यूरो कप : आजबाट नक आउट चरणका खेल
यूरोकपमा आजबाट ‘नक आउट’ चरणका खेल हुन लागेका छन्। क्वार्टरफाइनल प्रवेशका लागि १६ टोली भिड्दै छन्।
अहिलेसम्म लिग चरणमा ३६ खेल भएका छन्। जसमा प्रतिस्पर्धा गरेका २४ टीममध्ये १६ टीम अर्को चरणमा पुगेका छन्। अहिलेसम्म ९४ गोल भएका छन्, जसमा सबैभन्दा बढी क्रिस्टियानो रोनाल्डोको नाममा पाँच गोल छन्।
समूह ‘ए’बाट इटाली, वेल्स र स्वीट्जरल्यान्ड, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेन नक आउट चरणमा छन्। त्यस्तै, समूह ‘डी’बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक, समूह ‘ई’बाट स्वीडेन र स्पेन तथा समूह ‘एफ’बाट फ्रान्स, जर्मनी र पोर्चुगल क्वार्टरफाइनलका लागि भिड्दै छन्।
आज नक आउट चरणको पहिलो खेल वेल्स र डेनमार्कबीच हुनेछ। यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजे हुनेछ। अहिलेसम्म वेल्स र डेनमार्कबीच १० खेल भएका छन्। जसमा वेल्सले चार र डेनमार्कले ६ खेल जितेका छन्।
त्यस्तै, आजै राति अर्को दोस्रो खेल इटाली र अस्ट्रियाबीच हुनेछ। यो खेल राति १२ः४५ बजे हुनेछ। अहिलेसम्म दुई देशबीच भएका १३ खेल इटालीले नै जितेको छ।
यसैगरी १३ असार राति ९ः४५ बजे नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्नेछन्। सन् २०१५ यता दुवै टिम पहिलो पटक भिड्न लागेका हुन्। अर्को खेल राति १२ः४५ बजे बेल्जियम र पोर्चुगलबीच हुनेछ। पछिल्ला पाँच खेलमा पोर्चुगलले बेल्जियमलाई पराजित गरेको थियो।
१४ असार राति ९ः४५ बजे क्रोएसिया र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। पछिल्ला दुई प्रतिस्पर्धामा दुवैले एक-एक खेल जितेका छन्। राति १२ः४५ बजे फ्रान्स र स्वीट्जरल्यान्ड भिड्दै छन्। स्वीट्जरल्यान्डसँगका पछिल्ला सात खेल फ्रान्सले जितेको छ।
यस्तै, १५ असार राति ९ः४५ बजे इंग्ल्यान्ड र जर्मनीबीच खेल हुनेछ। यूरोकपमा दुई टीम तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि दुवै टिमले एक-एक खेल जितेका छन्।
राति १२ः४५ बजे नक आउट चरणको अन्तिम खेल स्वीडेन र युक्रेनबीच हुनेछ। यी दुई टिमको यो पाँचौं प्रतिस्पर्धा हुनेछ। यसअघि चार खेलमा युक्रेनले तीन र स्वीडेनले एक खेल जितेका छन्।