छाडेर जानेहरूका नाममा
कोभिड-१९ को महामारीमा केही परिचित मान्छेहरूको तस्वीरमुनि श्रद्धाञ्जली लेख्नुपर्दा ऐंठन त भएको छ नै, अकालमै छाडेर जानेहरूको झझल्कोले पिरोलिरहेको छ।
फेसबूकको भित्तामा गत एक वर्षमा कम्तीमा एक सय जनालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको रहेछु। १० असारमा एक जना अग्रज गुरुप्रसाद मैनाली, अलिक अघि अभिभावकतुल्य गाउँले अग्रज हरि भण्डारी, त्यसअघि दमक चोकका औषधि व्यवसायी रणबहादुर थापा र उहाँका पिता खड्गबहादुर थापा एक दिनको फरकमा गुमायौं।
गत महीना १४ जेठमा सुनसरीको सप्तकोशी एफएमका प्रबन्धक चन्द्र न्यौपाने, काठमाडौंमा पत्रकार मित्र कमल मिश्र, छिमेकी नरेश श्रेष्ठ, अभिभावकतुल्य शिक्षक डम्बुवल्लभ प्याकुरेल...। चिनजानकै धेरै व्यक्तिका नाममा हात काँप्दै श्रद्धाञ्जली लेखेको सम्झिँदा लाग्छ, मिति मात्र फरक हो, लाममा म/हामी पनि छु/छौं। यो अप्रिय तथ्यले दिमागका तन्तु गिजोलिरहेको छ।
हाम्रा घर र छिमेकमा जीवन जिउने कलाबारे धेरै बहस हुन्छन्। बाँच्ने काइदा र उपाय सुनिन्छन्, सिकाइन्छन्। तर, प्रत्येक दिन मृत्युको नजिकतर्फको यात्रामा नजानिँदो पाराले लागिरहेका हुँदा रहेछौं।
हाम्रा घर र छिमेकमा जीवन जिउने कलाबारे धेरै बहस हुन्छन्। बाँच्ने काइदा र उपाय सुनिन्छन्, सिकाइन्छन्। तर, प्रत्येक दिन मृत्युको नजिकतर्फको यात्रामा नजानिँदो पाराले लागिरहेका हुँदा रहेछौं। म सम्झिन्छु, बाल्यकालमा सँगै पढेका साथी, कतिपय छुटेर गए।
मसँगै एउटै भुइँमा बसेर दमक नगरपालिका–१९ (हाल दमक–१०) को सिंहदेवी प्रस्तावित माध्यमिक विद्यालय (हाल मावि) मा अक्षर फुटाउन सिक्दादेखिको साथी इन्द्रबहादुर थापा र उनका सहोदर दाजु पूर्णबहादुर थापा दमक र लखनपुरमा भएका सडक दुर्घटनामा बिते। म सम्झिन्छु, पढाइमा म जस्तै मध्यम उनीहरूको मृत्युले परिवारको जगै हल्लाइदिएको थियो।
दमकमा अहिले पनि मुश्किलले उठ्न खोजिरहेको छ, उनीहरूको दोस्रो पुस्ता। दुई भाइमध्ये दाजुको मलामीसम्म गएको थिएँ। परिवारको युवा र अझ मूली परलोक हुँदा बाँकी सदस्यलाई सम्हालिन र अघि बढ्न पर्ने गाह्रो कल्पना गर्दा समेत ऐंठन हुन्छ।
अर्काे थियो, अत्यन्तै प्रिय साथी अनिल थापा। शरद थापा सरको जेठो छोरा। कक्षा ४ देखि १० सम्म हरेक दिन स्कूल जाँदा ऊ र म सँगै हुन्थ्यौं। सम्झिन्छु, होचो कदको ऊ सरल थियो। उसको आँगनको लिचीको बोटमा झुन्डिने अधिकार त्यो घर बाहिरका केटाकेटीमध्ये मलाई मात्र थियो।
पढाइमा केही कमजोर ऊ कक्षा १० भन्दा माथि उक्लिन सकेन। केही वर्ष दमकमै मारुती चलायो। विवाह गर्यो। राम्रैसँग दैनिकी चलिरहेको थियो, तर सडक दुर्घटनामा बित्यो। त्यो डरलाग्दो बिहान अनिलको मृत्युको खबर कानमा तातो झिर प्रवेश गरे झैं भएको थियो।
साइकलको प्याडल फन्काउँदै उसको खुला आँगनमा पुगेँ। ऊ लमतन्न सुतिरहेको थियो। लिचीको बोटमा आड लागेकी उसकी श्रीमतीको अरण्यरोदनले वरिपरिका सबैका गह भिजेका थिए।
मलाई कहिल्यै तँ नभन्ने उसको मुखबाट कसैले खैरो रङको धुसा हटाइदियो। आँखा खुलै थिए। अन्तिम पटक हेरेँ। आज पनि अनिलसँगका अनेक सम्झनाले मन उचालपछार गरिरहेको हुन्छ। अनिल नाच्थ्यो। गीत पनि राम्रै गाउँथ्यो। चित्र पनि राम्रो कोर्थ्यो।
समयसँगै एकसाथ हुर्के बढेका सहपाठी, छरछिमेकी तथा चिनजानका कैयौं मानिस अहिले छरिएका छौं, अनेक ठाउँतिर। सामाजिक सञ्जाल, विशेष गरेर फेसबूकको सहायताले धेरै देशमा पुगेका सहपाठीसँग जोडिन सम्भव छ। अस्ति मात्र काठमाडौंमा रहेका मञ्जु धिमाल र प्रमिला न्यौपानेसँग कुरा भयो। मैले नै नफर्किने गरी गएका सहपाठीको प्रसंग झिकें। गुमाएका सहपाठीलाई सम्झियौं।
स्वास्थ्यप्रति सचेत ऊ चिया पनि चिनी कम हालेको पिउँथ्योे। गफिन्थ्यौं। स्नातकको परीक्षा चलिरहेको एक अपराह्न मलाई कसैले तिम्रो साथी आज बित्यो भनेर सुनाइदियो। उसलाई अन्तिम बिदाइ गर्न जाने समय पनि भएन।
पढाइमा मेधावी थियो, ओमप्रकाश दाहाल। उसको घर दमक बजार नजिकै थियो। पातलो र गोरो बनोटको ओमप्रकाश स्वास्थ्य प्राविधिक बनेको थियो। दुई दशकअघि मैले काम गर्ने दमकको जनज्योति साप्ताहिकको कार्यालयसँगैको अर्काे कोठामा क्लिनिक खोलेको थियो, उसले। २०५३ सालतिर हरेक दिनजसो भेट हुन्थ्यो।
स्वास्थ्यप्रति सचेत ऊ चिया पनि चिनी कम हालेको पिउँथ्योे। गफिन्थ्यौं। स्नातकको परीक्षा चलिरहेको एक अपराह्न मलाई कसैले तिम्रो साथी आज बित्यो भनेर सुनाइदियो। उसलाई अन्तिम बिदाइ गर्न जाने समय पनि भएन। ठूलो विस्मात छ, ओमप्रकाश म तिमीलाई अन्तिम पटक हेर्न समेत जान सकिनँ। उसकी आमा विमला दाहाल, जो दमकको राजनीतिक र सामाजिक जीवनमा सक्रिय हुनुहुन्थ्यो। अझै विमला आमालाई जहाँ देख्दा पनि नरमाइलो लाग्छ।
राजकुमार धिमाल अर्काे सहपाठी र छिमेकी पनि। ऊ कम बोल्थ्यो। जन्डिसले सिकिस्त रहेछ। म उसको आँगन पुग्नुअघि नै एम्बुलेन्स पुगिसकेको थियो। निख्खर कालो कपाल, हावाले हल्का उडाइरहँदा उसको अनुहार केही सुन्निएको र पहेँलो पनि देखिन्थ्यो। नजिकबाट हेरेँ, ऊ क्लान्त थियो।
हामीहरू सबैले सँगसँगै चालेका थियौं, पाइला। आकाशमा चरा जस्तै उड्ने हवाईजहाज, स्कूलको आँगनमा फुलाएका फूलको सुगन्ध, तिनमा पालैपालो बस्ने पुतलीका पछाडि दौडिन्थ्यौं। हामी बसेका डेस्क–बेन्च अझै होलान्। स्कूलको चउरमा उफ्रिएका पदचाप अझै होलान्।
म दैनिकी पनि लेख्थेँ। पुरानो डायरी पल्टाउँदा थाहा पाएँ, त्यो ३ असार २०५९ को बिहान थियो। सिरानी छेउमा पानीको बोतल राखिएको एम्बुलेन्सको बेडमा पल्टिरहेको उसले बाहिर हेर्दा सायद नजिक म पनि देखिएँ हुँला। उसका पैताला पहेँला थिए।
उसका पिता रामबहादुर धिमाल र केही आफन्त चढेपछि घरबाट केही उत्तर पुगेर पश्चिम धरानका लागि हुँइकियो एम्बुलेन्स। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नै नपाई मेरो एउटा स्कूले साथीको प्राण अन्त्य भइसकेछ।
ऊ मेरै उमेरको थियो। छिमेकी पनि भएकाले उसकी आमा (काकी) हरेक दिन मलाई देख्नुहुन्थ्यो। मलाई हेरेर कैयौं पटक टोलाएको देख्दा मेरो पनि हृदय पग्लिन्थ्यो। अचेल त आफैं टाढा पुगेको छु।
कतै पढेको थिएँ, मान्छे सबैभन्दा बढी डराउने मृत्युसँग हो। मृत्यु कुनै पनि बाधा वा अड्काउले रोकिन्न। तैपनि जीवनका रमाइला पाटा मृत्युसँग डराएर ओझेल पर्दैनन्।
अझ बाल्यकाल सबैलाई प्रिय लाग्छ। बेफिक्री कावा खेलिन्थ्यो। हिमालय चिया बगानमा घाँस काट्न गइन्थ्यो। पानी पर्यो भने भिजेको घाँसको भारी उचाल्न नसक्दा घिसारेर ल्याइन्थ्यो। भैंसी चराउन गएको वेला एउटै घोगो मकै पनि आधाआधा बाँडेर खाइन्थ्यो। यस्ता अनेक सम्झना छन्, राजकुमारसँगका।
मेरा लागि इन्द्र, धनबहादुर, ओमप्रकाश, अनिल र राजकुमार पञ्चतत्त्वमा विलीन भएका त्यस्ता साथी हुन्, जो बाल्यकाल सम्झिँदा सग्लो भएर आइहाल्छन्। उनीहरूले जीवनका धेरै रङहरूसँग खेल्न पाएनन्। छोटो समयमै गए। उनीहरूलाई सम्झिँदा अँध्यारो पहाडमा एक्लाएक्लै छौं जस्तै लाग्छ।
हामीहरू सबैले सँगसँगै चालेका थियौं, पाइला। आकाशमा चरा जस्तै उड्ने हवाईजहाज, स्कूलको आँगनमा फुलाएका फूलको सुगन्ध, तिनमा पालैपालो बस्ने पुतलीका पछाडि दौडिन्थ्यौं। हामी बसेका डेस्क–बेन्च अझै होलान्। स्कूलको चउरमा उफ्रिएका पदचाप अझै होलान्।
हामी मृत्युबारे घरमा कुराकानी गर्दैनौं। नानीहरूलाई त बिल्कुलै भन्दैनौं। यसलाई यति असहज र भयानक स्वरूपमा बुझियो कि कल्पना गर्न समेत गाह्रो हुने भइएछ।
म आफैं पनि झापाका कन्काई र रतुवा घाटहरूमा कम्तीमा दुई सय लाशको मलामी गएको हुँला। मलामी गएर फर्किएको दिन मन भारी हुनु र केही बेरपछिदेखि पुरानै लयमा फर्किनु स्वाभाविक अभ्यास नै भयो।
म आफैं पनि झापाका कन्काई र रतुवा घाटहरूमा कम्तीमा दुई सय लाशको मलामी गएको हुँला। मलामी गएर फर्किएको दिन मन भारी हुनु र केही बेरपछिदेखि पुरानै लयमा फर्किनु स्वाभाविक अभ्यास नै भयो।
चितामाथि राखिएको लाशलाई देख्दा सबै मलामी एकछिन भए पनि दार्शनिक जस्ता लाग्ने। मानौं, उनीहरू गृहस्थीका खातिर कुनै लप्पनछप्पन गर्नेवाला छैनन्। र, घाटबाट पवित्र मन लिएर फर्किनेछन्। तर, त्यस्तो कहाँ हुनु, अर्काे घण्टा नबित्दै उछिनपाछिन र भागदौड शुरू भइहाल्ने।
केही महीनाअघि मात्रै कोरोनाका कारण इटलीमा यति धेरै मान्छेको ज्यान गयो कि ठूल्ठूला झाडी खनेर सामूहिक अन्त्येष्टि गरियो। भारतको मुम्बईमा खरानी पखाल्ने आफन्त पनि थिएनन्, सयौं लाश जलिरहँदा। काठमाडौंको आर्यघाटमा पनि जल्नका लागि पालो पर्खिरहेका थिए, लाशहरूले।
रुने र लाशलाई दिने काँधहरू निकै पर बसेर खबर बुझ्नुपर्ने अवस्था। अत्यन्तै भयानक स्वरूपमा बुझें, बुझाइएको मृत्यु यसरी करीब करीब सहज र सस्तो बन्दै गएको छ। प्रकृतिले उसकै गतिमा हिजोआज कठोर तरिकाले हामीलाई मृत्युचेत बुझिने गरी अर्थ्याइरहेको छ।