‘गाउँमा विकास पुर्याउने प्रधानमन्त्री’
मनमोहन अधिकारी सरकारको पालामा आएको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रम मार्फत त्यसअघि पहुँचवालाको पोल्टामा रहेको विकास बजेट दूरदराज पुग्न थालेको हो।
२०३३ सालदेखि छरिएर रहेका कम्युनिष्ट विचारधाराका नेता र पार्टी एकताबद्ध गर्ने अभियान शुरू भयो। सोही वर्ष दशैं लगत्तै म भारतको गोरखपुर हुँदै मनमोहन अधिकारीलाई भेट्न बुटवल गएको थिएँ। त्यो नै मेरो उहाँसँगको पहिलो भेट थियो। त्यतिखेर म सर्वहारी क्रान्तिकारी संगठन नेपालको केन्द्रीय कमिटीमा थिएँ भने उहाँ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हुनुहुन्थ्यो।
त्यो भेटमा मैले उहाँलाई २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दुई वर्षमै पुष्पलाललाई हटाएर अध्यक्ष नभएको भए पनि हुन्थ्यो भनेर सुनाएको थिएँ। यो कुरामा उहाँ सहमत हुनुभयो र साथीहरूको करले गर्दा महाधिवेशन अगावै अध्यक्ष बन्नुपरेको बताउनुभयो। यस्तो विचारले मेरो उहाँप्रति थप सम्मान जाग्यो।
२००३ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेकाले आफूलाई कम्युनिष्ट पार्टीको संस्थापकमा राखिएको भए हुन्थ्यो भन्ने उहाँको मनमा थियो। तर, सार्वजनिक रूपमा भने कहिल्यै व्यक्त गर्नुभएन।
२०४६ सालको जनआन्दोलनपछि पार्टी एकताका लागि सिद्धिलाल सिंहको घरमा बैठक थियो। म त्यतिवेला चौथो महाधिवेशन (चौम) को केन्द्रीय सदस्य थिएँ। मदन भण्डारी महासचिव हुनुहुन्थ्यो। दुई/चार व्यक्तिको व्यवस्थापनमा कुरा नमिलेर झन्डै एकता भंग हुन लागेको थियो। पछि सबै कुरा मिलाएर पार्टी एकता गरियो।
२०५१ सालको आमनिर्वाचनपछि नेकपा (एमाले) पहिलो पार्टी भयो। ‘मनमोहन बा’लाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेर वातावरण बनाउनेमध्ये म पनि एक थिएँ। १४ मंसीर २०५१ मा उहाँ प्रधानमन्त्री भएपछि म जति खुशी सायदै कोही भयो होला! मुलुकमा कम्युनिष्ट पार्टी स्थापना भएको ४५ वर्षपछि उहाँ पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभयो, त्यो पनि जननिर्वाचित।
पञ्चायतका वेला बजेटको वितरण पहुँचका आधारमा हुन्थ्यो। राजाको नजिक भएकाहरूले आफूलाई समर्थन गरे वा गर्ने आश्वासन दिए मनलागी विकासको कार्यक्रम लगिदिन्थे। पञ्चायतपछि बनेका सरकारले पनि गाउँसम्म बजेट पुग्ने नीति बनाउन सकेका थिएनन्। तर, मनमोहन अधिकारी नेतृत्वको सरकारले साँच्चिकै समाजवादी अभ्यास गरेको थियो। पञ्चायती शासनबाट भर्खर निस्केको मुलुकमा समान तरिकाले बजेट वितरण भएको थियो।
मनमोहन सरकारको पालामा आएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम मार्फत नै दूरदराजका जनताले विकासको सपना देख्न थालेका हुन्। पहुँचवालाको वरिपरि नाच्ने विकास बजेट गाउँगाउँ पुग्न थालेपछि नै मुलुकमा विकासको लहर आएको हो। यस अर्थमा गाउँमा विकासको लहर सिर्जना गर्ने प्रधानमन्त्रीका रूपमा उहाँलाई सम्झनुपर्छ।
सामाजिक न्याय र उत्पादन वृद्धि, राष्ट्रिय स्वाधीनता, विधिको शासनमा उहाँको सरकार मुलुकका लागि कोशेढुङ्गा साबित भयो। स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रयास उक्त सरकारले गरेको थियो ।
एमालेलाई जनतामाझ चिनाउन र ‘एमाले ब्रान्ड’ बनाउन उहाँको सरकार र व्यक्तिगत रूपमा उहाँको ठूलो भूमिका छ।
हामीले नयाँ संविधान निर्माण गर्दा मनमोहन सरकारले ल्याएर सफल भएको त्यही कार्यक्रमको जगमा टेकेका हौं, जसले गर्दा अहिले एउटै नगरपालिकाको बजेट ४०/५० करोड रुपैयाँभन्दा माथिको हुन थालेको छ। मनमोहन सरकारकै समयमा आएको ‘सामाजिक सुरक्षा भत्ता’ कार्यक्रमले एमालेलाई निकै लोकप्रिय बनायो। जनमुखी कार्यक्रम भएकाले यसलाई अहिलेसम्म हरेक सरकारले निरन्तरता दिँदै आएका छन्। एमालेलाई जनतामाझ चिनाउन र ‘एमाले ब्रान्ड’ बनाउन उहाँको सरकार र व्यक्तिगत रूपमा उहाँको ठूलो भूमिका छ।
छोटो समयमै जनमुखी काम गर्न थालेपछि अवरोध शुरू हुन थाल्यो। मंसीरमा प्रधानमन्त्री बन्नुभएको जेठमै अविश्वासको प्रस्ताव पेश भयो।
अविश्वासको प्रस्ताव पेश भएको केही समयपछि बर्दियामा उहाँ चढेको हेलिकोप्टर दुर्घटनामा पर्यो। उहाँ अस्पतालमै रहेका वेला संसद्मा उठेका प्रश्नको जवाफ दिन बाध्य पारियो। उहाँले अस्पतालबाटै जवाफ दिनुभयो। त्यसपछि संसद् विघटनका लागि सिफारिश गर्नुभयो। तर, सर्वोच्चले विघटनको सिफारिश बदर गर्यो।
पदमा रहँदा र बाहिरिँदा पनि उहाँमाथि कसैले प्रश्न गर्न सकेन। जुन शान र इज्जतका साथ उहाँ प्रधानमन्त्री हुनुभयो, नाै महीनापछि त्यही तेजका साथ बाहिरिनुभएको थियो।
निरन्तरता र धैर्यका प्रतीक
मनमोहन अधिकारी व्यक्तिगत नभएर पार्टी र मुलुकको हित ख्याल गर्ने नेता हुनुहुन्थ्यो। उहाँमा अहंकार थिएन। गुटबन्दी गरी मन परेकालाई मात्र काखी च्याप्ने बानी थिएन। भ्रष्टाचार, पक्षपात र जनताबाट टाढा रहने कार्यशैलीको उहाँ कडा प्रतिवाद गर्नुहुन्थ्यो।
लाखौं व्यक्तिलाई कम्युनिस्ट पार्टीमा आकर्षित गर्नमा उहाँको छवि, व्यवहार, सोचको ठूलो भूमिका छ। नढाँटी भन्दा अहिले हामीले उहाँको नामको ब्याज खाइरहेका छौं।
आजको राजनीतिलाई हेर्ने हो भने मनमोहन अधिकारी निरन्तरता र धैर्यको प्रतीक हो। उहाँ जस्तो विनम्र र शालीन नेता पाउन गाह्रो छ।
(एमाले नेता बडालसँगको कुराकानीमा आधारित)