तीन जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
पछिल्लो २४ घण्टामा नयाँ कोभिड-१९ संक्रमित थपिएका ५८ जिल्लामध्ये तीन जिल्लामा एक सयभन्दा बढी संक्रमित पुष्टि भएका छन्।
आज काठमाडौं, नुवाकोट र कास्कीमा एक सयभन्दा बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १८१, नुवाकोटमा ११० र कास्कीमा १२७ जनामा संक्रमण देखिएको हो।
त्यसपछि धेरै संक्रमित थपिने जिल्लामा मोरङ, झापा, तनहुँ र सुर्खेत रहेका छन्। मोरङमा ९९, झापामा ६८, तनहुँमा ५४ र सुर्खेतमा ५० जनामा संक्रमण देखिएको छ।
आज ११ जिल्लामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ। जसमा पाँचथर, उदयपुर, सोलुखुम्बु, सप्तरी, रौतहट, सिन्धुली, मुस्ताङ, म्याग्दी, डोल्पा, बझाङ र बैतडी रहेका छन्।
त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या काठमाडौंमा चार हजार २०४, ललितपुरमा दुई हजार ४०७ र भक्तपुरमा एक हजार ८३३ पुगेको छ।
आज देशभर दुई हजार १६ जना संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ। कोरोनाबाट चार हजार ९१४ जना निको भएका छन्।