चीनमा निर्माण शुरू भएको चार वर्षमै विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट उत्पादन शुरू
चीनको सिचुआन र युनान प्रान्तमा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमबार परीक्षण उत्पादन शुरू भएको छ।
याङ्सी नदीको सहायक नदीका रूपमा रहेको चिन्शा नदीमा निर्माण गरिएको बाइहिटान जलविद्युत्गृहबाट विद्युत् उत्पादन हुन थालेको हो।
आयोजनाको कुल क्षमता १६ हजार मेगावाट छ। यसको पहिलो युनिटले सोमबार विद्युत् उत्पादन थालेको हो। यद्यपि, सम्पूर्ण युनिटबाट उत्पादन शुरू हुन भने थप समय लाग्नेछ।
सन् २०१७ को अगस्टमा आयोजनाको निर्माण शुरू गरिएको थियो। एक दशकअघि यो आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरिएको थियो।
जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने योजना बमोजिम चीनमा ठूला जलविद्युत्गृहहरू निर्माण भइरहेका छन्। यद्यपि, जलविद्युत् उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ।
बाइहिटान बाँधको उचाइ २८९ मिटर अग्लो छ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान गरिएको छ। यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो। थ्री गर्जेजको विद्युत् उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट छ।
दुवै विद्युत् आयोजना राज्यनियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो। यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्वाधिक ठूलो लगानीकर्ता हो।
वातावरणविद्को चेतावनीपछि विश्वका कैयौं देशले जलविद्युत् आयोजनाको निर्माणलाई स्थगित गरिरहेका छन्। जलविद्युत् आयोजनाका कारण समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने, माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने जोखिम हुन्छ।
बाइहिटान विद्युत्गृहबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरूले बताएका छन्।