नामओती थिइन्। उनलाई म पछ्याइरहेको थिएँ, बन्दोबस्तीका सामानसहित हिँडिरहेका मिजास र नरेशजी बैरागी काइँलालाई पर्खंदै हिँड्दै गरिरहनुभएको थियो।
हामी बेलायतमा बानी नपरेकाहरू अलि बाक्लो लुगामा थियौँ। तर, मिजासजीले आफ्नो पल्टनको प्रतीक चिह्न भएको टिसर्ट लगाउनुभएको थियो। चुचुरोबाट फर्केका बेलायतीले चिनिहाले र उहाँलाई ‘हाई गुर्खा’ भनेर सम्बोधन गरे।
छक्क परेर मैले मिजासजीलाई सोधेँ, ‘यी खैरेहरूले ब्रिटिश गोरखालाई यस्तो सद्भाव राख्छन्?’
‘अरे दाइ, अलि पाको पुस्ताकाले त ब्रिटिश गोरखालाई भेटे भने घप्लक्क अँगालो मारेर भावुक हुँदै तिमीहरूले गर्दा हाम्रो देश बचेको, युद्धको वेला हाम्रा परिवारका सदस्यलाई बचाइदिएको भन्दै ठूलो सराहना पो गर्छन् त,’ क्षणभरमै मिजासजीले मेरो जिज्ञासा मेटाइदिनुभयो।
हामी सबै चुचुरोमा पुग्यौँ। आकाश धुम्मिएको थियो। जाडो थियो।
तर, हाम्रो आतिथ्य गर्ने दुई पल्टनियाँ सर्जक साथमै भएपछि कुनै चिन्ता थिएन। क्षणभरमै टेन्ट टाँगियो। ग्यास बालियो। टेन्टभित्रै तातो कफी आइपुग्यो। बिस्कुट र केही ड्राइफुडले त्यो चुचुरोमा मिजासजी र नरेशजीले खातिरदारी गर्नुभयो। चिसोमा साटियो न्यानो आत्मीयता।
सात समुद्रपारको एउटा देशभित्रको पेनवाइफान शिखर आरोहण गरेर हामी सगरमाथाको देशका बासिन्दा फर्क्याैं, आधारशिविर ब्रेकन शहरमा।
***
मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ। झिँगाको संगत गरे फोहोरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ। मौरी बन्ने प्रयत्नमा रानो मौरीकै संगत गर्ने अवसर पाएछु। उनै रानो मौरी बैरागी काइँला अहिले गम्भीर रूपमा बिरामी हुनुहुन्छ। उहाँको स्वास्थ्यलाभको हार्दिक कामना !