‘छुवाछूतलाई संरक्षण गरेका शिक्षामन्त्रीलाई एमालेले पार्टीबाट निकाल्नुपर्छ’
संघीय राजधानी काठमाडौंमा जातीय कारणले कोठा नपाएको घटनाले मान्छेलाई मान्छे नठान्ने आपराधिक कृत्यलाई बहसमा ल्याएको छ। शिक्षासहित पाँच वटा मन्त्रालय सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदलाई संरक्षण गरेको घटनाले विभेदबारे सरकारको धारणा पनि सतहमा आएको छ।
साथै, यो घटनाले आफूलाई अग्रगामी र शिक्षित भन्न रुचाउनेहरूको समेत जातीय विभेदबारे असली सोच कस्तो रहेछ भन्ने उदांगो पारेको छ। यसको कारण के हो? के हाम्रो शिक्षा प्रणालीमै दोष छ? यो सामाजिक समस्या सधैंका लागि समाधान गर्न के गर्नुपर्ला? यसबारे शिक्षाविद् विद्यानाथ कोइरालालाई सोधेका छौं।
जातीय कारणले रूपा सुनारले कोठा नपाएको घटना काठमाडौंमै छुवाछूत कायम छ भन्ने पछिल्लो उदाहरण हो। २१औं शताब्दीमा पनि यस्तो अमानवीय विभेद कायम रहनुको कारण के होला?
हटाउन नचाहेर। रूपा सुनारको स्पष्टतालाई सलाम गर्नुपर्छ, उनले कोठा हेर्न जाने वेलामै आफ्नो परिचय प्रष्ट रूपमा राखिन्। घरधनी महिलाले कोठा दिने–नदिने निर्णय तुरुन्त लिनुपर्थ्यो। जसरी आमालाई कारण देखाएर कोठा दिन्नँ भनिन्, त्यो गलत हो। किनभने, आमालाई सम्झाउने जिम्मेवारी घरधनी महिलाकै हो। यो घटना केलाउँदा जातीय विभेदलाई निरन्तरता दिनुपर्छ भन्ने सोच स्पष्ट देखिन्छ। छुवाछूतविरुद्ध रूपा सुनारले उठाएको कुरा अझै व्यापक रूपमा उठ्नुपर्छ।
शिक्षामन्त्री जस्तो मान्छे विभेद गर्ने व्यक्तिलाई लिन सरकारी मोटरमा पुग्नु विडम्बना हो। आफ्नो समुदायको मान्छे भनेर लिन गए होलान्। तर, त्यसबाट दण्डनीय अपराधलाई मन्त्रीले प्रोत्साहन गर्न खोजेको देखियो। त्यसको सन्देश नराम्रो गयो। शिक्षामन्त्रीले संविधान उल्लंघन गरे।
जातका आधारमा डेरा नदिएको आरोपमा थुनिएकी महिलालाई लिन शिक्षामन्त्री नै गाडी लिएर गए नि?
शिक्षामन्त्री जस्तो मान्छे विभेद गर्ने व्यक्तिलाई लिन सरकारी मोटरमा पुग्नु विडम्बना हो। आफ्नो समुदायको मान्छे भनेर लिन गए होलान्। तर, त्यसबाट दण्डनीय अपराधलाई मन्त्रीले प्रोत्साहन गर्न खोजेको देखियो। त्यसको सन्देश नराम्रो गयो।
शिक्षामन्त्रीले संविधान उल्लंघन गरे। उनी मात्रै होइन, छुवाछूत गर्नेको पक्षमा लेख लेखेर, जुलुश निकालेर, बोलेर पनि मान्छेहरूले संविधान मिच्ने काम गरिरहेका छन्। सरकारले नै संविधान मिचेको देखेपछि अरूलाई पनि हौसला र आड मिलेको हुनसक्छ।
संघीय राजधानी भएको काठमाडौंमा पनि यस्तो समस्या किन देखिएको होला?
प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको दस्ताबेजमा कुनै कार्यकर्ताले छुवाछूत गरेमा पार्टीबाट निष्कासन गरिनेछ भनिएको छ। तर, त्यही पार्टीबाट शिक्षामन्त्री बनेका कृष्णगोपाल श्रेष्ठ खुरुखुरु छुवाछूतलाई समर्थन गर्न गए। घरधनी महिला आफ्नै मतदाता भएर गए होलान्। अथवा, कार्यकर्ताको दबाबमा गए होलान्। कारण जेसुकै भए पनि एमालेकै नीति अनुसार शिक्षामन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने कि नगर्ने?
निजी घरमा कसैलाई राख्न वा नराख्न घरधनी स्वतन्त्र छ भन्ने तर्क पनि सुनिन्छ नि?
घर बनाएर डेरामा नराख्ने हो भने कसैलाई पनि राख्दिनँ भन्न पाउँछ। तर, राख्ने हो भने जातकै कारण कसैलाई तिमी बस्न योग्य छैनौ भन्न पाउँदैन। त्यो संविधान र कानून विपरीत हुन्छ। संविधानको धारा २४ मा स्पष्ट शब्दमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने व्यवस्था छ। यसरी विभेद गर्नु भनेको त सीधै संविधान मिच्नु हो।
घर बनाएर डेरामा नराख्ने हो भने कसैलाई पनि राख्दिनँ भन्न पाउँछ। तर, राख्ने हो भने जातकै कारण कसैलाई तिमी बस्न योग्य छैनौ भन्न पाउँदैन। त्यो संविधान र कानून विपरीत हुन्छ। संविधानको धारा २४ मा स्पष्ट शब्दमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने व्यवस्था छ।
आफूलाई अग्रगामी र प्रगतिशील भन्न रुचाउनेहरूले मौन बस्ने वा घुमाइफिराइ छुवाछूतलाई बढावा दिने तर्क गरेको देखिन्छ। यस्तो किन भएको होला?
रुकुम घटनामा माओवादी नेता जनार्दन शर्माले संसद्भित्रै छुवाछूतको पक्षमा बोले। नवराज विकसहित ६ जनाको हत्या भएको घटना यत्तिकै सामसुम भयो। ती युवाहरूलाई त माओवादी कार्यकर्ताले नै मारेका हुन् नि! जातीय विभेदको जरा यति गहिरो रहेछ, मानिसहरूले हत्या भएका नवराजको विरोधमा खुलमखुला बोले। अर्थात्, जनार्दन शर्मा र कृष्णगोपाल श्रेष्ठहरूले तपाईं हाम्रै अगाडि छुवाछूतको वकालत गरे। ६ जनाको हत्या गर्नेहरूलाई ठीक भनेर लागे। हामी क्रान्तिकारी हौं, परिवर्तनका संवाहक हौं भन्ने मन्त्री–सांसदकै यस्तो गति छ। धेरै सांसद, मन्त्री काठमाडौंमा बस्ने भएकाले सबैभन्दा बढी विभेद पनि काठमाडौंमै छ।
पढेलेखेका, शिक्षित हुँ भन्नेहरूमा पनि यस्तो समस्या देखिनुको कारण के होला?
केपी शर्मा ओली, पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीको अध्यक्ष पनि हुँ, लोकतान्त्रिक पनि हुँ भनेको सुन्नुभएको छ नि। कम्युनिष्ट पार्टी एक दलीय पार्टी हो भन्ने कुरा दुनियाँलाई थाहा छ। तर, उनीहरूले लोकतन्त्रवादी हुँ भन्दा हामी पत्याउँछौं। हो, त्यस्तै छुवाछूत मान्नेलाई पनि हामी शिक्षित मानिरहेका छौं। यो विडम्बना हो।
हाम्रो शिक्षा प्रणालीकै दोष त होइन?
समस्या सबैतिर छ, कुन कुन पक्ष कोट्याउने भन्ने मात्रै हो। जस्तो, पाठ्यपुस्तकमा मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भनेर लेखिएको छ। छुवाछूत गर्नु सामाजिक अपराध हो भनेर लेखिएको छ। त्यो किताब पढेर आएका विद्यार्थी र पढाउने शिक्षकले यस्तो विभेद गर्छ भने त्यो निर्जीव पुस्तकको दोष हो र? शिक्षामन्त्री नै विभेदको संरक्षणमा उत्रन्छ भने त्यसमा पुस्तकको दोष भएन।
कसैले चाहेर आफू दलित, मधेसी, जनजाति वा बाहुन भएको होइन। त्यो भिन्नतालाई स्विकार्ने कि होच्याउने भन्ने प्रश्न हो। होच्याउने प्रवृत्तिका कारण विभेद र असमानता व्याप्त भएको हो।
छुवाछूतले विद्यार्थीको पढाइमा कस्तो असर पारेको हुन्छ?
बर्बाद पारेको छ। विद्यालयमा कुनै पनि विद्यार्थीलाई तल्लो जात, माथिल्लो जात भनेर सिकाउनै हुँदैन। उनीहरू ‘विद्यार्थी’ जात हुन्। कसैले चाहेर आफू दलित, मधेसी, जनजाति वा बाहुन भएको होइन। त्यो भिन्नतालाई स्विकार्ने कि होच्याउने भन्ने प्रश्न हो। होच्याउने प्रवृत्तिका कारण विभेद र असमानता व्याप्त भएको हो। हाम्रो मनोवृत्ति कस्तो छ भने, बच्चालाई ठूलाले होच्याउने, युवाले ज्येष्ठ नागरिकलाई होच्याउने, सरकारमा भएकाले विपक्षीलाई होच्याउने गरेको पाइन्छ। छुवाछूत हाम्रो पुर्खाले गरेको अपराध हो। हामी त्यसको विरुद्ध लाग्नुपर्छ भन्ने कुरा विद्यार्थीलाई सिकाउनुपर्छ।
२००७ सालमा जातपात मान्दैनौं भन्ने अभियान चलाएको कांग्रेस कहाँ गयो? जातपात मान्दिनँ भनेर मान्छे काटेर हिंडेका माओवादी कहाँ गए, एमाले कहाँ गए? मूल समस्या राजनीतिक नेतृत्वमा छ। तिनकै पिछलग्गु न हुन् शिक्षक र अभिभावक पनि।
छुवाछूतलाई कतिपयले आरक्षणसँग पनि जोडेर चर्चा गरेको सुनिन्छ। शिक्षा क्षेत्रको आरक्षण कत्तिको उपलब्धिमूलक हुँदो रहेछ?
इतिहासले अन्याय गरेका समुदायलाई माथि ल्याउन केही समयका लागि दिइएको सुविधा हो, आरक्षण। आरक्षणले पछि परेका समुदायका केही मान्छेलाई अवसर दिन्छ। उनीहरू सम्मानित हुँदै जान्छन्। आरक्षण पाएर कोही व्यक्ति डाक्टर बनेपछि त्यहाँ जतिसुकै ठूलो जातको हुँ भन्ने व्यक्ति पनि बिरामी भएपछि उपचारका लागि जान्छ। मलाई फलानाले छोयो भनेर गुनासो गर्दैन। त्यो डाक्टरले उपचार गर्दा उसको जात जाँदैन, निको हुन्छ। आरक्षणबाट यसरी सम्मान आर्जन हुँदै जान्छ। शिक्षक बन्यो भने ‘तँ शिक्षक’ त भन्दैन नि। डा. मानबहादुर विकलाई सचिवज्यू नभन्ने आँट कसैले गरेनन् नि। सम्मान आर्जनका लागि आरक्षण आवश्यक थियो। आरक्षण पाएका व्यक्तिहरूले सम्बन्धित समुदायका लागि काम गर्छन् भन्ने अपेक्षा थियो, त्यो पूरा नभएको हुनसक्छ। तर, त्यही कारणले ऐतिहासिक क्षतिपूर्ति स्वरूप दिइएको आरक्षण गलत हो भन्ने मिल्दैन।
छुवाछूत हुनु भनेको हामी एकआपसमा बाँडिनु हो। यसरी विभाजन हुनु देश विकासमा तगारो हो। चिनियाँहरू बाँडिएनन्, र प्रगति गरे। तर, हामी तानातान गरिराखेका छौं। यसले पक्कै पनि देश विकासमा असर गरेको छ।
नेपाली कांग्रेसको इतिहास केलाउँदा तराई कांग्रेस भन्ने खुलेको देखिन्छ। त्यतिवेला बीपी कोइरालाले मलाई तराई कांग्रेस, हिमाल कांग्रेस, पहाड कांग्रेस होइन, नेपाली कांग्रेस चाहिन्छ भनेका थिए। तर, पछिल्लो पटक माओवादीले विभिन्न जातिका मानिसलाई आपसमा जुधाउने काम गर्यो। तर, अहिले त्यो माओवादी आफैं खुलेर छुवाछूतको पक्षमा लागेको छ।
छुवाछूतलाई निश्चित वर्ग, समुदायको समस्या मान्न मिल्छ?
मिल्दैन, यो राष्ट्रिय समस्या हो। पुर्खाले गरेको कलंक हो, यसलाई हामीले पुछ्नुपर्छ।
देश विकासमा यसले के असर पार्छ?
छुवाछूत हुनु भनेको हामी एकआपसमा बाँडिनु हो। यसरी विभाजन हुनु देश विकासमा तगारो हो। चिनियाँहरू बाँडिएनन्, र प्रगति गरे। तर, हामी तानातान गरिराखेका छौं। यसले पक्कै पनि देश विकासमा असर गरेको छ।
छुवाछूत जस्तो अमानवीय समस्या समाधानका लागि के गर्नुपर्ला?
मकै गोड्ने वेला जरा वरिपरि खनेर फेरि पुर्ने गरिन्छ। यो समस्या समाधानका लागि पनि वरिपरिको जरा खन्नुपर्छ। अलिकति धार्मिक–सांस्कृतिक र अलिकति राजनीतिक जरा छ, त्यसलाई निमिट्यान्न पार्नुपर्छ। हिजो फोहोरी भनेर विभेद गरे, तर सफा भएर आउँदा पनि रूपा सुनारहरूमाथिको विभेद हटेन। यसको मतलब हो, विभेदको जरा नै अन्त्य गर्नुपर्ने रहेछ।
कतिपयले यो समस्या आजै एकैचोटि समाप्त हुँदैन, बिस्तारै समाधान हुन्छ पनि भन्छन्। उनीहरूलाई के भन्न चाहनुहुन्छ?
बिस्तारै भनेको कहिलेसम्म? यस्तो समस्या तुरुन्तै समाधान गर्नुपर्ने भएर नै सरकार आवश्यक परेको हो। बिस्तारै त आफैं हुन्छ नि! प्रत्येक घरले आजै समाधान गर्न अग्रसरता देखाउनुपर्ने राष्ट्रिय समस्या हो यो। त्यसकारण बिस्तारै हुँदै जान्छ भनेर पुग्दैन।
एमालेको सक्रिय राजनीति छोडेर बसेका एक जना नेताले म त जातपात हेर्दिनँ, तर आमाले मान्नुहुन्न भन्थे। आमालाई मनाउने जिम्मा कसको त? उनकै होइन र? दुनियाँ बदल्छु भन्नेले घर बदल्न नसक्ने भन्ने हुन्छ र?