भारतका १० राज्यमा भेटियो ‘डेल्टा प्लस’ भेरियन्ट
भारतका १० राज्यमा कोरोनाभाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ। सबै उमेर समूहमा तीव्र संक्रमण हुने यो भेरियन्ट नेपालमा पनि नौ जनामा पुष्टि भएको थियो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म १० राज्यमा ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी)का निर्देशक डा. सुजितकुमार सिंहले अहिलेसम्म ४८ जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार, सबैभन्दा धेरै महाराष्ट्रमा २०, तामिलनाडुमा नौ र मध्यप्रदेशमा सात जनामा पुष्टि भएको छ। अन्य सात जिल्लामा थोरै संख्यामा संक्रमण पुष्टि भएको छ। अन्य राज्यमा पन्जाब, गुजरात, आन्ध्रप्रदेश, उडिसा, राजस्तान, हरियाणा र कर्नाटक रहेका छन्।
भारतमा कोभिड–१९ को दोस्रो लहर आउँदा कोरोनाभाइरसको ‘डबल म्युटेन्ट स्ट्रेन (बी.१. ६१७.२)’ भेटिएको थियो। त्यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टा नाम दिएको थियो।
त्यसमा पनि फेरि ‘म्युटेसन’ भएर ‘के ४१७ एन’ बनेको छ। यसलाई डब्लूएचओले ‘डेल्टा प्लस’ अर्थात् ‘एवाई.१’ भनेको छ। यो सबै उमेर समूहमा तीव्र संक्रमण हुने जनाइएको छ। यो भेरियन्टले खोप र औषधिको प्रभावलाई समेत कम गर्नसक्ने जनाइएको छ।
डब्लूएचओका अनुसार, अहिलेसम्म ‘डेल्टा प्लस’ ११ देशमा १९७ जनामा देखिएको छ। जसमा भारतसँगै अमेरिकामा ८३, बेलायतमा ३६, पोर्चुगलमा २२, स्विट्जरल्यान्डमा १८ र जापानमा १५ जनामा पुष्टि भएको छ।
भारतमा भने ‘डेल्टा प्लस’ भेरियन्टले कोभिड-१९ को तेस्रो लहर ल्याउनसक्ने चेतावनी दिइएको छ। यसलाई फैलिन नदिन भारतको स्वास्थ्य मन्त्रालयले आठ राज्यका १० जिल्लालाई सतर्कता अपनाउन निर्देशन दिएको छ। ती जिल्लामा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र खोप लगाउने दर बढाउन भनिएको छ।