धानको नालीबेली
एक तथ्यांक अनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो। ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन फले पनि यो अवधिमा खाने मुख तीन गुणा बढ्दा आन्तरिक उत्पादनले पुग्ने देखिँदैन।
छुपुमा छुपु धानैमा रोपौं गरामा पसेर
पानीमा खेलौं, रमाइलो गरौं हिलोमा घसेर
ए हजुर बाउसे लगाऊँ
ए हजुर खाजामा खाऊँ, आलीमै बसेर... ।
जब असार लाग्छ, किसानहरू सम्पूर्ण दु:ख बिर्सेर रमाइलो गर्दै मानो रोपेर मुरी उब्जाउने रोपाइँ कर्ममा लाग्छन्। नेपालीहरूको प्रमुख खाद्य बाली धान हो र यसको खेती मुलुकका प्राय: सबैजसो स्थानमा गर्न सकिन्छ। मुलुकमा करीब ७८० प्रकारका धानको खेती गरिँदै आएको छ। धानको बीउ उत्पादन र विकासमा कृषि अनुसन्धान केन्द्रहरू, कृषि फर्म, नेपाल कृषि अनुसन्धान परिषद् जस्ता निकायले काम गर्दै आएका छन्।
नेपालको धान खेती मनसुनमा आधारित भएकाले करीब असारको पहिलो सातादेखि रोपाइँ गरिन्छ। असारको १५ गते हिलोमा पसेर धान रोपेमा सह हुने विश्वास गरिन्छ। यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ, जुन नेपाली माटो सुहाउँदो मौलिक पर्व हो।
धान खेतीको इतिहास
धानको उत्पत्ति र खेती चीनबाट शुरू भएको हो भन्ने कुरामा एकमत भए पनि कहिले भन्ने कुरामा मतैक्य छैन। ५००० देखि ७००० इसापूर्वतिर नै यसको अस्तित्व रहेको मानिन्छ। कतिपयले आजभन्दा करीब १२ हजार वर्षअघि चीनको याङ्जे नदीको उपत्यकामा यसको खेती भएको उल्लेख गरेका छन्।
सन् १९९६ मा डेभिड आर. ह्यारिसको सम्पादनमा प्रकाशित पुस्तक 'दी ओरिजिन एन्ड स्प्रिड अफ एग्रिकल्चर एन्ड पस्टोरेलिज्म इन यूरेसिया' का अनुसार धान खेती १३ हजार ५०० देखि ८ हजार ५०० वर्षअघि चीनमा भएको हो। चीनपछि भारतीय उपमहाद्वीपको गंगा मैदानमा यसको खेती फैलियो। विश्वमा उत्पादन हुने करीब ७५ प्रतिशत धान चीन र भारतले उत्पादन गर्छन्।
धान विश्वका ६० प्रतिशत मानिसको प्रमुख खाद्य बाली हो। एसियाका ९० प्रतिशत मानिसको खानाको मुख्य आधार धान नै हो। धान उत्पादन गर्ने प्रमुख मुलुकहरू चीन, भारत, इन्डोनेसिया, बाङ्लादेश हुन्। त्यसपछिको लहरमा जापान र पाकिस्तान पर्छन्। यूरोप, अफ्रिकी मुलुकहरू, उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाका आंशिक स्थानहरूमा धान खेती हुन्छ।
धान एक, उपयोगिता अनेक
धानमा मुख्य गरेर कार्बोहाइड्रेड पाइन्छ, यसको मात्रा करीब ९० प्रतिशत हुन्छ। ८/१० प्रतिशत प्रोटिन र १ प्रतिशत जति फ्याट र लवण पाइन्छ। ब्राउन राइसमा थाइमिन, निआसिन, राइबोफ्लाभिन, आइरन, क्याल्सियम पाइन्छ। त्यसैले यस्तो चामललाई उत्तम मानिन्छ। सेतो चामलमा थाइमिन र लवण नपाइने भएकाले यसलाई त्यति राम्रो मानिँदैन। यिनै पोषण तत्त्वको अभावमा बेरिबेरी भन्ने रोग लाग्छ।
धान बहुउपयोगी छ। कुल उत्पादित धानको ९५ प्रतिशत मानिसको खानाका रूपमा उपयोग हुन्छ। यसबाट मुख्य खाना भात, सूप, सहायक खाना जापानीज सेक, जाडो मौसममा नेपालको पूर्वी तराईमा रुचाइने भक्का बनाइन्छ। सेलरोटीको प्रमुख अवयव चामल नै हो। मुरै (भुजा), चिउरा नेपालीले मन पराउने धानजन्य खानेकुरा हुन्।
धानको बोट समेत हाम्रो जनजीवनमा उपयोगी हुन्छ। परालबाट गुन्द्री, गजरा, बोरा, कागज बनाउन सकिन्छ। ब्रान चाहिँ तेल, कस्मेटिक सामान, साबुन आदि बनाउन सहायक हुन्छ। भुसलाई गाईबस्तुको खाद्यान्नका साथै इन्धनका रूपमा समेत प्रयोग गरिन्छ।
चामलमा पाइने स्टार्चलाई यूरोपियन मुलुकहरूले चकलेट तथा पाउरोटी उद्योगमा प्रयोग गर्छन्। कनिकालाई अल्कोहलजन्य पेय पदार्थ बनाउन प्रयोग गरिन्छ।
धानका प्रजाति
विश्वभर प्रचलनमा आएका धानका प्रजातिहरू ओरिजा सेटिभा र ओरिजा ग्लाबेरिमा हुन्। ओरिजाका जम्मा २० प्रजाति पत्ता लागे पनि माथि उल्लिखित दुईको मात्र खेती गरिन्छ। ओरिजा सेटिभा एसियाली मुलुकहरूमा खेती गरिन्छ। अफ्रिकामा खेती गरिँदै आएको चाहिँ ओरिजा ग्लाबेरिमा प्रजाति हो।
ओरिजा पेरिनिस भन्ने जंगली धानबाट ओरिजा सेटिभा प्रजातिको विकास भएको मानिन्छ। यस्तै, ओरिजा ब्रेभिलिगुलाटा वा ओरिजा ग्लाब्रा भन्ने पश्चिमी अफ्रिकी जंगली धानबाट ओरिजा ग्लाबेरिमाको विकास भएको ठानिन्छ। एसियामा खेती गरिने धानको प्रजातिका पनि तीन वटा अलग-अलग समूह छन्। इन्डिका, जापोनिका र जाभानिका। चीन, जापान र कोरियाबाट फैलिन शुरू गरेको, धेरै गर्मी र धेरै जाडो नसहने धान जापोनिका समूहमा पर्छ। भारतीय उपमहाद्वीपको गर्मी मौसम मन पराउने, उष्णकटिबन्ध क्षेत्रमा खेती गरिने चाहिँ इन्डिका हो। इन्डोनेसियाली धान जाभानिका समूहको हो।
यी तीन वटै समूहका धानका बोटहरू र तिनमा लाग्ने दानाको रङ र बनोट पनि फरक-फरक किसिमका हुन्छन्। नेपालमा करीब २ हजार थरीका धान पाइन्छन्। नेपालमा पाइने र यहाँकै हावापानीमा र माटोमा अनुकूलित भएर रहेका धेरै थरी धानको अस्तित्व सङ्कटमा परेको छ।
नेपालका धानविज्ञ बीबी साहका अनुसार, कनकजिरा, बासमती, मार्सी, कालानिमक, झिनुवा, मन्सरा, मनभोग, घिउकुमारी, कृष्णभोग, गाम्दी, सठिया, कस्तुरी, घैया, समुद्रफल आदि प्रकारका धानहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। पूर्वी तराईमा खेती गरिँदै आएका ताइचन, कुकुरजाली, लालधान, लालबच्छी, ठूलीमन्सुली, पारिजात, भोटाङे, खेम्ती, दोस्रा जस्ता धानका बीउहरू हराइसकेका छन्। रोगसँग लड्नसक्ने, घुन र पुतलीले नखाने, लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले किसानका लागि यी बीउ उपयोगी हुन्छन्।
नेपालमा धान खेती र मौलिक पहिचान
विश्वमै सबैभन्दा अग्लो स्थानमा खेती गरिने धान 'जुम्ली मार्सी' हो। यसको खेती जुम्ला जिल्लाको छुम चौर भन्ने स्थानमा गरिन्छ। यो ठाउँ समुद्री सतहबाट ३ हजार ८० मिटर उचाइमा अवस्थित छ।
नेपालको धान खेती प्रणालीबारे गहिरो अध्ययन गर्ने महेशलाल वैद्यका अनुसार, जुम्लामा उक्त धान खेती गर्ने चलन अचम्मको छ। प्रचलन अनुसार, १२ चैतमा धान भिजाइन्छ र १६ गते पानी तर्काएर गुम्स्याइन्छ। २० गते उम्रेका टुसालाई राम्ररी तयार पारेको हिले ब्याडमा छरिन्छ।
धानको बीउ गुम्स्याउने चलन त झनै घतलाग्दो छ। न्यानो भान्साकोठामै भिजेका धानका गेडा फिँजाएर त्यसमाथि ओछ्यान लगाएर परिवारका सबै सदस्य सुत्छन्। शरीरको तापबाट बीउ अङ्कुराउन थालेपछि ब्याडमा लगिन्छ। अंकुरणको यो प्रविधिको अभिलेखीकरण र धानको प्रजातीय संरक्षण महत्त्वपूर्ण छ। देशका अन्य स्थानहरूमा प्रचलित धान रोपाइँसँग सम्बन्धित परम्पराहरूको खोजी गरिनु पनि आवश्यक छ।
धान नाच नेपालको किरात समुदायसँग जोडिएको छ। उँधौली/उँभौली, धान्य पूर्णिमा, धान्याचल महायज्ञ धानसँग जोडिएका छन्। धान रोप्ने वेलामा बेठी लगाउने हाम्रो मौलिक चलन हो। १५ असारमा दही-चिउरा खाएर रोपाइँ शुरू गर्ने चलन छँदै छ। धानका जमरा लगाएर दशैं मनाउने, चामलको अक्षता दहीमा रङ्गीन पारेर मान्यजनबाट टीका थाप्ने, धानको पिठोबाट सेलरोटी पकाउने आदि धान-चामलसँग जोडिएका हाम्रा लोक चलनहरू हुन्। पूजाआजामा चामलको पिठोको रेखी बनाउने गरिन्छ। यसरी हेर्दा जन्मदेखि मृत्युसम्म धान-चामलको प्रयोग गरिन्छ।
सरकारी तथ्यांकमा नेपालमा धानको उत्पादन बढेको देखिए पनि आन्तरिक खपतका लागि नपुग्दा परनिर्भरता बढ्दो छ। बर्सेनि अर्बौं रकमको धान-चामल आयात हुने गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा मात्रै रू.३९ अर्ब १६ करोड बराबरको धान–चामल आयात भयो। खासगरी मसिनो चामलको माग बढ्दै गएकाले यस्तो आयात बढेको एउटा अध्ययनले बताएको छ।
नेपालले आव २०७६/०७७ मा ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको चामल आयात गर्यो। जब कि आव २०३५/३६ मा २४ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको चामल निर्यात गरेको तथ्यांक छ। २०३५ सालमा सरकारले धान-चामल निर्यात गर्न धान-चामल निर्यात कम्पनी नै स्थापना गरेको थियो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको तथ्यांक अनुसार, २०१८ सालमा एक हेक्टरमा १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो। ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन फल्छ। उत्पादनको हिसाबले यो दोब्बर भए पनि यो अवधिमा खाने मुख अर्थात् जनसंख्या तीन गुणा बढेको छ। यस हिसाबले पनि आन्तरिक उत्पादनले नपुग्ने देखिन्छ।
कृषि विकास मन्त्रालयका अनुसार, नेपालको २७ लाख हेक्टर जमीन खेतीयोग्य छ। त्यसमध्ये १५ लाख ५२ हजार ४६४ हेक्टरमा धान खेती हुन्छ। अहिले करीब ६० हजार हेक्टर जमीन घडेरीका कारण क्षति भएको छ।
धानको उत्पादकत्व पहिले छिमेकी मुलुकहरूभन्दा नेपालमा राम्रो थियो। तर, चीन र भारतमा हाइब्रिड (वर्णसंकर) र उत्पादन बढी हुने जातका धानको खेती गर्न थालिएपछि उनीहरूले उत्पादकत्व बढाएका छन्। चीनमा धानको उत्पादन प्रतिहेक्टर ७ मेट्रिक टन पुगेको छ।
चर्चामा मोन्सान्टो बीउ
नेपालको कृषि प्रणाली परम्परागत छ। खेतीमा प्रविधि भित्रन थाले पनि खेती गर्ने, बीउ राख्ने, मल र कीटनाशक औषधि प्रयोग गर्ने मामिलामा नेपाली किसानहरू स्वतन्त्र छन्। अहिले भने जीएमओ (जिनिटिकल्ली मोडिफाइड अर्गानिज्म) बीउबिजनले धेरैको ध्यान तान्न थालेको छ। यो प्रविधिको पेटेन्ट राइट भएका आधारमा अमेरिकाको मोन्सान्टो जस्ता कम्पनीले बीउबिजन तयार गर्छन्। तिनीहरूले तयार गरेका बीउबाट उत्पादित बालीबाट अर्को वर्षको बीउ तयार पार्न सकिँदैन। तिनीहरूमा उम्रन नसक्ने टर्मिनेटर जीन वा वंशतत्त्वलाई सक्रिय पारिएको हुन्छ।
यदि सरकारले ती कम्पनीसँग सम्झौता गर्यो भने किसानहरूले बीउबिजन, मल, कीटनाशक औषधि आदि सम्पूर्ण कुरामा विदेशी कम्पनीमै निर्भर हुनुपर्छ। अल्पविकसित मुलुकका किसानले डलरको भाउ धान्न सक्दैनन्। हालसम्म गर्दै आएको मौलिक खेती प्रणाली समाप्त हुनपुग्छ। यस्ता बहुराष्ट्रिय कम्पनीसँग सम्झौता गरेर किसानमारा नीति लिएका धेरै ल्याटिन अमेरिकी मुलुकहरू पछुताइरहेका छन्। कतिपय किसानहरूले आत्महत्या गरेका छन्। यसैले मोन्साटोविरुद्ध एकप्रकारको आन्दोलन उठेको कुरा बिर्सन मिल्दैन।
नेपालमा पनि सरकारलाई प्रभावित पारेर मोन्सान्टोका उत्पादन छिराइने प्रयास नभएका होइनन्। नेपालको बीउबिजन ऐन २०४५ ले हाइब्रिड जातका बीउ आयात र बिक्री-वितरण गर्न छूट दिएको छ। हाइब्रिड र जीएमओ बीउ एउटै हुन् भनेर लबिइङ समेत गरिए। तर, हाइब्रिड र जीएमओ बीउबिजन धेरै फरक हुन्।
प्रविधिजन्य धानका जात
अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (आईआरआरआई) फिलिपिन्स का वैज्ञानिकहरूले डिजिओव्यू नामको जीन ताइवानको एउटा झारमा पत्ता लगाए। उक्त जीन वा वंशतत्त्वलाई एक प्रकारको धानको प्रजातिमा प्रत्यारोपण गर्न सफलता प्राप्त गरे। 'आईआरआठ' नाम पाएको उक्त धानले भाइरसजन्य रोगहरूसँग सजिलै लड्न सक्छ।
चाँडै पाक्ने जातका करीब १३ प्रकारका धान विभिन्न ६ मुलुकका रैथाने जातीहरूबीच कृत्रिम गर्भाधान गराई विकास गरिएका छन्। ओराइजाका केही जंगली प्रजातिलाई आधुनिक बीउ उत्पादनमा प्रयोग गर्न सकिन्छ। यस प्रयोजनका लागि ओरिजा निभारालाई प्रयोग गर्ने गरिएको छ। गुनकेशरी फूलको एक वंशतत्त्वलाई जर्मनी र स्वीट्जरल्यान्डका वैज्ञानिकहरूले धानमा प्रत्यारोपण गरेर तयार पारेको 'गोल्डेन राइस' अर्थात् सुनौलो धानले ठूलै हलचल ल्याएको थियो।
नेपालको माटो र हावापानी सुहाउँदो विभिन्न जातका धानहरू नेपालका कृषि फर्म र अनुसन्धान केन्द्रहरूले तयार गरेर किसानलाई वितरण गरिन्छ। कृषि वैज्ञानिकहरूले नेपालको तराई क्षेत्रमा रोगसँग लड्नसक्ने र उत्पादन राम्रो दिने आईआर २०, सिएच ४५, आईआर ८, आईआर २२, आईआर २४, जया, दुर्गा, जानकी आदि धान सिफारिश गरेका छन्। त्यस्तै, पहाडमा टाइचुङ १७६, चाइचुङ २४२, कञ्चन, पोखरेली मसिनो, चाइनान, राधाकृष्ण ९, घैया २, खुमल ४ आदिलाई राम्रो मानिएको छ। रसिया १३३१, सीओ २०, सीएच १३, एच ७५०, चाइना ९७२ आदिले ब्याक्टेरिया तथा अन्य रोगसँग लड्ने क्षमता राख्छन्।
नेपालका किसानहरू समयमै बीउ र मल नपाएर सीमावर्ती भारतीय बजारबाट नक्कली बीउ र मल किन्न बाध्य हुन्छन्। त्यसको कारण राम्रो नफल्ने, दाना नलाग्ने आदि समस्यासँग जुध्नुपरेका कुरा सञ्चारमाध्यममा आइरहन्छन्। यस्ता समस्या निराकरणका लागि स्थानीय सरकारका कृषि कार्यालय मार्फत किसानलाई समयमै सहज रूपमा बीउबिजन र मल प्रदान गर्न र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
(वनस्पति विज्ञानमा स्नातकोत्तर लेखक झापामा शिक्षण पेशामा संलग्न छन्।)