यूरो कप : इटाली र डेनमार्क क्वार्टरफाइनलमा प्रवेश
इटाली र डेनमार्क यूरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अस्ट्रियालाई पराजित गर्दै इटाली र वेल्सलाई पराजित गर्दै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।
गएराति भएको खेलमा इटालीले अस्ट्रियालाई २–१ ले पराजित गरेको हो। लन्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटालीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे।
त्यस्तै, अस्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए। अब इटालीले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। खेलको ९५औं मिनेटमा फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गरे। त्यस्तै, १०५औं मिनेटमा माटेओ पेसिनाले गोल गरे। यसैगरी ११३औं मिनेटमा अस्ट्रियाका सासा कलासिसले गोल गरेका थिए।
यसअघि भएको खेलमा वेल्सलाई ४–० ले हराउँदै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको हो। डेनमार्कका लागि कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक–एक गोल गरे।
अब डेनमार्कले क्वार्टरफाइनलमा आइतबार राति हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ।