कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रिन्छौं : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरू गर्न लागेको भन्दै विरोध जनाएका छन्। केन्द्र सरकारले प्रदेशको आवाज सुनुवाइ नगरेमा संघर्षमा उत्रिने बताएका छन्।
विश्व हिन्दू महासंघसहित विभिन्न संघसंस्थाका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाइ नभएमा संघर्षमा उत्रिने बताएका हुन्। “प्रदेशको भावना विपरीत जाने प्रयास भएमा हामी सहेर बस्दैनौँ, यहाँका सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना सफल हुन दिँदैनौँ,” मुख्यमन्त्री पोखरेलले भने।
प्राकृतिक स्रोतको बाँडफाँडलाई ख्यालै नगरी संविधान मिच्ने र संघीयतालाई कमजोर बनाउने खेलका रूपमा यो कार्य रहेको उनको भनाइ थियो। उनले रुपन्देही र कपिलवस्तुको जमीन सिँचाइ गर्नका लागि राप्ती र तिनाउको पानी पर्याप्त रहेको भन्दै उनले कसैको निहित स्वार्थका लागि यो योजना अघि सारिएको बताए।
डाइभर्सन आयोजनाबारे साझा धारणा बनाएर अघि बढ्न प्रदेश सरकारले आज सर्वपक्षीय बैठक बोलाएको छ। राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाजका अगुवालाई बैठकमा बोलाइएको छ।
गण्डकी सरकारका प्रवक्ता एवं शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले परियोजनाको लगानी र त्यसबाट हुनसक्ने लाभबीचमा कुनै तालमेल नै नमिलेको बताए। प्रदेश सरकार यो योजनाबारे प्रष्ट रहेको उल्लेख गर्दै उनले सांस्कृतिक, पर्यटकीय, आर्थिक र राजनीतिक महत्त्वसमेत बोकेको कालीगण्डकीमाथि अहिले बेइमानीपूर्ण काम हुन लागेको बताए।
अहिले भने जसरी तिनाउमा पानी मिसाउने हो भने हिउँदका वेला देवघाटमा पानी नै नहुने भन्दै उनले योभन्दा पहिला देवघाटलाई बचाएर नवलपुरको जमीनमा सिँचाइ हुने गरी परियोजना निर्माण भए पनि त्यो कार्यान्वयनमा आउन नपाउँदै कालीगण्डकी तिनाउतिर मिसाउन खोजिएको आरोप लगाए। कालीगण्डकी तिनाउतिर लैजाँदा चितवन राष्ट्रिय निकुञ्ज समेत प्रभावित हुने र त्यहाँ रहेका गोही घडियाल जस्ता जन्तु सङ्कटमा पर्ने उनको भनाइ थियो।
प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले परियोजनाबारे शुरूदेखि नै स्थानीय तहबाटै विरोध हुँदै आउँदा समेत केन्द्र सरकारले बेवास्ता गरेको बताए। प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै पूर्वसांसद एवं कालीगण्डकी संरक्षण अभियानका अगुवा शङ्कर पाण्डेले संसारभरका तीन अर्बभन्दा बढी हिन्दू धर्मावलम्बीको आस्था विपरीत हुन लागेको यो काम पर्यावरणीय दृष्टिकोणबाट समेत हानिकारक रहेको बताए।
केदारेश्वर महादेव मणि सेवाश्रम समितिका पीठाधीश डा. लेखनाथ आचार्य, राष्ट्रिय ब्राह्मण समाज तथा प्राज्ञसभाका अध्यक्ष डा.नारायण अधिकारी, विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खराल, विन्ध्यवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मी, कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी कुलराज चालिसे लगायतले समस्त हिन्दूको आस्था एवं कालीगण्डकी सभ्यताको मर्ममाथि प्रहार गर्न खोजिएको बताउँदै वातावरण विनाश र जैविक विविधता खलबल्याउने अधिकार कसैसँग नभएको जिकिर गरे। (रासस)