कोरोनाबाट पहिलोभन्दा दोस्रो लहरमा दोब्बरको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार नाघेको छ। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या दोब्बर रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, आइतबार ३४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या नौ हजार नौ पुगेको छ।
दुई महीनाअघि १३ वैशाखसम्म कोरोनाबाट तीन हजार १७६ जनाको मृत्यु भएको थियो। दोस्रो लहर शुरू भएसँगै त्यसयता देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। यो अवधिमा पाँच हजार ८३३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
दोस्रो लहर कम भएसँगै निषेधाज्ञा खुकुलो पार्न थालिएको छ। अझै पनि सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ। जसमध्ये ९०६ जना गम्भीर छन्। ७०६ जनाको आईसीयू र २०० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पहिलो लहरभन्दा दोस्रो लहरमा मृत्युदर पनि बढेको छ। पहिलो लहरमा मृत्युदर १.०५ प्रतिशतको हाराहारीमा थियो। अहिले भने मृत्युदर १.४२ प्रतिशत पुगेको छ।
पहिलो लहरभन्दा दोस्रो लहरमा संक्रमितको संख्या पनि अत्यधिक बढेको छ। पहिलो लहरको एक वर्षभन्दा दोस्रो लहरको पहिलो दुई महीनामा धेरै संक्रमित पुष्टि भएका छन्।
१३ वैशाखसम्म तीन लाख तीन हजार ५६१ जनामा संक्रमण देखिएको थियो। त्यसयताको दुई महीनामा तीन लाख ३० हजार ११८ जना संक्रमित थपिएर ६ लाख ३३ हजार ६७९ पुगेका छन्।
अहिलेसम्म संक्रमितमध्ये ९२.२१ प्रतिशत अर्थात् पाँच लाख ८४ हजार ३३४ जना निको भएका छन्।